अधिकारी र गुरुङको जोडीलाई व्याडमिन्टनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-४० औं पुष्पलाल स्मृति तथा तेस्रो गण्डकी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि विधान अधिकारी र रविन गुरुङको जोडीले जितेको छ । सोमबार पोखरा रंगशालास्थित व्याडमन्टिन कभर्ड हलमा भएको फाईनल खेलमा अधिकारी र गुरुङको जोडीले विशाल खड्का र विरेन्द्र कुँवरकोजोडीलाई २१–१७, १३–२१ र २१–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जोगाएका हुन् । उपाधिसँगै नगद २० हजार रुपैयाँ पुरस्कार थापे । उपविजेतामा चिक्त बुझाएको टोलीले भने नगद १५ हजार रुपैयाँ पायो ।

४५ वर्ष माथिको उमेर समूहको भेट्रान्स तर्फको प्रतिस्पर्धामा भूमी गुरुङ र राजेन्द्र गुरुङको जोडीले कुमार गुरुङ र बनमाली आचार्यको जोडीलाई २१–१८,२१–१४ को सेटले पराजित गर्दै उपाधि जित्न सफल भए । त्यसैगरी पुष्पला ए अन्तर्गतको प्रतिस्पर्धामा भने प्रेमकुमार गुरुङ र शक्ति गुरुङको जोडीले शुशिल पौडेल र रविन गुरुङको जोडीलाई २२–२०, २१–१८ को सेटले पराजित गर्दै ट्रफी उचाले ।

त्यसैगरी पुष्पलाल बी अन्तर्गतको प्रतिस्पर्धामा भने लक्ष्मण न्यौपाने र अर्जुन गिरीको जोडीले अमृत पोखरेल र केशव नेपालको जोडीमाथि सहज जित निकाल्ने क्रममा पहिलो सेट २१–१४ र दोस्रो सेट २१–१८ अंकको सेटमा हराउँदै प्रथम पुरस्कार आफनो नाममा लेखाए । विजेता टोलीले नगद २० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ पाएका छन् । तेस्रो हुने टोलीलाई समेत नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल राष्ट्रिय वाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की, उद्योग तथा व्यवसायी महासंघको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा प्रदेशका १ सय ८६ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले ट्रफीसहित नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितालाई कास्की जिल्ला व्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट उपाधि जितेका रविन गुरुङ घोषित भए । उदीयमान खेलाडीको पुरस्कार भने विधान अधिकारीले थाप्दा उत्कृष्ठ ड्रेसबाट भने कास्की जिल्ला प्रहरी प्रमुख ओम राना र प्रेमकुमार गुरुङको जोडी सम्मानित भएको थियो । तस्बिर उमेश पुन