पोखरा(खेलाडी न्युज)-दुई वर्षपछिको सहभागिता । मनमा उत्साह । खेलाडीमा उत्साह हुनु स्वभाविकै हो । निरन्तर प्रशिक्षणपछि सहभागि हुने अवसर त्यो खेलाडीले मात्रै पाउँछ, जुन उत्कृष्ठ छ । खेलाडी र खेलकुदको लागि राष्ट्रिय खेलकुद प्रतियोगितामा महाकुम्भ मेला हो । खेलाडीको प्रतिफल देखिने र राष्ट्रले उपलब्ध गराउने पदक जित्ने धोको पुरा गर्ने थलो नै राष्ट्रिय खेलकुद प्रतियोगिता हो ।

लक्ष्य र उद्देश्य एउटै हो । राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नयाँ प्रतिभावान खेलाडीको उदय गराउने । केही खेलाडी भने राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागिता विना खेल जीवन अपुरो ठान्छन् । केहीभने पाएको अवसरलाई पनि हेलच्याक्र्याँइ गरी वेवास्ता गर्छन् । अन्तराष्ट्रिय एरिनामा उभ्याउने भर्याङको रुपमा रहेको राष्ट्रिय प्रतियोगितामा पनि खेलाडीको उत्साहजनक सहभागिता विना खेलकुदको विकास भने पक्कै सम्भव हुदैन् ।

दुईवर्ष पछि फेरी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडी तथा अफिसियलको अनुभव भने केही फरक थियो । धरानस्थित एन्फा कम्प्लेक्समा सातौंको समापन थियो । झण्डा बोक्ने रहर पश्चिमाञ्चलले राख्यो । खेलकुदको शहर पोखराले बोक्न खोज्नु स्वभाविक पनि थियो । तर खेलाडी शहर नेपालगन्ज पुग्यो । तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपालीले आठौं राष्ट्रिय खेलकुद परिषदको झण्डा मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको थमाउँदै दुई वर्षपछि आठौंको सस्करण गर्ने जिम्मेवारी सुम्पिए ।

झण्डा एकाएक खेलकुदको शहरबाट खेलाडीको शहरमा पुग्यो । अब प्रादेशिक संरचना अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने सम्भावना बढ्दै गएको छ । गण्डकी प्रदेश(पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति)ले झण्डा बोक्न आतुर छ । त्यसको लागि फेरी समय कुर्नुपर्ने हो कि भन्ने चिन्ता पनि थपिएकै छ । पुर्वाधार र खेलाडीको लागि आवासिय सुविधाको लागि भने पोखरा भन्दा उपयुक्त ठाँउ अन्य प्रदेश पक्कै पनि देखिदैन् । पुर्वाधारमा अर्बौं रुपैयाँ खर्च हुन्छ । पुर्वाधार पनि आवश्यक छ । त्यसैले पोखरालाई नवौं आयोजनाको जिम्मेवारी दिदैं दशौंको लागि अन्य ठाँउमा पुर्वाधार निर्माणको लागि समय दिदाँ उपयुक्त देखिन्छ । त्यसले तोकिएकै समयमा राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ । परिषदले त्यही निर्णय गर्नु सान्दर्भिक रहन्छ ।

खेलकुदको शहर पोखरा । खेलाडीको शहर नेपालगन्ज । शाब्दिक अर्थले पनि खेलकुद बीचको अन्यान्योश्रित सम्बन्ध देखाउँछ । जहाँ खेलकुद हुन्छ त्यही खेलाडीको उत्पादन हुन्छ । जहाँ खेलाडी हुन्छ त्यही खेलकुदको गतिविधि बढी हुने गर्छ । खेलकुदको शहर पोखराले खेलाडीको शहर नेपालगन्जमा आफनो दरिलो उपस्थिति जनाईरहेको छ । १६ जिल्लाबाट खुम्चिएर ११ जिल्लामा आएर बनेको गण्डकी प्रदेशले ३५वटै खेलमा सहभागिता जनाउँदै खेलाडीको शहर नेपालगन्जको यात्रा तय गर्यो । यात्रा बैशाख ११ गतेपछि मात्रै टुंगिने छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलाडीमा उर्जा, उत्साह र उमंग ल्याउँछ । सिजन गर्मीको छ । खेलाडीलाई गर्मीको अनुभूति मनैदेखि भएको छ । जुन सबैभन्दा कमजोरी पक्ष हो । गर्मीमै खेल्नुपरेको पीडा एकातिर छ । अर्कोतिर लामखुट्टेको टोकाईले समेत आजित बनाईदिदाँ खेलाडी वाक्कदिक्कै बनेका छन् । प्रतियोगिता आयोजना मात्रै उपलब्धी होईन् । त्यसलाई व्यवस्थित रुपमा टुग्याउनु पनि उत्तिकै महत्वपूर्ण दायित्व र जिम्मेवारी पनि हो । खेलकुद प्रतियोगितालाई व्यवस्थित भन्दा पनि झारा टार्ने प्रवृत्ति बढ्दै गएको छ ।

उदघाटन समारोहमा –प्रतियोगिताको उदघाटन भन्दा झण्डै दशदिन अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भईसकेको थियो । दशदिन अघि आयोजनाले अधिकांश खेलका खेलाडी तथा अफिसियलहरु पदक भिरेर गृहजिल्ला फर्किसकेका थिए । त्यसमा पनि अझ निश्चित समावधि भित्र छिर्नुपर्ने प्रावधानले पनि समस्या सृजना गरिदियो । कतिपय खेलाडीको पास नबनिसकेको अवस्थाले पनि समस्या निम्त्यायो । उदघाटन समारोह हेर्ने रहर रहरमै सीमित भयो । खेलाडीलाई स्वतह छिर्न पाउनुपर्ने बातावरण बनाउन जरुरी छ । राष्ट्रको लागि खेल्ने खेलाडीलाई पास विना छिर्न नपाउनु विडम्बना नै हो ।

उदघाटनकै दिन कतिपय खेलका फाईनल सञ्चालन भईरहेको थियो । फाईनल तथा पुरस्कार वितरण गरेर रंगशाला पुग्दा झमक्क साँझ परिसकेको थियो । जसले गर्दा रंगशालाभित्र छिर्ने अवसरबाट बञ्चित हुनु पर्यो । ‘फाईनल खेलले गर्दा उदघाटन समारोहमा छिर्न पाईएन् । खेलाडीको पहिलो प्राथमिकता खेल हो । फाईनल खेल छाडेर जाने कुरा भएन् । समापन पछि जादाँ ढिलो भयो । उदघाटन समारोह हेर्न पाईएन् ।’ महिला हक्कीको फाईनलपछि रंगशाला पुगेर फर्किएका हक्कीका पुर्व राष्ट्रिय खेलाडी हिमाल खड्काले गुनासो गरे । केही खेलका खेलाडीहरु तोकिएकै खेल क्षेत्रमा पुगेका छन् । सीमित खेलाडी र खेलकर्मीको उपस्थिति मात्रै रह्यो ।

गर्मी, मलेरियाको जोखिम-खेलाडीमा भएको जोश जाँगर र उत्साहलाई आयोजकले प्रदान गर्ने सुविधाले प्रोत्साहित गर्छ । फितलो व्यविस्थापनले खेलाडी कमजोर बन्छन् । कमजोर मनोबलबाट पदकको अपेक्षा गर्न सकिदैन् । दुई वर्ष अघि विराटनगरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । अहिले नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत उदघाटन बैशाख ५ गते भयो ।

‘गर्मी सिजनमा गर्मी हुने ठाँउमै खेलकुद प्रतियोगिता आयोजना गर्नु खेलाडीलाई नैशियत दिए जस्तो भो ।’ फूलकन्ट्याक्ट कराँतेका अफिसियल सुवास खड्काले भने–‘गर्मी भन्दा पनि खेलाडीलाई लामखुट्टेको जोखिम बढी भयो ।’ खेल खेल्न आएको खेलाडी मलेरियाको संक्रमण हुन्छ भन्ने चिन्ता र पीर लिदैं प्रतियोगिता टुग्याउन हतारिएका थिए ।
उनको जस्तै गुनासो अर्का मार्शक आर्टका प्रशिक्षक समेत रहेका अफिसियलको रुपमा नेपालगन्ज पुगेका दिपकबहादुर गोदारको थियो । ‘खेलाडी गर्मी र लामाखुट्टेबाट आक्रान्त थिए ।’ उनी भन्छन्–‘जतिसक्दो खेल टुंग्याएर फर्किनै आत्तुरीमा थिए ।’ अधिकांश खेलाडीको गुनासो एउटै थियो । वाफ रे गर्मी ! लामखुट्टेले सुत्नै सकिएन । खेलाडीको पीडा त्यो भन्दा ठूलो हुनै सक्दैन् । गर्मी थेगेपनि लामाखुट्टेको टोकाईबाट बच्न अनिदों बस्नुपर्ने पीडा थियो । अनिदोंले खेलाडीको प्रदर्शन अपेक्षाकृत रहेन् । गर्मीले झुपुझुपु निद्रा लाग्ने समस्याले पनि खेलाडीमा शिथिलता रह्यो ।

अन्यौल- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता रुपन्देही, दाङ, बाँके जिल्लाका विभिन्न ठाँउमा खेलाईएको थियो । रुपन्देहीको भैरहवा र बुटवलमा, दाङको लमही, घोराही र तुलसीपुरमा आयोजना गरिदाँ बाँकेको कोहलपुर, नेपालगन्ज र खजुरामा पथतियोगितास्थल तय गरिएको थियो । प्रतियोगिता छरिएर आयोजना गरिनुले पुर्वाधार र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्यो । तर खेलस्थल पुग्न निकै कठिन थियो । खेलस्थल सहजै पुग्न व्यवस्थित पोष्टरको अभाव थियो । बाहिरी जिल्लाबाट गएका सर्वसाधारणले आफुले चाहेको खेल हेर्ने सम्भावना निकै थियो । खेलस्थल पुग्न समस्याले नजिकै रहेका खेल हेर्नुपर्ने बाध्यता समेत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here