पोखरा(खेलाडी न्युजं)— नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्षका उम्मेदवार कर्मा छिरिङ शेर्पाले निर्वाचित भएपछि आफनो पहिलो काम नै आर्थिक नियमावली बनाउने प्रतिबद्धता गरेका छन् । एन्फाको आर्थिक नियमावली नभएकोले विगतमा विकृति विसंगित र भ्रष्टाचार मौलाएको भन्र्दै उनले संघको विधानमा टेकेर आर्थिक नियमावली बनाई आर्थिक पारदर्शिता तर्फ उन्मुख हुने उदघोष समेत गरे ।

‘पहिला स्वदेश विदेशबाट कति पैसा आयो कसैलाई थाहै भएन् ।’ उनले बुधबार पोखराका सञ्चारकर्मीसँग भने—आर्थिक नियमावली नभएकै कारण पूर्वाधार निर्माणमा समेत लगानी हुन सकेको छैन् ।’ आगामी चैत १४ गते हुने एन्फाको अधिवेशनमा विभिन्न जिल्लाका फुटबल संघले आफुलाई समर्थन गरेको उल्लेख गर्दै उनले निर्वाचित भएपछि फुटबल विकासको लागि सातै प्रदेशमा उमेर समूहको एकेडेमी सञ्चालन गर्ने बताए ।

उमेर समूह अन्तर्गत १२, १४, १६ र १८ वर्षमुनिको उमेर समूह छुट्टाई फुटबलको विकास गर्ने योजना सुनाए । प्याब्सन, एन प्याब्सन र हिसानसँग समेत आवश्यक छलफल समेत गरी टिम तयार पारिने उनको भनाई थियो । उनले फुटबल क्लबहरु गैरसरकारी संस्था(एनजिओ)को रुपमा चलेको बताउँदै आत्मनिर्भर बनाई व्यवसायिकता तर्फ उन्मुख गराउनुपर्ने खाँचो औंल्याए । क्लब आफैंमा व्यवसायिक बन्न सकेको अवस्थामा मात्रै खेलाडीको प्रवद्र्धन हुने उनको विश्वास थियो ।
उनले फुटबलसँगै खेलाडीको व्यस्त बातावरण बनाउन राष्ट्रिय लिग होम एण्ड अवेको पद्धतिमा खेलाईने बताए । उनले कम्तीमा अफ सिजनमा ६ महिना लिग हुने र सिजनको समयमा मोफसलमा आयोजना गरिने नकाउट फुटबल खेल्ने बातावरण बनाउनेमा आफनो जोड रहेको स्पष्ट पारे । फुटबलको मेरुदण्ड लिगलाई होम एण्ड अवेको आधारमा हप्ताको दुई दिन शुक्रबार र शनिबार सञ्चालन गर्ने गरी कार्यतालिका बनाउने बताए ।

उनले आगामी चैत १४ गते नेपाली फुटबलमा परिवर्तनको चाहना राख्ने फुटबल संघको समर्थन आफुलाई रहेको भन्दै झण्डै ५० क्लब तथा संघको समर्थन रहेको प्रष्टयाए । कास्की जिल्ला फुटबल संघले आयोजना गरेको स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट संघ, क्लब तथा अन्य पदाधिकारीको उपस्थिति थियो । उनका अनुसार आफु चुनावी दौडहामा रहेको उल्लेख गर्दै परिवर्तनकारीको उपस्थितिले आफुलाई विश्वासको मत प्राप्त हुने अभिव्यक्ति दिए । उनको प्रश्न थियो फुटबललाई इतिहासमा राख्ने कि परिवर्तन गर्ने ? एन्फामा ७३ मताधिकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here