पोखरा(खेलाडी न्युज)- जापानमा आगामी जुलाईमा हुने ग्रिष्मकालिन ओलम्पिक खेलकुद एक वर्षको लागि सारिएको छ । विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरस(कोभिड-१९)ले १९५ देश पिरोलिएको अवस्थामा विश्व खेलकुदको कुम्भमेला ओलम्पिक एकवर्ष धकेलिएको हो ।

यस अघि नै युरोपमा चल्ने प्रिमियर लिग, बुण्डेसा लिग, ला लिगा, च्याम्पियन्स लिग, इटालियन सिरी ए लगायतका फुटबल प्रतियोगिता स्थगित गरिएको छ । अधिकांश खेल अप्रिलको मध्य र अन्त्यसम्मको लागि स्थगित गरिएको छ । यसैगरी युरोकप समेत एक वर्षको लागि पछि सारिएको छ । भारतमा हुने आईपिएल तथा नेपालमा हुने एभरेष्ट प्रिमियर लिग पनि केही समयको लागि पछाडि सारिएको छ ।

ओलम्पिक २०२० आयोजना गर्ने तय भएपनि एक वर्षको लागि स्थगित भएको हो । मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसी र जापान सरकारले टोकियो ओलम्पिक एक वर्ष सार्न सहमति जनाएका हुन् । यसअघि दुवै आयोजकले तोकिएकै समयमा ओलम्पिक आयोजना गर्ने बताउँदै आए पनि कोरोना भाइरसले महामारी रुप लिँदै गएपछि विश्व खेलकुद जगत नै त्रासदीपूर्ण अवस्थामा छन् । खेलाडीहरु नै कोरोनाको संक्रमित भएका छन् । केही राष्ट्रले खेलाडी नै ओलम्पिक प्रतियोगिता नसारेको अवस्थामा खेलाडी नै नपठाउने अभिव्यक्ति समेत दिएका थिए ।

गत डिसेम्बरमा चीनबाट शुरु भएको कोरोनाले अहिले विश्वका करिब १९५ देशमा फैलिएको छ। करीब १७ हजारले ज्यान गुमाईसकेका छन् । टोकियो ओलम्पिकका लागि खेलाडीहरुले तयारीसमेत स्थगित गर्नुपरेको थियो । टोकियो ओलम्पिकसंगै पारा ओलमपिक पनि एक वर्ष पछि सरेको छ ।

मंगलबार जापानी प्रधानमन्त्री सिन्जो अबेले आईओसी अध्यक्ष थोमस बाकसंग टेलिफोन सम्पर्क गरेपछि दुवै पक्ष ओलम्पिक सार्ने सहमतिमा पुगेको सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री अबेले अब खेलाडीले आफ्नो सुरक्षा र स्वास्थ्यमा ध्यान दिन पाउने र खेलको लागि तयारीको समय पनि मिल्ने बताएका छन् ।

सन् १८९६ मा ग्रिसको एथेन्सबाट शुरु भएको ओलम्पिक प्रत्येक चार चार वर्षको अन्तरमा हुँदै आएको छ । पहिलो पटक ओलम्पिक विजोर वर्षमा हुने भएको छ । यसअघि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्ध भएको थियो । ओलम्पिक स्थगित भएको भने यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here