Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-एकसातापछि लेखनाथको भण्डारढीकस्थित रंगशालामा मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता आयोजनाको तयारी छ । लिग फुटबलमा ११ जिल्लाको टिमलाई सहभागिता गराउने तय भएको छ ।

ग्ण्डकी प्रदेशमा ११ जिल्ला छन् । ११ जिल्ला मध्ये पर्वत, म्याग्दी र मुस्ताङ अखिल नेपाल फुटबल संघ(एन्फा)मा आवद्ध छैनन् । बाग्लुङले भने लामो समयसम्म जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरेको छैन् । आवद्ध नभएका पर्वत , म्याग्दी र मुस्ताङ तथा जिल्ला लिग सञ्चालन गरेको बाग्लुङलाई पनि पोखरामा आयोजना हुने मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा समावेश गरिएको छ ।

आवद्ध नभएको र कार्वाहीमा परेको जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले सहभागिता गराउन एन्फालाई परिपत्र गरेका थिए । परिपत्र अनुसार ती जिल्लालाई मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयको आग्रहलाई स्वीकार्दै एन्फाले मुख्यमन्त्री कप लिग फुटबलमा सहभागिता गराउन आयोजक कमिटिलाई निर्देशन गर्यो ।

अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले एन्फामा आवद्ध नभएका जिल्लालाई मुख्यमन्त्री कपमा सहभागिता गराउने दिने प्रावधान रहेको उल्लेख गरे । ‘आवद्ध नभएपनि मुख्यमन्त्री कप खेल्न दिने नीति छ’ उनले भने–‘तर अन्य एन्फाका प्रतियोगितामा भने सहभागि हुन पाउँदैन् ।’ एन्फामा आवद्ध नभएका जिल्लाले एन्फाको विधि विधान र नीतिलाई पालना गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कप लिगको हदमा मात्रै आवद्ध नभएका जिल्लालाई सहभागिता गराउन सकिने स्पष्ट पारे ।

प्रतियोगिता माघ ५ देखि १३ गतेसम्म पोखराको लेखानथस्थित भण्डाढिक खेल मैदानमा तय गरिएको छ । लिग फुटबल गण्डकी प्रदेश फुटबल संघ र कास्की जिल्ला फुटबल संघले संयोजन गर्ने छन् । एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा गठित गण्डकी प्रदेश लिग सञ्चालन कमिटिले आयोजना गर्ने उनले बताए । ‘लिग सञ्चालन कमिटि बनाईएको छ । त्यसले नै आयोजन ागर्ने छ । प्रदेश र जिल्ला संघले संयोजन गर्ने छन् ।’ उनको भनाई थियो । थापाको संयोजकत्वमा ११ सदस्यीय कमिटि गठन गरिएको छ ।

आवद्ध नभएका जिल्लालाई मुख्यमन्त्री कप लिगमा सहभागिता गराउनु एन्फाको आफनो विधि विधान विपरित भएको फुटबलकर्मी बताउँछन् । ‘आवद्ध जिल्ललाई एन्फाको नीति नियम मान्नुपर्ने र त्यही कार्यविधी अनुसार काम गर्नुपर्ने प्रावधान छ’ एन्फाकै पदाधिकारी भन्छन–‘तर मुख्यमन्त्री कपमा आवद्ध नभएका जिल्लालाई खेलाउँदा भोलि यसले झनै समस्या निम्त्याउने छ ।’

कास्की जिल्ला फुटबल संघका महासचिव एवं गण्डकी प्रदेश फुटबल संघ(तदर्थ समिति)का सचिव रमेश कार्कीका अनुसार केन्द्रीय समितिले स्वीकृति दिएपछि र लिग सञ्चालन कमिटिले निर्णय गरेपछि चार जिल्लाको सहभागिता निश्चित भएको स्पष्ट पारे । ‘जिल्ला र प्रदेश फुटबल संघको भूमिका खासै मुख्यमन्त्री कपमा देखिदैन् । यद्यपी संयोजन भने गर्ने छौं ।’ उनको भनाई थियो ।

लिग सञ्चालन कमिटिले मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको बारेमा केही दिन अघि मात्रै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । प्रतियोगिताको बारेमा कास्की जिल्ला फुटबल संघ र गण्डकी प्रदेश फुटबल संघका केही सीमित पदाधिकारी बाहेक अन्यलाई भने जानकारी नभएको बताउँदै आएका छन् ।

देश संघीय व्यवस्थामा गएपछि एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेशस्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक आयोजना गरिदैं छ । लिग कम नक आउटका आधारमा संचालनमा हुने मुख्यमन्त्री कपमा जिल्ला लिग बिजेता टिम स्याङजाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोर्खाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आर्दश क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबले सहभागीता जनाउने लिग सञ्चालन कमिटिले जनाएको छ । प्रतियोगितामा विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागिहुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले ४० लाख नगद रुपैयाँ सहयोग गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here