Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-अन्तिम ओभरको अन्तिम बल डट खेलेपछि भ्रमणकारी टोली मेरिलिबोन क्रिकेट क्लब(एमसिसि)ले गण्डकी प्रदेश ११ लाई ४ रनले पराजित गरेको छ । दोस्रो दिन मंगलबार मेरिलिबोन क्रिकेट क्लबले दिएको लक्ष्य पछ्याउने क्रममा अन्तिम बल डट खेलेपछि जित नजिक पुगेको गण्डकी प्रदेश ११ अन्तत ४ रनले हार्न पुग्यो । क्रिजमा रहेका विपिन खत्रीले अन्तिम ओभरमाा २१ रनको खाँचो भएको अवस्थामा १६ रन मात्रै जोडे । अन्तिम बल डट भएपछि जित नजिक पुगेर हारको भार बोक्दै ओभर टुग्याउँदा एमसिसीले दुवै खेल जितेर क्लिन स्वीप गर्यो ।
टस जितेर व्याटिङमा उत्रिएको एमसिसिका लागि यासिर अराफातको नटआउट ५६ रनको महत्वपूर्ण योगदानमा गण्डकी प्रदेशलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १५ ओभर टुग्याउँदा ८० ररनमा ६ विकेट गुमाईसकेको एमसिसीले अराफात र इ.डी योङको जोडीले अन्तिम चार ओभरमा झण्डै ६० रन हिर्काएका थिए । अराफातले २८ बल खेल्दै ५६ रन हिर्काउँदा ५ छक्का र ३ चौका स्कोर खातामा चढ्यो ।

विलभेण्डर्स परले २० रनको योगदान गरे । ओलिभर्ड ह्याननड्ल्बीले १७ रन बनाउँदा इ.डी योङले पनि नटआउट १९ रन बनाउँदै अराफातलाई अन्तिम ओभरसम्म साथ दिएका थिए । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित मैत्रीपूर्ण खेलको दोस्रो दिन किशोर महतोले बलिङ तर्फ भने उत्कृष्ठ प्रदर्शन देखाए । उनले ४ ओभरमा १ मेडन राख्दै २३ रन खर्चिएर १ विकेट लिए । एमसिसीले ६ विकेटको क्षतिमा १४२ रन बनाउँदै २० ओभरको आफनो इनिङ्स टुग्ंयाएको थियो । सुवास भण्डारीले पनि ४ ओभरमै २१ रनको खर्चमा १ विकेट हातमा राखे ।

घरेलु मैदानमा प्रदेश ११ ले उत्कृष्ठ प्रदर्शन गर्दै अघिल्लो दिनको हारको बदला लिने लक्ष्यमा अग्रसर देखियो । अनिल गुरुङले ४० रनको योगदानमा जित तर्फ उन्मुख हुदैं गएको छ । गुरुङले ३६ बल खेल्दै सर्वाधिक ८ चौका खातामा लेखाए । त्यसपछि १३ बल खेल्दै २ छक्का र २ चौकाको विष्फोटक व्याटिङ गर्दै विशाल पौडेलले २६ रन बनाउँदै आउट हुन पुगे ।
गोविन्द प्रधानले पनि सम्मानजनक स्कोरमा रहेर आउट भए । उनले २४ रन बनाउन १६ बल खर्चिए । उनको खातामा पनि २ छक्का र १ चौका लेखिन पुग्यो । अन्तिम ओभरमा टिकिरहेका विपिन खत्रीले १३ बल खेले । अन्तिम बल जितको लागि ५ रनको खाँचो थियो, तर डट खेलेपछि जितको संघारबाट पछि हट्यो । अन्तत गण्डीक प्रदेशको टोली ७ विकेटको क्षतिमा १३८ रनमा समेटिदैं पोखराको मैदानमा हार टार्न असमर्थ बन्यो ।

अराफात म्यान अफ दि म्याचको हकदार बने । कास्की जिल्ला क्रिकेट संघको समन्वय र व्यवस्थापनमा आयोजित दुई दिने भ्रमणमा रहेको बेलायती टोलीलाई मंगलबार गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक कोईराला, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले ट्रफी तथा मायाको चिनो प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here