एशियाड पदक विजेतालाई गृहनगरमा भव्य स्वागत, नगदसहित सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-तीन दिनअघि मात्रै स्वदेश झरेको एशियाडमा पदक विजेता प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा भव्य स्वागत गरियो । विहान साढे ११ बजे पोखरा विमानस्थलमा अवतरण भएका पदक विजेता खेलाडीलाई बजार परिक्रमासहित नागरिक अभिनन्दन गराई पोखरा रंगशालाको कभर्ड हलमा सम्मान गरिएको थियो ।

samman

इण्डोनेसियामा आयोजित १८ औ एशियाली खेलकुद प्रतियोगितामा नेपालले २० वर्षपछि ऐतिहासिक रजत पदक जितेको थियो । पहिलोपटक सहभागिता गराइएको खेल प्याराग्लाइडिङबाट ऐतिहासिक पदक जित्ने पोखरेली पाईलटलाई घरेलु शहरमा अस्विमरणीयरुपमा स्वागत गरिएको थियो । स्वागतमा खेलकुदकर्मीसँगै प्याराग्लाइडिङ पाईलट खेलकुद क्लब, पर्यटन व्यवसायी, विभिन्न संघका खेलाडी तथा पदाधिकारीहरुको उपस्थिति थियो । एशियाडमा क्रसकन्ट्री पुरुष टिम इभेण्टमा सहभागी विमल अधिकारी, युकेश गुरुङ, विशाल थापा, शुशिल गुरुङ र विजय गौतमले रजत पदक जितेका हुन् ।

पोखरा रंगशालामा एक दर्जन संघसंस्थाले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले दोसल्ला ओढाई सम्मान गरेपछि भुपु खेलाडी मन्च नेपालले प्याराईडिङ टिमलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्यो । मन्चका अध्यक्ष तेजबहादुर गुरुङले नगदसहित सम्मान व्यक्त गरेका थिए । उनी लगत्तै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य राजेश गुरुङले पदक विजेता खेलाडीलाई जनही १०–१० हजार रुपैयाँ नगद हस्तान्तरण गरे । पुरुष टिमसँगै प्याराग्लाईडिङ महिला टोलीलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबावु सुनुवार र व्यवस्थापक शैलेन्द्र रावतलाई समेत सम्मान गरिएको थियो । महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ,प्रतिभा भुजेल र सविता तामाङ थिए ।

nagar parikrama

त्यसपछि पाईलट क्लब, नेपाल हवाई खेलकुद संस्था(ना), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, व्याडमिन्टन संघ, नाटा क्षेत्रीय च्याप्टर, खेलकुद पत्रकार मन्च गण्डकी लगायतले सम्मान गरेका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दोसल्ला ओढाएर सम्मान गरेपछि अन्य संघको पालो आएको थियो ।

सम्मानपछि बोल्दै मन्त्री विश्वकर्माले प्याराग्लाइडिङ खेलको लागि आवश्यक पुर्वाधार बनाउने तर्फ सरकारको ध्यानाकर्षण भएको उल्लेख गरे । उनले पदकको आशा र सम्भावना भएको खेललाई राज्यले लगानी गर्ने भन्दै इतिहास लेखिएको अवस्थामा प्याराग्लाईडिङ खेल विधामा समावेश गर्नुपर्नेमा जोड दिए ।

‘प्याराग्लाईडिङलाई एडभेन्चर स्पोर्टसको रुपमा मात्रै हेरेका थियौैं ।’ मन्त्री विकले भने–‘अब खेल विधामै राखेर विकास गर्नुपर्छ ।’ मन्त्री विकले खेल क्षेत्रको विकासमा सरकार दृढ संकल्प रहेको स्पष्ट पार्दै खेलाडी र खेलकुदको विकासमा न्यूनतम बातावरण र सेवा सुविधामा केन्द्रीत हुने बताए । ‘लगानी गरे प्रतिफल पाईन्छ भन्ने प्याराग्लाइडिङले आज देखाएको छ ।’ उनले भने । प्याराग्लाईडिङमा सरकारी लगानी भने छैन् ।

Pokhara airportma swagat ko tayari

सम्मान समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले भने–‘प्याराग्लाईडिङ खेलाडीप्रति स्यालुट गुर्छ ।’ पोखरालाई चिनाउने फेवाताल मात्रै भएको उल्लेख गर्दै उनले अहिले प्याराग्लाईडिङको नामले नेपाल विश्वमाझ चिनिएको बताए । सदस्य सचिव विष्टले आगामी नोभेम्बरमा पोखरामा प्याराग्लाईडिङको च्याम्पियनसिप गर्न सरकारले सहयोग गर्ने सुनाए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले प्याराग्लाइडिङ खेलले पदक जित्दै नेपालको गरिमालाई उचो बनाई भन्दै पुर्वाधार निर्माणमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । उनले पटक पटक टेण्डर आह्वान गर्दै निर्माण प्रक्रिया अगाडि नबढाउँदा फुटबल स्टेडियम निर्माणमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा, नेपाल हवाई खेलकुद संस्था(ना)ले पदक विजेता खेलाडीलाई संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गरेका थिए । नागरिक अभिनन्दन एवं सम्मान समारोहमा सयौंको संख्यामा पोखरेली उपस्थित भएका थिए । सम्मान कार्यक्रमको अध्यक्षता क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।

तस्बिरहरु सुदर्शन रन्जित .