Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशाला यतिबेला एकसाताको लागि पूर्णरुपमा बन्द छ । कुनैपनि खेलगतिविधिसँगै सर्वसाधारण प्रवेशमा रोक लगाइएको छ । कोरोना भाईरस(कोभिड–१९)को विश्वव्यापी महामारी छ । त्यसको जोखिम बढ्दै गएको अवस्थामा पूर्व तयारीसँगै सचेत बन्नुपर्ने अवस्था छ ।

कोरोना संक्रमणका विरामीलाई उपचारको लागि पोखरामा विभिन्न अस्पतालमा उपचार कक्ष(आईसोलेसन कक्ष) बनाएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीले पनि पोखरा रंगशालाभित्रको भौतिक पूर्वाधारलाई आवश्यक परेको अवस्थामा अस्थायी अस्पतालको रुपमा उपचारको लागि प्रयोग गर्न सकिने जनाएको छ । ‘मानवीय सम्वेदनालाई मध्यनजर गर्दै आवश्यक परेको अवस्थामा रंगशालाका पूर्वाधारलाई विरामी उपचारको लागि आईसोलन कक्ष बनाउन सक्छौं ।’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने–‘खेलकुद गतिविधि बन्द भएको अवस्थामा विरामीको सहज उपचारको लागि हलहरु उपयोग गर्न सकिन्छ ।’

पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन हल र पुरानो व्याडमिन्टन हललाई आईसोलेन कक्ष बनाउन सकिने उनको भनाई थियो । रंगशाला मुल प्रवेशद्वार अगाडि नै पोखरा हस्पिटल छ । विरामीको उपचारको लागि अझ सहज हुने विश्वास छ । यद्यपी यस विषयमा ठोस समन्वय भने भएको छैन् । ‘आईसोलेसन कक्षको लागि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरिराखेका छौं’ बोर्ड सदस्यले भने–‘आवश्यक परेको अवस्थामा तत्कालै निर्णय गरेर विरामी उपचारको लागि प्रयोग गर्छौ ।’ रंगशालाभित्रको हलहरुमा झण्डै एक सय शैया बनाउन सकिन्छ । बहुउद्देश्यीय कभर्ड हललाई विरामी उपचारसँगै आवश्यक स्वास्थ्यकर्मीलाई समेत राख्न सकिने व्यवस्था छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार नागरिकको स्वास्थ्य उपचार पहिलो प्राथमिकता भएको उल्लेख गर्दै रंगशालाका पूर्वाधार अस्थायी आईसोलेसन कक्ष बनाउन सकिने स्पष्ट पारे । ‘खुल्ला ठाँउ पनि छ । हलहरुलाई आईसोलेसन कक्ष बनाउन विरामीको उपचार गर्न सकिन्छ । त्यस तर्फ सम्बन्धीत निकायले चासो दिएमा हामी समन्वय गर्छौ ।’ उनको भनाई थियो ।

खास गरी जिल्ला खेलकुद विकास समितिले पोखरा रंगशाला भित्रै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसँगै छुट्टै मेडिकल सेन्टर स्थापना गर्ने लक्ष्य राखेको छ । ‘खेलाडीलाई तत्काल उपचारको लागि स्वास्थ्य केन्द्र(मेडिकल सेन्टर) स्थापना गर्न योजना छ ।’ बोर्ड सदस्य गुरुङले भने–‘उपचारको लागि खेलाडीलाई तत्कालै बाहिर लाने सम्भावना हुदैन् । त्यसैले रंगशालाभित्रै प्राथमिक उपचार गर्ने उद्देश्य राखिएको छ ।’

रंगशालाभित्रै मेडिकल सेन्टर स्थापनासँगै अहिलेको जटिल परिस्थितिसँग जुध्न तत्कालै विरामीको उपचारको लागि आईसोलेसन कक्ष बनाउन तत्पर रहेको बोर्ड सदस्य गुरुङको भनाई थियो । महामारीको सम्भावनालाई मध्यनजर गर्दै सबै तह र तप्कासँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाई थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा १५–१५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल)मा १० र तनहँुँको जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा ३० गरि एकसय शैया तयार पारिएको छ । फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here