Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-प्रतियोगितामा हारको श्रृखंला दोहोरिदै गएपछि कास्की जिल्ला क्रिकेट संघलाई नयाँ खेलाडीको खोजी गर्ने बेला आएको छ । पूर्वदेखि पश्चिमसम्म आयोजना हुने विभिन्न प्रतियोगितामा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद तथा बर्तमान गण्डकी प्रदेश टोलीको खराब नतिजा दोहोरिरहँदा नयाँ खेलाडीको खोजी गर्नुपर्ने खाँचो छ । पुरानै अनुहार लिएर प्रतियोगितामा होमिदाँ नतिजा भने हारले निरन्तरता पाईरहेको छ ।

पोखरा रंगशालामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान छ । मैदान भएपनि खेलाडी भने छैनन् । पुरानै खेलाडीकै भरमा जिल्ला र प्रदेशको इज्जत जोगाउनुपर्ने बाध्यता छ । नियमित प्रतियोगिता हुनै सकेको छैन् । स्थानीय क्लबस्तरीय प्रतिस्पर्धा कम छ । क्लब पनि थोरै छन् । म्याच प्राक्टिस कम छ । प्राक्टिस केवल नेटमा मात्रै भएको छ । नियमित स्थानीय क्लबस्तरीय प्रतियोगिता आयोजना गर्न नसक्दा सफलताको नजिता चुम्न कठिनाई छ ।

‘प्राक्टिस छैन् । गेम भन्दा एकसाता अघि मात्रै तात्ने प्रवृत्ति छ । नयाँ खेलाडी छैनन् । पुरानै अनुहारलाई प्रतियोगितामा दोहोरिरहन्छन् ।’ गण्डकी प्रदेश क्रिकेट टिमका पुर्व कप्तान विधान श्रेष्ठ भन्छन–‘क्लब लेभलको गेम नै कम छ । कोचिङ लेभल कम छ । खेलाडीहरु सबै एकसाथ प्राक्टिस पनि गर्दैनन् । त्यसले नतिजा सकारात्मक आउन नसकेको हो ।’ नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा भएको क्रिकेटमा गण्डकी प्रदेशले कुनैपनि खेल जित्न सकेन् । धनगढीमा आयोजित मुख्यमन्त्री कप क्रिकेटमा फाईनलसम्मको यात्रा तय गरेको थियो । तर केही दिन अघिमात्रै इनरुवामा आयोजित मनमोहन स्मृति एकदिवसीय क्रिकेटमा दुवै खेलमा लज्जास्पद हारसँगै टोली पोखरा फर्कियो ।

पुर्व कप्तान श्रेष्ठका अनुसार खेलाडीमा आत्मविश्वास पनि कमि छ । नयाँ खेलाडी नहुदाँ पुरानैले जसरी पनि टिममा परिन्छ भन्ने मानसिकता छ । त्यो मानसिकताले खेलाडीको प्रदर्शन भने कमजोर बन्दै गएको छ । ‘नेट प्राक्टिससँगै फिल्ड प्राक्टिस गर्नुपर्छ । तर हामीमा त्यो अत्यन्तै कम छ ।’ उनले थपे–‘टेनिस बल क्रिकेट प्रतियोगिताले समस्या झनै थपेको छ ।’ ड्युज बल भन्दा टेनिस बलका प्रतियोगिता बढी हुनुले पनि कास्कीको क्रिकेट माथि उठन नसकेको उनको ठम्याई छ ।

कास्की जिल्ला क्रिकेट संघले पनि क्लबस्तरीय प्रतियोगिता धेरै दिन नसकिएको स्वीकारेको छ । ‘क्लब कम छन् । लोकल गेम धेरै दिन सकिएको छैन् ।’ संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘म्याच प्राक्टिस छैन् । नेट प्राक्टिस छ । नयाँ प्रतिभा छैनन् । पुरानैलाई समेटेर टिम बनाउनुपर्ने बाध्यता यथावत छ ।’ पुराना खेलाडी फेज आउट हुनै सकेनन् । निश्चित समयपछि फेज आउट हुनुपर्छ । उनका अनुसार नयाँ खेलाडी नहुदाँ रेगुलर खेल्नेसँग मात्रै विश्वास गर्नुपर्ने परिस्थिति छ ।

गण्डकी प्रदेशका ११ जिल्ला क्रिकेट कल्चर भएका जिल्ला होईनन् । क्रिकेटको कल्चर नहुदाँ नयाँ खेलाडी आउन कठिनाई भएको उनको ठहर छ । ‘क्रिकेटमै करियर बनाउछु भन्ने नयाँ खेलाडी नै छैनन् । क्रिकेटको कल्चर भएको भए यो अवस्था आउने थिएन्’ उनले भने–‘क्रिकेट केवल मनोरन्जनको लागि खेल्नेहरु बढे । करियर बनाउछु भन्नेहरु छैनन् । जसले गर्दा क्रिकेट उकासिन सकेन् ।’

क्रिकेट स्कुलस्तरबाटै विकास गर्नुपर्ने संघको जोड छ । विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिन्छ । निजी विद्यालयका छाता संगठन प्याब्सन तथा एन प्याब्सन, हिसान तथा संस्थाले स्पोर्टस मिट आयोजन ागर्ने गरेपनि क्रिकेटलाई प्राथमिकतामा नराख्दा क्रिकेटको विकास हुन नसकेको बताउँछन् । म्याच एक्पोज छ । केही महिना अघि मात्रै बेलायतको मेरिलिबोन क्रिकेट क्लब पोखरा आईपुग्यो । स्थानीय खेलाडीले खेले । एमसिसीसँग सम्झौता गरेर कोचिङ शुरु गर्ने योजना समेत संघले बनाएको छ । राष्ट्रिय खेलकुद परिषदबाट क्रिकेट प्रशिक्षक समेत माग गरिएको छ । प्रशिक्षक विहीन अवस्थाले पनि क्रिकेटको माहौल सृजना हुन नसकेको ठम्याई संघको छ । file pic

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here