खेलकुदमा असारे बजेट, १४ योजनाको लागि सवा करोड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १६ गते २०७७ मा प्रकाशित


पोखरा रंगशाला

पोखरा(खेलाडी न्युज)-असार सकिन केवल १४ दिन मात्रै बाँकी छ । आर्थिक वर्ष टुंगिनै लाग्दा कास्कीको विभिन्न खेलकुद योजनाको लागि बजेट निकासा भएको छ । राष्ट्रिय खेलकुद परिषदले कास्कीमा विभिन्न १४ वटा योजनाको लागि बजेट छुट्टाइएको छ । परिषदको पत्र अनुसार स्थानीय निकाय खेल मैदान निर्माण अन्तर्गत आर्थिक वर्षभित्रमा सक्ने गरी काम टुग्याउन गर्नुपर्ने भन्दै सम्झौताको लागि निर्देशन समेत गरेको छ । केही सरोकारवाला भने सम्झौताको लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयको सम्पर्कमा आईसकेका छन् ।

१६ दिनमा १४ योजना सक्ने गरी राष्ट्रिय खेलकुद परिषदले १ करोड १३ लाख रुपैयाँको योजना पठाएको छ । यो असारे विकास बजेट दुईसाताभित्रैमा सक्नुपर्ने छ । पत्र झण्डै एकसाता मात्रै आएपनि सम्बन्धित योजनाका सरोकारवालासँग भने सम्झौता गर्न बाँकी रहेको छ । बजेट जिल्ला खेलकुद विकास समिति कास्कीको खातामा आईपुगेको छ भने अनुगमनको जिम्मेवारी परिषदले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई तोकेको छ । ‘कार्यक्रम सम्पन्न भए नभएको अनुगमन मात्रै गर्ने हो । समन्वयकारी भूमिका खेल्ने हो ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘सम्झौता गरेर काम अघि बढाउन समय नै कम छ ।’

कास्कीको अन्नपूर्ण गाँउपालिका–११ छोमरोङ खेल मैदानको लागि परिषदले १५ लाख रुपैयाँ छुट्टाएको छ । अन्नपूर्ण गाउँपालिकाकै–१ सृजना मावि खेलमैदानको लागि ८ लाख, पोखरा महानगरपालिका –१४ स्थित सामुदायिक व्यायामशाला निर्माणको लागि ८ लाख, पोखरा–३१ बेगनास खेलमैदान, पोखरा १६ बाटुलेचौर खेल मैदान, पोखरा ३३ शिशु कल्याण माविको खेल मैदान, पोखरा २१ स्थित खेल मैदान, पोखरा–१३ रतन पाण्डे माविको खेल मैदानलाई समान ८ लाख रुपैयाँ उपलब्ध गराइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

त्यसैगरी पोखरा–२४ कास्कीकोट राउसेबजार खेल मैदानलाई र पोखरा–१८ सराङकोट भकुण्डेस्थित शान्त माविको खेल मैदानलाई समान ५ लाख रुपैयाँ छुट्टाइएको छ । पोखरा–२२ उल्लेरी खेल मैदान, पोखरा–१८ सेदी खेलमैदान, माछापुच्छ«े २ गैराखी खेल मैदान र पोखरा–१९ काउरे खेल मैदानको लागि समान ८ लाख रुपैयाँको दरले बजेट उपलब्ध गराइएको छ । ‘नवौको लागि केही अत्यावश्यक पूर्वाधार बनाउन जरुरी छ । त्यस तर्फ ध्यान गएको छैन् ।’ खेलकुदकर्मी नै सुनाउँछन्–‘तर असारे बजेटको नाममा काम देखाउने परिपाटी मात्रै बसेको छ ।’

परिषदले आर्थिक वर्षकै लागि पोखरामा निर्माण गर्न सुटिङ रेन्जको पूर्वाधार निर्माण गर्न ५० लाख रुपैयाँ छुट्टाएको थियो । तर छुट्टाइएको त्यो बजेटबाट काम भने अगाडि बढन सकेन् । स्वीमिङ पुल र सुटिङ रेन्जको लागि टेण्डर आह्वान हुनै सकेन् । आर्थिक वर्ष २०७७÷७८ का लागि फेरी सुटिङ रेन्जको लागि परिषदले ५० लाख रुपैयाँ छुट्टाएइको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाधारको लागि परिषदले ४ करोड ६५ लाख रुपैयाँ छुट्टाइको छ । जुन बजेटमा सुटिङको ५० लाख रुपैयाँ समेत समावेश गरिएको छ ।