गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट, खेलकुदलाई ८ करोड ३५ लाख, नवौंलाई १ करोड ५० लाख

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे । प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो । लेखनाथस्थित भण्डारढीक बहुउद्देश्यीय कभर्ड हल लगायतका अन्य खेलकुदका पूर्वाधारको बजेट निकासा गर्न अमसर्थ हुदाँ फिर्ता भएको थियो ।

प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला निर्माण पहिलो एजेण्डा हो । गण्डकी प्रदेश सरकारको पहिलो आर्थिक वर्षको बजेटबाटै यो एजेण्डालाई समेटिएको छ । यद्यपी ठोस निर्णयसहितको बजेट निकासा भने हुनै सकेको छैन । बहुउद्देश्यीय रंगशाला कुन ठाँउमा बनाउने भन्ने बारेमा अझै प्रदेश सरकारले निक्र्यौल गर्न सकेको छैन् ।

क्रिकेट रंगशाला प्रदेश सरकारको अर्को चाहना हो । पोखरा–३३ पशुपतिघाटस्थित झण्डै ४ सय रोपनी क्षेत्रफलमा क्रिकेट रंगशाला बनाउने तय गरिएको छ । तय गरिएको ठाँउमा यसैआर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन बनाउन नसक्दा बजेट फिर्ता हुन पुगेको थियो ।
गल्फकोर्ष अर्को महत्वपूर्ण एजेण्डा हो ।

गल्फ कोर्ष कुन ठाँउमा बनाउने भन्ने यकिन प्रदेश सरकारले गरेको छैन् । यद्यपी कास्की जिल्ला गल्फ संघले पोखरा–१ सिम्पानीस्थित सेती नदीको दायाँबायाँ किनारको सिचाईको जग्गालाई गल्फ कोर्ष बनाउन उपयुक्त हुने ठहर गर्दै आएका छ । सिचाईको जग्गासहित केही व्यक्तिगत जग्गा समेत पर्ने भएकोले त्यसको उचित मुअब्जा वितरण गरी गल्फ कोर्ष बनाउन उपयुक्त हुने संघको ठहरलाई प्रदेश सरकारले ठोस निर्णय लिन भने अझै सकेको छैन् ।

स्की खेलको लागि मुस्ताङको बारागुङ क्षेत्र उपयुक्त छ । विगत दुईवर्ष यता राष्ट्रियस्तरको स्की प्रतियोगिता समेत आयोजना गरिसकिएको छ । त्यसलाई अझै व्यवस्थित बनाउन सकिए स्की खेल मार्फत पर्यटन प्रवद्र्धन हुने अपेक्षा प्रदेश सरकारको छ । उच्च उचाई खेलकुद तालिम केन्द्र बनाउने अभियानलाई प्रदेश सरकारले दोहोर्याएको छ । जिल्लास्तरीय रंगशाला, एक स्थानीय तह एक खेलकुद मैदान निर्माणको अभियानलाई सार्थकता दिने उद्देश्य र लक्ष्य राखेको छ ।

आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ छुट्टाएको गरेको घोषणा गण्डकी प्रदेश आर्थिम मामिला तथा योजना मन्त्री किरण गुरुङले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रदेश सरकारसँग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २ करोड ८८ लाख रुपैयाँ माग गरेको थियो । गण्डकी प्रदेश सरकारले छुट्टाएको उक्त १ करोड ५० लाख रुपैयाँ प्रदेशका खेलाडीहरुको आवश्यक व्यवस्था र प्रशिक्षणको लागि खर्च गर्ने योजना रहेको छ ।