धन बस्नेत(खेलाडी न्युज)-कालो कोट लगाउँदै विदाईको हात हल्लाउने सपना छ । तर अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट सन्यास लिईसकेको अवस्थामा अब त्यो पुरा हुने सम्भावना क्षीण भयो । भव्य, सभ्य र सुखद अन्त्य गर्ने सपना बुनिरहेका उनले सम्बन्धीत निकायले चासो नदिदाँ उनले आफनो सामाजिक सञ्जाल मार्फत सन्यासका शब्द खर्चिए । एक दशकमा एउटा खेलाडीले कमाएको प्रतिष्ठा अन्तत निरासमा बदलिएपछि खेलेरै समय विताउनु केवल ‘ठक्कर’ मात्रै खानु रहेछ ।

‘दश वर्ष देशको लागि खेंले । पसिना बगाँए । तर सन्यास लिने बेलामा के पाए । अन्तराष्ट्रिय प्रतियोगिता खेले । तर अहिले खेलेर के पाँए । आफैंले मनमा प्रश्न गर्छन-बरु त्यो दश वर्ष खाडी मुलुक गएको भए सायद मेरो भविष्य बन्थ्यो होला भन्ने सोच आउँछ ।’ सायद खेलेरै आफनो भविष्य कोर्न नसकिने निष्कर्ष खेलाडीले गर्दै आएका छन् । खेलेर बाँच्न सकिने अवस्था छैन् । त्यसमा पनि अन्तराष्ट्रिय प्रतियोगिताबाट सुखद विदाईको अन्त्य हुने चाहनामा कालो बादल मडारिएपछि सहकर्मीको मनमा कस्तो चोट पुग्ला । सायद त्यो बुझ्न कठिनाई हुदैन् ।
एउटा खेलाडीको सपना पदक जित्ने । अन्तराष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक भिर्ने सपना सबै खेलाडीले साँचेका हुन्छन् । त्यसमा पनि अझ घरेलु मैदानमै स्वर्ण जितेर गर्विलो अनुभूतिको महशुस गर्न पाउनु सबैको चाहना हो । तर त्यो चाहना पुरा गर्नबाट विशाल बस्नेत चुके । आफनै कप्तानीमा ह्याण्डबलमा पदक जित्ने धोको सधैको लागि अधुरो रह्यो । र अन्त्यमा सन्यासको बाटो रोजे । तर सन्यास लिदाँ उनलाई लाग्थ्यो सुखद विदाई हुने छ भनेर । तर भ्रममा रहेछन् उनी । कसैले वास्ता गरेन् । नत ह्याण्डबल संघ नत त राष्ट्रिय खेलकुद परिषदले नै ।
अब नेपालको जर्सीमा देब्रे हाते राईड व्याक ह्याण्डबल खेलाडी बस्नेतलाई देख्न पाईने छैन् । सम्मानपुर्वक विदाईको सपना साँच्दा साँच्दै समय वितेको पत्तै भएन् । कप्तानको भूमिकाबाटै सन्यास लिएको अवस्थामा पनि कालो कोट लगाउने धोको भने पुरा हुन सकेन् । कहिले काँही उनले आफैंलाई धिर्काछन्–बेकार ह्याण्डबल खेलिएछ, खाडी गएको भए दुईचार पैसा कमाईन्थ्यो ।’


…………………………………
भर्खरै जुगाँको रेखी बस्दै थियो । लक्का जवान । फूर्तिलो पनि । हाईट पनि उस्तै । ह्याण्डबल भन्ने खासै दिमागमा थिएन् । फुटबलमा गोलकिपिङ गर्थे । दशजोड दुई अध्ययन गर्दै थिए । स्थानीय पोखरा–१६ स्थित हिमालय क्लबबाट फुटबल खेल्थ्यौं । फुटबलमा गोलकिपिङ गर्थे बस्नेत आफनो विगत सम्झन्छन–‘गोल किपिङको भूमिकामा रहदाँ ह्याण्डबलमा ध्यान थिएन् ।
ह्याण्डबलमा ल्याउने श्रेय भने कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र थापालाई जान्छ । उनी पनि बाटुलेचौरकै हुन् । उनै थापाले बस्नेतलाई ह्याण्डबल तर्फ प्रेरित गरे । उनको सम्झना छ २०६३ सालमा हो ह्याण्डबल खेल्न शुरु गरेको । स्थानीय हिमालय क्लबबाटै पोखरामै आयोजना हुने डाँफे ह्याण्डबल प्रतियोगिताबाट उनको ह्याण्डबलप्रति रस पसेको । पहिलो वर्ष ह्याण्डबलको नियम केही थाहा थिएन् । आन्धधुन्धमै खेलियो ।
एक वर्षपछि क्लब डाँफे ह्याण्डबल च्याम्पियन बन्यो । उनको पाईला त्यसपछि ह्याण्डबलमा अगाडि बढ्यो । २०६५ मा उनले काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रीय टिमबाट डेब्यु गरे । त्यसपछि २०६६ मा उनले ह्याण्डबलको अन्तराष्ट्रिय एरिनामा डेब्यु जनाए । बंगलादेशमा आयोजित ११ औं सागमा उनले डेब्यु गर्दै अन्तराष्ट्रिय करियर शुरु गरेका थिए ।
बंगलादेशको ढाकामा आयोजित ११ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा चौथो हुदैं फर्किएको थियो । २०११ म बंगलादेशमै आयोजित आईएचएफ ट्रफीमा छैटौं स्थानमा रहदैं अनुभव सँगाल्ने अवसरको रुपमा लिए । श्रीलंकामा आयोजित प्रथम साउथ एशियन विच गेम्समा पनि छैटौं स्थानमा रहेर फर्किएका थिए ।
पाकिस्तानको फैसलावादमा आयोजित अन्तराष्ट्रिय मैत्रीपूर्ण ह्याण्डबल प्रतियोगितामा सन २०१२ मा तेस्रो स्थानमा रहँदै अन्तराष्ट्रिय पदक थापे । त्यस्तै भारतको पश्चिम बंगालमा समेत भएको प्रतिस्पर्धामा पनि नेपाली ह्याण्डबल टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो ।
…………………………
सफलता आफैं प्राप्त भने हुदैन् । कडा मेहनत उत्तिकै लगनशिलता र धैर्यता पनि चाहिन्छ । पोखरा–१६ बाटुलेचौरबाट पोखरा रंगशालासम्म आईपुग्न झण्डै ९ किलोमिटरको दुरी पुरा गर्नुपर्छ । ह्याण्डबलप्रति बसेको रसले उनलाई त्यो दुरी कमै लाग्थ्यो । राष्ट्रिय खेलाडीबाट स्तरोन्नति हुदै अन्तराष्ट्रियमा फड्को मारेपछि खेलाडीको मेहनत त्यसैबाट झल्किन्थ्यो । दुई पाङग्रे सवारी लिएर दैनिक रुपमा आवात जावत गर्नुको पीडा पनि थियो । त्यतिमात्रै नभई नियमित रुपमा टे«निङ गर्नुपर्ने अवस्थाले निकै खर्चिलो थियो ।
परिवारको कान्छो छोरो, खेल्नबाट खासै कसैले पनि अवरोध भने गरेनन् । यद्यपी आवात जावतसँगै खाजा खानको लागि समेत पैसा नहुदाँ छटपटाहट हुन्थ्यो । खाजा खानुपर्ने र मोटरसाईकलमा पेट्रोल भर्ने पैसा नहुदाँको पीडालाई थाँती राखेर टे«निङमा जानुपर्ने बाध्यताले कहिले काँही खेल्नै छाडिदिउँको जस्तो पनि हुन्थ्यो । तर भर्खर करियर कोरिन लागेको अवस्थामा उनले ल्वात्तै छोड्न भने सकेनन् ।
…………………………………………..
प्रशिक्षण धुलो मैदानमा । अन्तराष्ट्रिय प्रतिस्पर्धा म्याटमा हुन्थ्यो । त्यसले पनि नेपालको ह्याण्डबलको उपलब्धी कमजोर रहने उनको ठम्याई थियो । बंगलादेश खेल्न जाँदा त्यस्तै अनौठो संयोग पर्यो । पहिलो पटक अन्तराष्ट्रिय प्रतिस्पर्धा खेल्न दुई दिन अघि मात्रै बंगलादेश पुगेको थियो । ‘म्याट राखिएको थियो । हातमा गम लगाएर खेल्नुपर्ने रहेछ । हामीलाई थाहै भएन् । नेपाली टिमले पहिलो पटक गम लगाएर खेलियो । तर गमले केही मेसो नपाउँदा पहिलो खेल भारतसित नराम्ररी हारियो ।’ अनुभवन सुनाउँछन्–‘त्यसपछि विस्तारै बानी परियो, अफगानिस्तानलाई पराजित गर्यौं ।’
अन्तराष्ट्रिय किस्सासँगै नेपालमा पनि उनको अविस्मरणीय घटना छ । ‘पोखरामै आयोजना भएको लुम्बिनी च्याम्पियनसिपमा लिड गरेको अवस्थामा फष्ट गोलकिपरको औंला भाँचियो । लिडिङ गेममा पछाडि प्रयौ । शसस्त्र प्रहरी बलसितको फाईनल गेम थियो । दोस्रो रोजाईको गोलकिपर आउँदा भकाभक गोल खाईयो । त्यसपछि जोखिम उठाएर म आफैं गोलकिपर बसे । तीन चार वटा प्रहार बचाउ गर्दै अन्तत उपाधि जित्यौं । त्यो ह्याण्डबलमा मेरो लागि अविस्मणीय क्षण थियो ।’
विर्सनै नसक्ने अर्को घटना उनको मानसपटलमा अझै ताजै छ । पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सेमिफाईनल खेल चलिरहेको थियो । भारतीय रेफ्रीले पश्चिमाञ्चलका खेलाडीमाथि सिटी लिएको हातले पन्च गरे । खेलाडी रेफ्री माथि जाईलागे । नेपाल ह्याण्डबल संघले पश्चिमाञ्चलका प्रशिक्षक जीवन बस्नेत र केही खेलाडीलाई प्रतिबन्धको निर्णय गरिदियो । त्यो उनको ह्याण्डबलको करियरकै सबैभन्दा खराब घटनको रुपमा रह्यो । त्यहाँ पश्चिमाञ्चल टोली तेस्रो स्थानमा खुम्चियो । अन्यथा पश्चिमाञ्चल ह्याण्डबल टोलीले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदकमा आधिपत्य कायम गर्दै आएको इतिहास छ ।


………………………………………………..
३१ वर्षिय बस्नेतको ह्याण्डबलसँग जोडिएको झण्डै १३ वर्ष वित्यो । २०६३ सालबाट ह्याण्डबलमा होमिएका अग्ला कदका बस्नेत आफनै जन्म र कर्मथलोमा आयोजना भएको सागमा पदक विहीन भए । निराश बने । कप्तानी सम्हालेपछि नैतिकताको दबाव उस्तै खेप्नुपर्छ । ‘कप्तानी जिम्मेवारीमा थिएँ । नैतिकताका आधारमा कप्तानी छाडे । अनि अन्तराष्ट्रिय ह्याण्डबल करियरलाई यहीं थाँती राख्दै विश्राम लिने निर्णय गरे ।’ उनी भावुक बन्दै सुनाउँछन् ।
अबको लक्ष्य प्रशिक्षक बन्दै प्रशिक्षण गराउने हो । एक दशकभन्दा लामो समय ह्याण्डबलमा विताएका उनी थप्छन–‘अब नयाँ पुस्तालाई ह्याण्डबल खेलप्रति आकर्षित गराउनुपर्छ ।’ हुन त उनी आफनै पोखरा एकेडेमीमा स्पोर्टस संयोजक हुन् । विद्यालयलाई प्रशिक्षण गराउँदै आएका उनले पोखरामा आयोजना हुने विद्यालयस्तरीय ह्याण्डबलमा भने विद्यालयलाई च्याम्पियन बनाईसकेका छन् । विगत तीन वर्ष यतादेखि उनी विद्यालयमा ह्याण्डबल प्रशिक्षण गराउँदै आएका छन् ।
ह्याण्डबलमा उनले लामो अनुभव सगाँलेका छन् । विभिन्न अन्तराष्ट्रिय प्रतिस्पर्धामा उपस्थितिसँँगै पदक जितेर फर्किएको तथ्यांक उनीसँग अझै छ । अन्तराष्ट्रिय प्रतियोगितासँगै उनले चारवटा राष्ट्रिय खेलकुद प्रतियोगिता खेले । जसमा ३ वटामा स्वर्ण पदक जिते र भने एउटामा कास्य पदकमा चित्त बुझाएका थिए । उनको नेतृत्वमा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको टोलीले राष्ट्रिय खेलकुदमा सहभागि जनाउँदा पाँचौ, छैैटौ र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष ह्याण्डबलमा स्वर्ण पदक जितेको थियो ।
…………………………………………..
अन्तराष्ट्रिय ह्याण्डबल करियरलाई टुग्याउँदा नेपाल ह्याण्डबल संघ तथा कास्की जिल्ला ह्याण्डबल संघले उनको सन्यासलाई सम्मानजनक रुपमा मात्रै नभई सहानभूतिका शब्दहरु खर्च नगरेकोप्रति उनलाई ग्लानी छैन् । तर उनी जक्तिको खेलाडी अब ह्याण्डबलले पाउदैन् । राष्ट्रको लागि खेलेको खेलाडीले सन्यास लिदाँ संघले मौनतामा बसेर मजाक बनाईदिएको गुनासो ह्याण्डबल खेलाडीहरुको थियो ।
घरेलु कोर्टबाटै अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका बस्नेतले साग अघि नै भारतको पटियालामा ह्याण्डबलको प्रशिक्षक कोर्ष लिईसकेका छन् । प्रशिक्षणको क्रममा उनी उत्कृष्ठ ठहरिएका थिए । त्यो सँगै ह्याण्डबलकै सोलिडारिटी कोर्ष समेत गरिसकेका छन् । उनले अर्को वर्ष जन्मथलोमै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भने खेल्ने छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि उनले राष्ट्रिय प्रतियोगिताबाट समेत सन्यास लिने सोंचमा छन् । ह्याण्डबलमात्रै नभई उनी व्याडमिन्टनका पनि सफल खेलाडी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here