पोखरा(खेलाडी न्युज)-खेलकुद जगत एशियाडको तयारीमा रहदाँ पोखरामा भने सागको तयारीको लागि पुर्वाधार निर्माण कार्यले गति लिएको छ । फुटबल मैदानको टेण्डर अन्तिम चरणमा रहदाँ पोखरा रंगशालाभित्रको लन टेनिसको पुर्वाधार निर्माण कार्य शुरु गरिएको छ । सागलाई लक्षित गर्दै पोखरामा लन टेनिसका आवश्यक पुर्वाधार निर्माणको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले काठमाडौंको आर एण्ड सी विल्डर्स कम्पनीलाई सुम्पिसकेको छ ।

परिषदले २ करोड ३३ लाखको लागतमा हार्ड कोर्ट, क्ले कोर्ट, प्यारापिट, चेन्जिङ रुम दुईवटा, सावर, शौचालय, फिडव्याक रुम तथा स्टोर कोठा निर्माण गर्ने जनाएको छ । निर्माणको ठेक्का काठमाडौं जोरपाटीस्थित आर एण्ड सी विल्डर्सलाई परेको छ । ठेक्का सम्झौता भईसकेको छ ।

कोर्ट बनाउन ठेकेदार कम्पनीले आवश्यक सामान झारी सकेको कास्की जिल्ला लन टेनिस संघले जनाएको छ । अरु समान शनिबार आउने छ । त्यसपछि ठेकेदार कम्पनीले काम शुरु गर्ने जनाएको संघका अध्यक्ष विनोद कायस्थले बताए । ‘पहिला क्ले कोर्ट निर्माण गर्ने छौं । भदौ भित्रमा सक्ने गरी काम गर्ने निर्देशन दिएका छौं ।’ संघका अध्यक्ष कायस्थले भने–‘असोज १३ गतेदेखि आईटिएफको प्रतियोगिता आयोजना हुदैं छ । त्यसलाई लक्षित गर्दै पाँचौ कोर्टको पश्चिम तर्फ क्ले कोर्ट बनाउन भनेका छौं ।’ पाँचौ क्ले कोर्टको पश्चिम तर्फ छैटौं नम्बरको क्ले कोर्ट बनाईने छ ।

त्यसपछि हार्डकोर्ट निर्माण गरिने छ । हाडर्कोट क्ले कोर्टभन्दा दक्षिण तर्फ बनाईने छ । हार्डकोर्टपछि मात्रै अन्य पुर्वाधार तयार पारिने छ । कम्पनीले जनवरीको अन्तिम(माघ १५सम्म)मा निर्माण गरिसक्ने लक्ष्य राखेको छ । पुर्वाधार तयार भएपछि पोखराको टेनिस कोर्ट अन्तर्राष्ट्रिय मापदण्डको हुने छ ।

विदेशमा हार्डकोर्टमा प्रतियोगिता सञ्चालन हुन्छ । क्ले कोर्टमा खेलेका खेलाडीले हार्डकोर्टमा खेल्न कठिनाई हुने भन्दै संघका अध्यक्ष विनोद कायस्थले विदेशमा हार्डकोर्टमा प्रतियोगिता खेल्न जाने खेलाडीलाई प्रशिक्षण दिन सहज हुने विश्वास व्यक्त गरे । संघकै पहलमा पोखरा रंगशालाभित्रको १८ रोपनी क्षेत्रफलमा एक करोड भन्दा बढीको लागतमा पाँच वटा क्ले कोर्ट र अफिस भवन निर्माण गरिएको छ । कोर्ट बनाउने विभिन्न संघसंस्थाले सहयोग समेत गरेका थिए ।
तस्बिर ई.प्रनिस ताम्राकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here