धन बस्नेत, पोखरा –विजय टिम ! नाम त्यसै राखिएको भने होईन् । एकपछि अर्को विजय प्राप्त गरेपछि टिमको नाम नै विजय टिम राखियो । छ दशक अघि पोखरामा खासै फुटबल थिएन् । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । त्यसभन्दा अघि फुटबल कस्तो हुन्थ्यो । जानकारी कमैलाई मात्रै थियो ।

२००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । तीन वर्षपछि विजय टिमको शुरुवात भयो । त्यसको कप्तानी भने डम्बरलाल माकाजूले गरे । उनकै कप्तानीमा विजय टिमले हरेक प्रतियोगिता जित्थ्यो । त्यसैले उनको टिम नै विजय टिम राखिएको थियो । पोखरामा केवल पाँच टिम मात्रै प्रभावशाली थिए । त्यो पनि ठाँउ अनुसार मात्रै । दुई टिम विभागीय थिए । एउटा रानीपौवा, अर्को वियज टिम र त्यसपछि धौलागिरी । मोहरिया टोलको धौलागिरी टिम थियो । हाम्रो भने महेन्द्रपुलको । रानीपौवाका उतै थियो । पुलिस फोर्स र मिलिटरीको छुट्टै टिम थियो ।

‘हारेपछि छिमेकी पनि शत्रु बन्थे ।’ फुटबलको इतिहास कोट्याउँदै माकाजू भन्छन–‘हारेपछि बोल्दै बोल्थेनन् । मिलेर खेल्दा पनि विजय टिमलाई जित्ने आँट कसैसँग थिएन् ।’ उनले कप्तानी सम्हालेको विजय टिमको हार कहिल्यै भएन् । हारेपछि कोही गौडां कुरेर थर्काउन समेत बस्थे । ‘एक पटक जितेको शिल्ड पनि जर्वजस्ती खोसेरै लगे । तर फेरी खेल्दा हारेपछि शिल्ड फर्काए ।’ माकाजूले विगतलाई सम्झन्छन । उमेर अहिले ८८ पुग्यो । चार वर्ष अघिको विश्वकप हेर्दा उनलाई निकै टक बसेको थियो । तर अहिले स्मरणशक्ति नै कमजोर बनिसकेको छ ।

त्यतिबेला पोखरा भन्दा बाहिर जाने सम्भावना थिएन् । पोखरामै प्रतिस्पर्धा हुन्थ्यो । मुश्किलले एक पटक काठमाडौं जाने अवसर जुरेको थियो । तर त्यो पनि पाल्पाको टिम विजयटिमसँग पराजित भएपछि पाल्पाका बडाहाकिमले क्यान्सिल गरिदिए । उनको फुटबलको सबैभन्दा तितो क्षण थियो । जुक्ता थिएन । खाली खुट्टा खेल्नु पथ्र्यो । पुलिस फोर्स र मिलिटरी फोर्ससँग खेल्न खुट्टा जोगाउनु पथ्र्यो । खेल्दा कतिपटक खुट्टा रक्ताम्य भयो भनिसाध्य नै छैन् । तर पनि विजय टिमलाई जित्ने आँट भने कसैसँग पनि थिएन् । ‘धौलागिरी टिम हाम्रो विरोधी थियो ।’ उनी भन्छन् ‘तर कहिल्यै जित्न सकेन् ।’ रानीपौवाको टिम पछि आएर विजय टिममा समाहित भयो । टिम अझ बलियो बन्यो । त्यतिबेला लोकबहादुर रन्जित, राधेश्याम रन्जित, कुलमान साई लगायतका खेलाडी थिए ।

उतिवेला बगरस्थित पुरानो टुडिखेल र नेपाली सेनाको फुलबारी व्यारेकको मैदानमा मात्रै फुटबल खेलिन्थ्यो । ‘विजय टिमको खेल हेर्न रुपाताल किनारको देउरालीबाट समेत दर्शक आउँथे ।’ माकाजूको मानसपटलमा अझै यादहरु ताजै छन् । जितेपछि पाँचसय रुपैयाँ दिन्थे । जसबाट फुटबल किनिन्थ्यो । किनिएको फुटबल कप्तानले नै सम्हालेर राख्न पथ्र्यो ।
……..
एक पैसामा दुई वटा कुुखुराको फुल आउथ्यो । डाईट नै त्यही थियो । पैसा पाउनै मुश्किल हुन्थ्यो । फुटबल खेल्नकै लागि उनले महेन्द्रपुलमा भएको पसल बन्द गरेर हिड्थे । ‘फुटबल भनेपछि हुरुक्कै हुन्थें ।’ उनी भन्छन्–‘साथीभाइले बोलाएपछि दोकान नै बन्द गरेर एकबजे नै मैदानतिर कुथ्येँ ।’

२०१३ सालमा गण्डकी कप प्रतियोगिता आयोजना गरिएको थियो । त्यतिबेला घनविक्रम राणाले आयोजना गरेका थिए । त्यो कपको उपाधि विजय टिमले जित्यो । राणाहरुको समर्थनमा हुने विभागीय टोली पुलिस फोर्स र मिलिटरी टिमलाई पराजित गरियो । हारेपछि खेल नै उल्ट्याएर शिल्ड बोकेर जान्थे । फेरी खेल्नुपथ्र्यो । ‘फेरी खेल्दा पनि हारेपछि शिल्ड फिर्ता दिए ।’ माकाजू सम्झन्छन् ।

त्यसपछि विस्तारै नयाँ टिमहरु आए । रामकृष्ण टोलमा जागृति क्लब, आर्मीको टिम, अम्मरसिंह माविको टिम, भैरव टोलको बालमन्दिर क्लब, पीएन क्याम्पसको टिम, मोहरिया टोलको धौलागिरी टिम फुटवलका चर्चित टिम थिए । उतिवेला नै लिग च्याम्पियनसिप, नकआउट च्याम्पियनसिप र फाइनल च्याम्पियनसिप जस्ता प्रतियोगिता गरिन्थ्यो । आयोजक धन शम्सेर जवरा र उनका परिवार बन्थे । पहिला सौखका रुपमा खेलिने फुटवल क्षेत्रले भने अहिले का“चुली फेरिसकेको छ ।
……..
फुटबल खेलेर उनको जवानी वित्यो । तर कमाई भने सुको थिएन् । २२ वर्षकै उमेरमा चुनुदेवीसँग विवाह भएको थियो । परिवार पाल्नुपर्ने जिम्मेवारी पनि थियो । तर विवाह भएको केही वर्ष उनले फुटबल नै आफनो गन्तव्य बनाई रहे । पहिलो सन्तान जन्मिएपछि उनको फुटबल मोहलाई विस्तारै कम गरे । त्यसपछि शुरु भएको उनको दोस्रो अध्याय ।

फुटबल खेल्न छाडेपछि उनले पढाउन तिर लागे । तत्कालिन अर्मला गाविसको सीता प्राविमा उनले १४ वर्ष शिक्षण गराए । हेडमाष्टर्स भएर सेवा गरे । त्यसपछि दुई वर्ष कास्कीको लाहाचोक गाविसको स्कुलमा पुगे । दुई वर्ष पढाएपछि फेरी भरतपोखरी गाविसको स्कुलमा छिरे । त्यहाँ पनि दुई वर्ष पढाएपछि उनले पढाउने कामलाई थाँती राख्दै व्यवसाय तर्फ उन्मुख भए । ‘सय रुपैया तलब थियो । परिवार पाल्ने गारो भो । त्यसपछि पढाउन छाँडे ।’ उनीले विगतलाई कोट्याए ।

नेवारी समुदायमा जन्मिएका उनी भजन किर्तनमा निकै सौखिन थिए । विवाह पछि पनि उनी भजन किर्तनमा दिन रात नभनी हिड्थे । फुटबलसँगै उनले २०१४ साल तिर भजन किर्तनमा आफुलाई समाहित गर्थे । १९८७ मा जन्मिएका माकाजूको दुई छोरी र तीन छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here