Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा यही पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा १९ औं सस्करणको माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय क्योकुशिन कान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुदैं छ ।

पुरुष तर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिला तर्फ भने ३५, ४०, ४५ र  ५० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्योकुशिन कान कराँते गण्डकी प्रदेश प्रमुख दिपकबहादुर गोदारले बताए । उनका अनुसार विगतको भन्दा यो वर्ष केही तौल समूह बढाइएको छ । विशेष गरी साना तौल समूहमालाई प्राथमिकता दिइएको सुनाए ।

पुस २९ गते पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । अधिकांश तौल समूहको क्वार्टरफाईनलसम्मका खेलहरु टुग्याईने छ । सेमीफाईनल र फाईनल खेल ढुंगेसाँघुको मेलामै आयोजना गरेर प्रतियोगिता टुग्याईन् छ । माघे संक्रान्ति नजिकिदैं गर्दा ढुंगे साँघुमा मेला भर्न सर्वसाधारणको भीड हुन्छ । त्यही भीडमा खेलकुदको गतिविधिले पनि महत्वपूर्ण स्थान लिन्छ । मेला भर्दै खेलकुद प्रतियोगिता नियाल्ने अवसर सर्वसाधारणले पाउँछन् ।

पोखराको ढुंगेसाँघुमा साँस्कृतिक मेला लाग्दै आएको छ । इतिहासदेखि ढुंगेसाँघुमा मेला भर्न कास्की, स्याङजा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट सर्वसाधारण ओईरिन्छन् । मेलाकै दिन संक्रान्तिमा वर्षेनी क्योकुशिन कान कराँते संघ कास्कीले कराँते च्याम्पियनसिप गर्दै आएको छ ।

प्रदेश प्रमुख गोदारका अनुसार प्रतियोगितामा कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, तनहुँ र गोरखा जिल्ला १५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो र चौथो हुने खेलाडीलाई ट्रफी प्रदान गरिने छ । संघका अध्यक्ष बेलबहादुर थापाका अनुसार दुईदिने प्रतियोगिताको लागि ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दुईदिने प्रतियोगिताबाट दुई लाख रुपैयाँ बचत गर्न सकिने विश्वास समेत संघले लिएको छ । बचत रकमबाट खेलाडीलाई अत्यावश्यक म्याट, प्याड र ग्लोब लगायतका सामान खरीद गरिने संघ उपाध्यक्ष एव प्रतियोगिता संयोजक दानबहादुर क्षत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here