पोखरा (खेलाडी न्युज)-लेकसाईड एशोसियनद्वारा आयोजित तेश्रो लेक कपमा विष्णुपादुका क्लव हेमजा र एम – १२ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न सेमीफाइनल अन्तरगतको पहिलो खेलमा तारा फुटवल क्लबलाई एम – १२ ले ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी अर्को सेमी फाईनल खेलमा आयोजक लेकसाईड फुटबल क्लवलाई विष्णुपादुका क्लव हेम्जाले टाई ब्रेक्ररमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एम १२ ले फराकिलो जित निकाल्ने क्रममा घनश्याम तामाङ, सुनिल गोतामे र आकाश थपलियाले गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच तामाङ घोषित भएका थिए ।

दोस्रो खेलमा अन्तिम मिनेटमा पाएको पेनाल्टीले खेल बराबरी गरेको विष्णुपादुका क्लब हेमजाले अन्तत पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल सुनिश्चित बनायो । खेलको पहिलो हाफको ७ औं मिनेटमा लेकसाईडका सन्जय बुढाथोकीले गोल गर्दै दिलाएको अग्रता खेल सकिन केही सेकेण्ड बाँकी हुदाँ विष्णुपादुकाले पाएको पेनाल्टी खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो । अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई सन्जोग केसीले गोल गर्दै बराबरीमा ल्याउँदै निर्णय पेनाल्टी सुटमा पुर्याए ।

पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै विष्णुपादुका हेमजा फाईनलमा प्रवेश गर्यो । विष्णुपादुकाको लागि केसी, समीर कार्की र मुकेश श्रेष्ठले गोल गरेका थिए । उता लेकसाईडको लागि अनिल विकले प्रहार सदुपयोग गरेपनि सुनिल विकले बाहिर फालेपछि खेल विष्णुपादुकाको पक्षमा गएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार र दोश्रो हुनेले ७५ हजाररुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य विभिन्न विधामा समेत खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजक लेकसाईड एशोसियन पोखराले जनाएको छ । पोखरा लेकसाईडको बराही चोक खेल मैदानमा शनिबार फाईनल हुने छ ।