Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-खेलमा नयाँ युवा आकर्षित हुनै सकेको छैन् । युवा पुस्तालाई र्आचरी खेलमा प्रवद्र्धन गर्न विद्यालयस्तरदेखि नै प्रशिक्षण गराउनुपर्ने खाँचो छ । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आर्चरीको विकास गर्न स्कुलदेखि नै प्रशिक्षण गराउनुपर्नेमा जोड दिएका छन् । ‘आर्चरीको विकास स्कुलदेखि नै गर्नुपर्छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्छ ।’ उनले आईतबार कास्की जिल्ला आर्चरी संघको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै भने–‘खेलकुदका संस्थाहरुले समन्वय गर्नुपर्ने खाँचो छ ।’

विद्यालयस्तरदेखि नै प्रशिक्षण गराउने तर्फ संघले विशेष ध्यान दिनुपर्ने खाँचो उनले औंल्याए । उनले फागु पूर्णिमाको समयमा आर्चरी खेल महोत्सव आयोजना गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने तर्फ ध्यान जानुपर्ने स्पष्ट पारे । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको आर्चरी खेल पोखरामा आयोजना गरिएको भन्दै अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अहिले देखि नै तयारी थाल्नुपर्ने बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नेपाली सेनाले आर्चरी खेलाडी तयार गर्दै छ । आर्चरीमा गण्डकी प्रदेशको प्रभुत्व छ । यद्यपी पदकको गणना नहुदाँ समस्या रहदै आएपनि आठौंमा विभागीय टोली आर्मीको सहभागितासँगै पदक गणना हुने छ । आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकै लागि पश्चिम पृतना विजयपुरका १० जनालाई प्रशिक्षण गराएको छ । बरिष्ठ प्रशिक्षक किशोरकुमार गुरुङले प्रशिक्षण दिदैं आएका छन् । विभागीय क्लबमा यसभन्दा अघि आर्चरी खेलले खासै प्रभाव जमाउन सकेको अवस्था भने थिएन् ।

प्रशिक्षक गुरुङले आर्चरीमा नयाँ खेलाडी आउनुपर्ने बताउँदै आर्मीको प्रशिक्षणले नयाँ उत्साह जागेको स्पष्ट पारे । ‘आउनुस , खेल्दिनुस । परिवारलाई दर्शक बनाएर सहयोग गर्नोस । परिवारको हौसलाले खेलाडी बन्न प्रेरित गर्छ ।’ उनको भनाई थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नै लक्षित गरी अन्नपूर्ण आर्चरी क्लबको सहकार्यमा २१ थन टार्गेट बोस खरीद गरिएको छ । संघ र क्लब दुवैले आर्थिक भार बराबर बहन गरेका छन् ।

पाँचौ अधिवेशनमा कास्की जिल्ला आर्चरी संघका संस्थापक सचिव बसन्त थकालीलाई विशेष सम्मान गरिएको थियो । नेपाल आर्चरी संघका उपाध्यक्ष समेत रहेको थकालीलाई आर्चरी खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले दोसल्ला र बोर्ड सदस्य गुरुङले सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

उपाध्यक्ष थकालीले सम्मान ग्रहणपछि सम्मानले आर्चरी खेलको विकासमा थप भारी संघले बोकाईदिएको बताउँदै जिम्मेवारीको भारीलाई अझ सहज र सबल रुपमा बिसाउने प्रतिबद्धता गरे । ‘हामीले ठूलै संघर्षबाट अन्नपूर्ण आर्चरी क्लब गठन गर्यौं । जुन नेपालकै पहिलो आर्चरी क्लब थियो ।’ उनले भने–‘क्लबसँगै संघ गठन गरेर विधिवत रुपमा आर्चरीको विकासमा पाईला चाल्यौं ।’ उनले आर्चरीको विकासमा आफनो योगदान सधै रहिरहने प्रतिबद्धता समेत जनाए ।

अधिवेशनमै अन्नपूर्ण आर्चरी क्लबका संस्थापक कोषाध्यक्ष क्या.हितमान गुरुङले क्लबका अध्यक्ष एवं प्रशिक्षक किशोरकुमार गुरुङलाई एक सेट बो सहयोग स्वरुप हस्तान्तरण गरे । आफुले प्रयोग गर्दै आएको बोलाई युवापुस्तालाई प्रेरित गर्न क्लबलाई हस्तान्तरण गरेको उल्लेख गरे । ‘म त ८० वर्ष पुगें । खेल्न सक्दिन् । तर हेर्न त सक्छु । त्यसैले युवाहरुले खेल्छन् भनेर बो सहयोग दिएको हुँ ।’ क्या. गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here