Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-घरेलु मैदानमा बाग्लुङ नगरपालिकाले दोस्रो सस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको पोखरा महानगरपालिकाको बेनी नगरपालिकासँग सडन डेथमा पराजित भएको थियो । पहिलो संस्करणको विजेता वालिङ नगरपालिका समेत उपस्थिति जनाएन् । विजेता तथा उपविजेताको अनुपस्थितिको फाईदा आयोजक बाग्लुङले उठाउँदै उपाधि रक्षा गर्यो ।

बाग्लुङस्थित बाङ्गे चौर खेल मैदानमा भएको फाईनलमा पोखराका खेलाडी प्रेरित बाग्लुङले उदयपुरको चौदण्डी नगरपालिकालाई ५–२ गोलले पराजित गर्दै नगद ३ लाख राशीको उपाधि आफनो नाम लेखायो । उपविजेता चौदण्डी नगरपालिकाले भने नगद २ लाख रुपैयाँ पुरस्कार थाप्दै उदयपुर फर्कियो ।

पोखरेली खेलाडी उत्तम गुरुङ, गोविन थापा र ध्रुव घिमिरे सम्मिलित बाग्लुङले फराकिलो जित निकाल्यो । बाग्लुङ नगरपालिका कप्तान प्रमेश थापाको एक गोल लेखिदाँ उत्तमले दुई, ध्रुव र गोविनले पनि एक एक गोल गरेका थिए । खेलमा बाग्लुङका कप्तान प्रमेशको गोलबाट लिएको अग्रतलाई निरन्तरता दिने क्रमलाई अन्य खेलाडीले सहयोगी भूमिका खेले । डिफेन्सले क्लियर गर्न नसकेको बललाई उपयोग गर्दै कप्तान प्रमेशले गोल गर्दै बाग्लुङलाई अग्रता दिलाएका थिए ।

एकपछि अर्को मुभ बनाएको बाग्लुङका लागि १८ औं मिनेटमा अर्को अवसर गुम्यो । उत्तम गुरुङले डिबक्स बाहिरबाट हानेको बल क्रसबारमा लागेर फर्किएको थियो । रिवाउण्ड बललाई सिद्धान्त मगरले पनि सही सदुयोग गर्नबाट चुके । २१ औं मिनेटमा ध्रुव घिमिरेले गोल थपे । मानसिक रुपमा दबिएर खेलेको चैदण्डीले दोस्रो गोलगरेपछि झन दबावमा खेल्न पुग्यो ।

२५ औं मिनेटमा चौदण्डीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल अन्तर घटायो । कप्तान शरद राईले पेनाल्टीमा गोल गरेका थिए । गोलकिपरलाई विट गर्दै हानेको बललाई बाग्लुङका जीवन गुरुङले रोक्ने क्रममा ह्याण्ड भएपछि पेनाल्टीको अवसर दिईएको थियो । पेनाल्टीलाई राईले कुनै गल्ती गरेनन् । निरन्तर दबाव बनाएको बाग्लुङले तेस्रो गोल भने ३४ औं मिनेटमा सम्भब बनायो । उत्तम गुरुङले हानेको फ्रिकिक सिधै पोष्टभित्र छिरेपछि बाग्लुङले उपाधि रक्षालाई बलियो बनाएको थियो ।

पहिलो हाफ टुंगिदा ३–१ ले अग्रता लिएको बाग्लुङले दोस्रो हाफमा थप दुई गोल गर्यो । ४९ औं मिनेटमा बाग्लुङले अर्को गोल थप्यो । आक्रमण गरिरहेको बाग्लुङका लागि गोविन थापाले व्यक्तिगत गोल गर्दै अन्तरलाई बढाए । चौदण्डीले दोस्रो गोलको अवसर पनि पेनाल्टीबाटै प्राप्त गर्यो । बाग्लुङका डिफेन्स निशान थापाले डिबक्सभित्र फउल हिर्काएपछि पाएको पेनाल्टीलाई कप्तान राईले नै गोल गर्दै अन्तरलाई साँघुरो बनाउने प्रयास गरे ।

७७ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गरे । उनको गोल नै अन्तिम बन्यो । जितको हकदार हुदैं नगद ३ लाख रुपैयाँ प्राप्त गर्यो । सेमिफाइनलिष्ट टोली भीमाद नगरपालिका र बेनी नगरपालिकाले नगद ६०÷६० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार थापेका ध्रुव घिमिरे उत्कृष्ट फरवार्डको पुरस्कार थापे । बाग्लुङकै उपकप्तान निशान थापा उत्कृष्ट खेलाडी घोषित भए । बाग्लुङका गोलकिपर सौगात खड्का, उत्कृष्ट डिफेण्डरबाट जीवन गुरुङ र मिडफिल्डको पुरस्कार उत्तम गुरुङले पाए । निशानले नगद १० हजार पाउँदा अन्य विधाका खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

बाग्लुङ नगरपालिकाको आयोजना तथा बाग्लुङ जिल्ला फुटबल संघको समन्वयमा आयोजित प्रतियोगितामा विभिन्न दश नगरपालिकाको सहभागिता रहेको संघका कोषाध्यक्ष एव जनप्रतिनिधि समेत रहेका सुर्य लामिछानेले बताए । उनका अनुसार गत वर्ष पहिलो संस्करण गण्डकीप्रदेशस्तरीय आयोजना गरिएको थियो । तर यो वर्ष खुल्ला रुपमा आयोजना गरिएको हो । विजेतालाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here