पोखरा(खेलाडी न्युज)-अखिल नेपाल फुटबल संघ(एन्फा)ले अबको फुटबल पोखराले धान्ने विश्वास गरेको छ । फुटबलका पूर्वाधार बढ्दै गएका छन् । पूर्वाधारले अबको फुटबल पोखराले धान्ने एन्फाका उपाध्यक्ष बीरबहादुर खड्काले बताए । ‘नेपालको फुटबल अब पोखराले धान्नी हुन्छ’ झण्डै १५ दिनको बसाईपछि उनले सोमबार सञ्चारकर्मीसँग भने–‘पूर्वाधारको विकासले पनि उत्तिकै छ ।’ उनले पोखराको विभिन्न फुटबल मैदानको निरीक्षण गरेको उल्लेख गर्दै दुई÷तीन वर्षपछि नेपालको फुटबल पोखराले नै धान्ने विश्वास व्यक्त गरे ।

‘पोखरा रंगशालामा अन्तराष्ट्रियस्तरको फुटबल मैदान बनेको छ । त्यसमा फडल(राती खेल्न मिल्ने बत्ती) लाईट हाले अन्तराष्ट्रियस्तरका खेलहरुमा पोखरामा खेलाउन सकिन्छ ।’ कास्की जिल्ला फुटबल संघमा भएको आर्थिक अनियमितताको छानविन गर्न आएका संयोजक समेत रहेको उपाध्यक्ष खड्काले भने–‘पोखरा फुटबलको उर्वर भूमी पनि हो । त्यसैले अबको फुटबल धान्ने नै पोखरा हुन्छ । फुटबल भनेकै पोखरामा हुन्छ ।’

पोखरामा रंगशालासँगै पोखरा–१९ लामाचौरमा राष्ट्रिय खेलकुद परिषदको २ करोड ८० लाख तथा अन्य विभिन्न संघसंस्थाको सवा करोड गरी झण्डै चार करोडको लागतमा फुटबल मैदान तयार गरिएको छ । प्यारापिट निर्माण गरिएको छ । भिआईपी प्यारापिटसहित चेन्जिङ रुम बनाईएको छ । उपाध्यक्ष खड्काले पोखरा–२५ हेमजामा समेत गौरीशंकर खेल मैदान तथा विष्णुपादुकाको खेल मैदान समेत निरीक्षण गरेका थिए । पोखरा रंगशालाभित्रै प्रशिक्षण फुटबल मैदान तयार गरिएको छ । अन्नपूर्ण गाँउपालिका ढिकुरपोखरीमा परिषदको ५० लाख र स्थानीय तह खेल मैदान निर्माण गर्न अन्तर्गतर संघीय सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा समेत हाईअल्टिच्युड खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

‘पोखरामा फुटबलको क्रेज छ । अभिभावकले पनि छोराछोरीलाई फुटबलकै लागि हजारौं रुपैयाँ पर्ने बुट किनेर दिन्छन् ।’ उनले भने–‘फुटबल विकासको लागि त्यस्तो अभिभावक आवश्यक छ ।’ उनले फुटबल विकासको लागि पारदर्शिता र इमान्दारिता हुनपर्नेमा जोड दिए । ‘इमान्दारिता र पारदर्शिता नभए फुटबलको विकास हुदैन् ।’ उनको भनाई थियो ।

‘कसैलाई च्याप्नु र फाल्नुपर्ने अवस्था छैन’

कास्की जिल्ला फुटबल संघमाथि भएको आर्थिक अनियमिता छानविनको लागि एन्फाले खड्काकै संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । सदस्यमा विष्णुप्रसाद पराजुली(अडिटर), कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष आनन्द रन्जित थिए । टोलीले १५ दिन लगाएर छानविन गर्दै रिपोर्ट तयार गरेको छ । रिपोर्ट एन्फालाई बुझाउने र एन्फाले अन्य कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

‘सत्य तथ्य छानविन गरेका छौं । कसैलाई च्याप्नुपर्ने र कसैलाई फाल्नुपर्ने अवस्था छैन्’ उपाध्यक्ष खड्काले भने–‘कसैलाई जोगाउनुपर्ने र कसैलाई डुबाउनुपर्ने अवस्था छैन् ।’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा गण्डकी प्रदेशका सदस्य राजीव गुरुङ(मनाङे)को कुटिएपछि फर्जी चेक(बाउन्स)को अभियोगमा प्रहरी नियन्त्रणमा थिए । अदालती धरौटीमा छुटेपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारमा उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले समेत कास्की जिल्ला फुटबल संघले पछिल्लो दुईवर्षयताको सम्पूर्ण कागजपत्र पेश गर्न निर्देश गरेको थियो ।

अख्तियारमा उजुरी तथा जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र काटेपछि आर्थिक अनियमितता भएको प्रष्ट भएपछि अखिल नेपाल फुटबल संघले छानविन शुरु गरेको हो । एन्फाको अकर्मण्यता, संघको अध्यक्षको एकल एवं मनोमानी निर्णयसहितको खर्च, महासचिवले माइन्युट लेख्न नसक्नु र कोषाध्यक्षले संस्थालाई दिइएको चेकको विवरण यकिन नहुनु जस्ता घटना दुईवर्षयता निरन्तर दोहोरिएपछि एन्फाले बाध्यतावश छानविन शुरु गरेको कास्की जिल्ला फुटबल संघका पुर्व सदस्यहरु समेत बताउँछन् ।

अनावश्यक खर्च, भरपाई विना भुक्तानी गरिएको, २० हजार भन्दा माथिको भ्याट विल नहुनु जस्ता समस्या कास्की जिल्ला फुटबल संघको कार्यसमितिले गरेको छानविनले प्रष्ट पारेको छानविन समितिले उल्लेख गरेको छ । अनावश्यक खर्चकै कारण २९ लाख १७ हजार रुपैयाँ ऋण देखिएको छ । छैटौं मनकामना केवलकार पोखरा कपमा विभिन्न ३७ संघसस्थालाई २४ लाख ९८ हजार रुपैयाँ तिर्नुपर्ने देखिएको उपाध्यक्ष खड्काले जानकारी दिए । उनले भने– ‘कसैको दबावमा छानविन गरिएको छैन् । इमान्दारिताका साथ छानविन गरेका छौं ।’ रिपोर्ट एन्फालाई बुझाएपछि कारवाही गर्ने जिम्मेवारी एन्फाकै भएको भन्दै छानविन समितिके भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here