पोखरा(खेलाडी न्युज)-पोखरामा आयोजित अन्तर क्लब खुल्ला पुरुष विच भलिबल प्रतियोगिताको उपाधि पश्चिमाञ्चल भलिबल संघको टोलीले जितेको छ । सेमीफाईनलमा तेस्रो सेट खेल्दै कठिन रुपमा जित निकालेर फाईनल पुगेको पश्चिमाञ्चल भलिबल संघले शसस्त्र प्रहरी बलको कालिका गण मालेपाटनको टिम एलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्यो । भलिबल संघले सेमिफाईनलमा पनि कालिका गणकै टिम बीलाई तेस्रो सेटमा १९–१७को अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

आईतबार फेवातालको किनारमा भएको फाईनल प्रतिस्पर्धामा २१–१९, २१–१८ को सोझो सेटले पराजित गर्दै संघले नगद ३० हजार राशीको पुरस्कार हात पार्यो । उपविजेतामा चिक्त बुझाएको कालिका गणले भने नगद २० हजारमा चिक्त बुझायो । भलिबल संघका भुपेन गुरुङ भने उत्कृष्ठ खेलाडी घोषित भए । उत्कृष्ठ खेलाडीलाई नगद पाँचहजार रुपैयाँ प्रदान गरिएको थियो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित तीन दिने प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति काजीबहादुर खत्री, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ लगायत, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दिपकबहादुर गोदार लगायतले ट्रफी तथा पदक वितरण गरेका थिए ।

गत शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका गरी २२ टोलीले सहभागिता जनाएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए , विभागीय टोलीसहित, स्याङजा, बाग्लुङ, पर्वत, तनहुँ लगायतका जिल्लाबाट भलिबल टोलीले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here