Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-नेपाली खेलकुदमा विभागीय टोलीको बर्चस्व छ । त्यही विरासत पोखरास्थित भलिबल कोर्टमा देखियो । पोखरामा आईतबारदेखि आयोजित राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा तीन विभागीय टोलीले शतप्रतिशत नजिता निकाल्दै विरासतलाई जोगाईराखे । हेल्प नेपाल स्पोर्टस क्लबले पनि आईतबार नै जित निकालेर विभागीय टोलीसँगै समान तीन अंक लिएर प्रतिस्पर्धामा देखिएको छ ।

चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शीर्षस्थान छ । दुई खेलाडीको डेब्युमा साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गर्दा उपाधिको दावेदार मानिएको हेल्प नेपाल स्पोर्टस क्लबले भने ढोरपाटन स्पोर्टस क्लब काठमाडौंलाई पराजित गर्न चौथो सेटसम्म खेल्न पुग्यो ।

आर्मीले जावलाखेल २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै तीन अंक जोड्दै लिगको शीर्षस्थानमा रहिरह्यो । आर्मीले दुर्गा खड्का र सरन सामरीलाई पोखराबाटै राष्ट्रिय प्रतियोगितामा डेब्यु गराएको छ । उपाधिको दावेदारी मानिएको हेल्प नेपालले ढोरपाटन स्पोर्टस क्लब काठमाडौंलाई चौथो सेटसम्म खेल्दै जित निकाल्यो । पहिलो सेट २५–१८ ले सहजै लिएको हेल्प नेपालले दोस्रो सेट भने १७–२५ ले गुमायो । एक एक सेटको बराबरीले ढोरपाटनको मनोबल उच्च बन्न पुग्यो । तेस्रो सेट भने हेल्प नेपालले २७–२५ ले लिएर अग्रता लिदाँ चौथो सेट भने २५–१४ मै खुम्चाउँदै जित निकाल्दै तीन अंक जोड्यो ।

आईतबार नै तेस्रो खेलमा नेपाल पुलिस क्लबले पनि मणिमुकुण्द भलिबल क्लब रुपन्देहीलाई सोझो सेटमै पराजित गरेको छ । पहिलो सेट २५–२० मा लिएको नेपाल पुलिस क्लबले दोस्रो सेटमा अझै सुधारिएको प्रदर्शन गर्दै २५–१८ को स्थितिमा लियो । तर तेस्रो सेटभने केही प्रतिस्पर्धात्मक बन्न पुग्यो । यद्यपी २५–२१ ले लिदैं पुलिसले लिगचरणको पहिलो खेल सुखदायी बनायो ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबले भारतीय खेलाडी सम्मिलित नयाँ बजार स्पोर्टस क्लब काठमाडौलाई सोझो सेटमा पराजित गर्दै लिगको शीर्षस्थान ओगटेको हो । शसस्त्रले नयाँबजारलाई २५–२२, २५–२१ र २५–१० को सेटमा पराजित गर्दै उदघाटन खेलमा विभागीय टोलीको अस्थित्व जोगायो । नेपाल भलिबल संघको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रस्थित कोर्टमा शुरु भएको प्रतियोगितालाई मुख्य प्रायोजक नेपाल राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष मेहन्द्रमान गुरुङले उदघाटन गरेका थिए ।

विजेता क्लबले नगद २ लाख, उपविजेता क्लबले एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र र बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए । प्रतियोगिताका संयोजक गुरुङका अनुसार सोमबार दोस्रो दिन पाँच खेल खेलाईने छ । तस्बिर उमेश पुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here