पोखरा(खेलाडी न्युज)-नेपाल भित्रिएको दुई वर्षपछि  पहिलो पटक कुराश खेल सम्बन्धी अन्तराष्ट्रिय रेफ्री सेमीनार पोखरामा शुरु भएको छ । नेपालसहित कुवेत, हङकङ, थाइल्याण्ड, इन्डोनेसिया, ताइवान, काजकिस्तान र अफगानिस्तानसहित ९ देशका ३३ जना रेफ्रीहरु सेमिनारमा सहभागिता जनाएका छन् । सेमिनार दुई दिन चल्ने छ । सेमिनारमा कुराश खेलको बारेमा जानकारी दिईने छ । नेपाली १५ र विदेशी १८ जनाको सहभागिता रहेको छ ।

उज्वेकिस्तानबाट शुरु भएको कुराश खेल नेपालमा सन २०१६ मा भित्रिएको हो । राष्ट्रिय खेलकुद परिषदमा विधिवत दर्ता भएपछि नेपालले कुराश अन्तराष्ट्रिय एरिनामा आफनो सहभागिता जनाईसकेको छ । गएको जेठमा भएको जार्काता एशियन गेममा समेत कुराश खेलमा नेपालले सहभागिता जनाई फर्किएको थियो ।

अन्तराष्ट्रिय कुराश महासंघका प्रशिक्षकहरुले प्रशिक्षण दिने छन् । १० जना महिला प्रशिक्षार्थीहरु छन् । कुराश विशेष गरी जुडो खेल जस्तै हो । जुडोमा जस्तै लडाएर ढाडले छुवाए अंक प्राप्त गरिने छ । कुराश खेल झट्ट बुझ्दा जुडो र कुस्तीको समिश्रण जस्तो देखिन्छ । नियम उस्तै उस्तै छ । कुवेत कुराश फेडेरेशनका अध्यक्ष हमिद फर्माईनले पनि कुराश खेलको महत्वको बारेमा प्रकाश पारे ।

अन्तराष्ट्रिय कुराश संघको सहयोगमा भएकोसेमिनारको उद्घाटन गर्दै गन्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेलको माध्यमबाट पनि नेपालको समृद्धिको परिकल्पना गर्न सकिने विश्वास व्यक्त गरे । खेल व्यक्तिको जीवन र देशकोलागि समेत महत्वपुर्ण भएको भन्दै मन्त्री गुरुङले गन्डकी प्रदेशलाई खेलकुदको हवको रुपमा विकास गर्न प्रदेश सरकारले नीति र योजना बनाएको बताए । उनले स्वस्थ्यले मात्रै स्वच्छ विचार आउने भन्दै खेल्ने मात्रै नभई खेलसँग सम्बन्धीत प्रशिक्षण गराउने एकेडेमी स्थापना गर्ने प्रदेशको लक्ष्य रहेको बताए ।

‘सबै खेलको शिक्षा प्राप्त सकिने स्पोर्टस एकेडेमीको आवश्यकता छ ।’ मन्त्री गुरुङले भने–‘त्यसको लागि बहुउद्देश्यीय रंगशाला निर्माण बनाउने प्रदेशको योजना छ ।’ खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने उनको भनाई थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले अन्तराष्ट्रियस्तरमा लोकप्रीय कुराश खेलले नेपालमा पनि चाँडै नै नयाँ उचाईमा पुग्ने विश्वास लिए । नेपाल कुराश संघका अध्यक्ष ध्रुवराज न्यौपानेले कुराश खेलको विकास र विस्तारको लागि पहिलो पटक पोखरामा रेफ्री सेमिनार आयोजना गरिएको सुनाउँदै अब जिल्लास्तरमा संघ विस्तार गरेर खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here