पोखरामा थ्री बाई थ्री बास्केटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भोलि मंगलबारदेखि थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । नेपाल बास्केटबल लिग(एनबिएल) प्रालिको आयोजनामा पोखरामा पहिलो पटक थ्री बाई थ्री बास्केटबल हुने छ । विजेता तथा उपविजेता टोलीले धनगढीमा आयोजना हुने फाईनल प्रतिस्पर्धामा सहभागिता जनाउने छन् ।

नेपाल बास्केटबल लिगले पूर्वमा आयोजना गरिसकेको छ । पश्चिम अन्तर्गत पोखरामा आज मंगलबारदेखि शुरु हुने छ । दोस्रो लेग बुटवलमा आगामी माघ ४ गते आयोजना हुने एनबिएल प्रालिका अध्यक्ष नमितबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा पुरुषको प्रतिस्पर्धा हुने छ । धनगढीमा आगामी माघ ६ गते पोखरा, बुटवल र धनगढीका विजेता तथा उपविजेताले प्रतिस्पर्धा गर्ने छन् । धनगढीमै एनबिएल वेष्टको फाईनल माघ ८ र ९ गते हुने उनले जानकारी दिए । उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार थाप्ने छन् ।

एनबिएलको अन्तिम प्रतिस्पर्धा भने काठमाडौंमा हुने छ । काठमाडौंमा महिला तथा पुरुष दुवैको प्रतिस्पर्धा हुने उनले बताए । थ्री बाई थ्री प्रतिस्पर्धा केवल १० मिनेटको मात्रै हुने छ । १० मिनेटभित्र २१ स्कोर ल्याउने टोली विजयी हुने नियम छ । अर्थात २१ स्कोर जसले पहिला ल्याउँछ उही विजेता घोषित हुने छ । टोलीमा तीन खेलाडी र एकजना बैकल्पिक हुने छन् । खेलाडी परिवर्तन भने गरिरहन पाउने प्रावधान छ । प्रतियोगिता बास्केटबलको अन्तराष्ट्रिय संस्था ‘फिबा’ नियमानुसार खेलाईने छ ।

थ्री बाई थ्रीमा ३ प्वाइन्टको प्रावधान भने हुदैन् । २ र १ प्वाईन्ट मात्रै पाउँछन् । फ्रि हिटको १ अंक हुन्छ भने अन्यको दुई अंक स्कोरबोर्डमा चढ्छ । धनगढीमा हुने अन्तिम प्रतिस्पर्धाको लागि पोखराबाट दुई टोली छनोट हुने छन् । उनका अनुसार १२ टोलीको सहभागिता भईसकेको छ ।

एनबिएल प्रालिले पुर्वको धरान, विर्तामोड र विराटनगरमा आयोजना गरिसकेको छ । पुर्वमा र पश्चिममा भने महिला टोलीको सहभागिता नभएको उनको भनाई थियो । प्रतियोगिताको लागि खेलकुद सामाग्री निर्माण कम्पनी लिनिङ्गसँग सम्झौता भएको छ । सम्झौता अनुसार लिनिङ्ग कम्पनीले १० लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ । लिनिङ्गका नेपाल कन्ट्री हेड राजेन महर्जन र एनबिएल प्रालिका अध्यक्ष थापा बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रालिले पोखरामा आयोजित प्रतिस्पर्धाका विजेता तथा उपविजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरिने जनाएको छ । छनोट भएका दुई टोलीलाई अन्तिम प्रतिस्पर्धाको लागि धनगढीसम्म आउन प्रालिले यातायातको सुविधा भने दिने जनाएको छ ।