पोखरामा ‘दि कासाङ्गा च्यालेन्ज’ पुरुष तर्फ नेपालका सुमन र महिला तर्फ अमेरिकी इमिली च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-साहसिक जलयात्रासहितको द कासाङ्गा च्यालेन्ज कपको पुरुष तर्फको उपाधि सुमन तामाङले जितेका छन् । साईक्लिङ, रनिङ र कायाकिङ रेसको फुल च्यालेन्जमा तामाङले १ घण्टा २५ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । नेपालकै प्रशान्त राई भने १५ सेकेण्डले मात्रै पछि पर्दै उपविजेतामा िचित्त बुझाएका छन् । त्यसैगरी तेस्रो स्थानमा शक्तिकुमार गुरुङ आए । उनले १ घण्टा २६ मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए ।

नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेशले ं पोखरामा आयोजना गरेको अन्तराष्ट्रियस्तरको दि कासांग च्यालेन्ज २०१९ को च्याम्पियनमा महिला तर्फ अमेरीकाकी ईमिली लिटल च्याम्पियन बनेकी छिन । छनौट चरण पछि आज (शनिबार) अपर सेतीमा भएको फुल च्यालेन्जमा निर्धारित ३२ किमी (साढे ७ किमी साईकिलिङ, साढे ६ किमी रनिङ र ८ किमी कायाकिङ) १ घण्टा २५ मिनेटमा र महिला तर्फ बिजेता बनेकी लिटलले १ घण्टा ३६ मिनेट १२ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेकी हुन ।

अष्ट्रेलियाकी लिज हेथले १ घण्टा ४४ घण्टा ३४ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् । तेस्रो स्थानमा भने नेपाली खेलाडी सुधा राई आईन् । उनले १ घण्टा ५४ मिनेट ११ सेकेण्डको समय लगाउँदै पुरा गरिन् । पुरुष तथा महिला तर्फको बिजेता द्वयले पदक, प्रमाणपत्र सहित नगद रु १ लाख, दोस्रो स्थानमा रहेका खेलाडीले ५० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

च्याम्पियनसिपका प्राविधिक संयोजक निमबहादुर मगरका अनुसार हाफ च्यालेन्जमा पुरुष तर्फ एपिएफका लक्ष्मण मल्लले ७.५ किमी साईकिलिङ र ६.५ किमि रनिङलाई ४१ मिनेट १८ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने । उनले उपाधिसहित नगद रु ३० हजार प्राप्त गरे । त्यस्तै दोस्रो बनेका नेपाल आर्मीका हिमाल टमताले ४२ मिनेट २४ सेकेण्डमा पुरा गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार हात पारे भने तेस्रो बनेको आर्मीकै कमल ओलीले निर्धारित दुरीलाई ४६ मिनेट १५ सेकेण्डमा पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजारमै चित्त बुझाए ।

त्यस्तै महिला तर्फ एपीएफकी हुमीबुढा मगरले साढे सोही दुरीलाई ५१.०३ सेकेण्डमा पुरा गर्दै पार हाफ च्याम्पियनको हकदार बनिन् । उनले नगद ३० हजार प्राप्त गरिन । त्यस्तै दोस्रो बनेकी सोही क्लबकै ईन्द्रकला नेम्वाङले ५२ मिनेट ३७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार हात पारिन । तेस्रो बनेकी एपीएफकै निर्जला ताम्राकारले निर्धारित दुरीलाई ५४ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । उनले नगद रु १० हजारमै चित्त बुझाईन ।

च्यालेन्जमा बिजेता तथा उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पुरस्कार वितरण गरेका थिए । संयोजक निम मगरका अनुसार ८ र ९ गते सञ्चालन भएको फुल र हाफ च्याम्पियनमा विभिन्न म्ुलुकका १०० बढि खेलाडीहरुको सहभागिता रहेको थियो । फाईनल चरणमा ४७ जना खेलाडी सहभागि थिए । फुल च्यालेन्जमा २५ जना र हाफ च्यालेन्जमा २२ जनाले प्रतिस्पर्धा गरेका थिए ।