पोखरा(खेलाडी न्युज)-पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लागि पोखरा रंगशालाभित्रको क्रिकेट मैदान मर्मत शुरु गरिएको छ । मर्मतले क्रिकेट मैदानको स्वरुप परिवर्तन भएको छ । मर्मतत सम्भार साँघुरिदैं गएको आउट फिल्ड बढाएपछि मैदान अझ फराकिलो बन्ने छ । कार्तिक ९ गतेदेखि क्रिकेटको फ्रेन्चाईज कम्पनी बीचको प्रतिस्पर्धा पोखरा प्रिमियर लिगको लागि मैदानको आउट फिल्ड तथा पीच मर्मत कार्य शुरु गरिएको हो । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले टी–२० फरम्याटको पोखरा प्रिमियर लिग गर्ने तयारी गर्दै मैदान पुर्ननिर्माणमा जुटेको हो । प्रिमियर लिग कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशालामा गरिने छ ।

मैदानको बाउण्ड्री झण्डै पाँचमिटर बढाइएको छ । बाउण्ड्री बढाउँदै माटो भर्ने काम अगाडि बढाइएको छ । पीच पनि मर्मत गरिएको छ । पीचको पुरानो माटो फालेर नयाँ माटो फिलिङ गरिएको छ । चार वटा पीच मर्मत गरिने प्रालिले जनाएको छ । पीच मर्मत गर्न त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको क्युरेटरलाई पोखरा झिकाईएको छ । पोखराका र टियुका क्युरेटरसँगै भारतबाट समेत क्युरेटरले पीचको काम गरिरहेका छन् ।

प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार आउटफिल्डको लेभलिङ गर्न आवश्यक मेशिन पोखरा आउँदै छ । मेशिनले आउटफिल्डको लेभलिङ गरेपछि माटो र बालुवा हाल्दै दुवो रोप्ने उनले सुनाए । माटो र बालुवा हालेर दुवो रोप्दा समेत नभएको ठाँउमा भने चपरी नै हालेर आउटफिल्ड तयार पार्ने योजना उनको छ । आउटफिल्डको झाडी समेत डोजर लगाई फालिएको छ । मैदान निकै खुल्ला र फराकिलो देखिएको छ ।

‘क्रिकेटको पीच निर्माण गरिसकेपछि आउट फिल्डलाई ध्यान दिने छौं ।’ उनले भने ‘आउट फिल्डको लेभलिङ गर्न कति माटो र बालुवा चाहिन्छ त्यो पछि मात्रै थाहा हुन्छ ।’ क्रिकेटको लागि आवश्यक सम्पूर्ण सामाग्री ल्याउन झण्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । स्कोर बोर्ड, साईड स्क्रीन, बाउण्ड्री रोप, शौचालय निर्माण, खेलाडी बक्स लगायतका पुर्वाधार तयार गर्नुपर्ने खाँचो छ । पीच बनाउन तनहुँबाट दुई ट्रक माटो ल्याईसकिएको छ । पीच बेसभन्दा माथिसम्मको भाग फालेर पुन माटो फिलिङ गरिएको उनले सुनाए ।

राष्ट्रिय खेलकुद परिषदले पनि पोखरा रंगशालाको क्रिकेट मैदान मर्मत सम्भारको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको छ । अघिल्लो पटक आएको १३ लाख रुपैया बजेटबाट मैदानको पश्चिम तर्फको आउटफिल्डमा माटो भरिएको थियो । थोरै रकम विनियोजन हुदाँ प्रभावकारी काम भने देखिन सकेको छैन् । तीन महिनापछि हुने क्रिकेट प्रिमियर लिगले मैदानलाई नयाँरुप दिने निश्चित छ । तस्बीर सौजन्य चन्द्रकुमार गुरुङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here