पोखरा(खेलाडी न्युज)-तीन महिना पछि पोखरा रंगशालाभित्र खेलकुद गतिविधि शुरु हुन थालेको छ । रंगशालाभित्र खेलकुद गतिविधिको रौनक बढ्दै गएको छ । गत चैतको पहिलो सातादेखि पूर्ण रुपमा बन्द रहेको पोखरा रंगशालामा असारको पहिलो सातादेखि नै खेलकुद गतिविधि विस्तारै बढ्न थालेको हो । व्याडमिन्टन, टेनिस, क्रिकेट, स्क्वास तथा बास्केटबलको गतिविधि बढ्दै गएको छ । क्रिकेट र बास्केटलको गतिविधि शुरु भएको भने बुधबारदेखि हो ।

‘स्वास्थ्यका लागि खेलकुद’ । तर खेलकुद राज्यको लागि अनिवार्य आवश्यकता भित्र पर्दैन् । अनिवार्य आवश्यकता भित्र नपर्दा संघीय सरकारले कोभिड–१९ को महामारीकै कारण खेलकुद गतिविधि सञ्चालन नगर्न निर्देशन गर्दै आएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले चैतको पहिलोसातादेखि नै पोखरा रंगशालाभित्र कुनै गतिविधि नगर्न सूचना जारी गरेको थियो । विश्वव्याप रुपमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन शुरु गरिएको थियो । लकडाउन गर्नु अघि नै राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार रंगशालाभित्र कुनै पनि खेलकुद गतिविधि नगर्न जिल्ला खेलकुद विकास समिति कास्कीले सर्वसाधारणको लागि मुख्य प्रवेशद्वारमै सूचना टाँस गरेको थियो ।

सरकारले समूहगत खेलको लागि खेलकुद गतिविधि नगर्न निर्देशन छ । भीडभाड हुने खेलले कोभिड–१९ को जोखिम बढ्ने सम्भावना देखाउँदै सरकारले खुलाउने तर्फ भने खेलकुदलाई प्राथमिकतामा राखेको छैन् । पोखरामा निजी सवारी साधनदेखि बजार क्षेत्रका पसलहरु खुलेका छन् । लकडाउन खुकुलो भएसँगै बजार तथा सवारी साधन गुड्न र खुल्न थालेका हुन् । सरकारले भीडभाडमा अनिवार्य मास्क प्रयोग र दुई मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सन्देश नेपाल टेलिकमबाट प्रवाह गर्दै आएको छ ।

‘खेलकुदको समूहगत खेललाई प्रशिक्षण नगर्न र नगराउन परिपत्र अनुसार पोखरा रंगशाला खुलेको छैन्’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यलय प्रमुख प्रकाश बरालले भने–‘राष्ट्रिय खेलकुद परिषदबाट निर्देशन आएको अवस्थामा रंगशाला प्रशिक्षणको लागि खुल्ला गर्ने छौं ।’ खेलाडीहरु व्यक्तिगत रुपमा रंगशाला प्रवेश गर्ने गरेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत खेलाडीहरुले प्रशिक्षणको लागि रंगशाला खुला गर्नुपर्ने आवाज भने उठाउँदै आएका छन् ।

रंगशाला प्रवेश गर्ने खेलाडीह एवं सर्वसाधारणको विवरण संकलन समेत बुधबारदेखि शुरु गरिएको छ । त्यसभन्दा अघि रंगशाला प्रवेशद्वारमै प्रवेश गर्ने खेलाडी तथा अन्यको ज्वरो नाप्ने तथा अनिवार्य रुपमा साबुन पानीले हात धुन लगाईन्थ्यो । लामो समय रंगशाला बन्द हुदाँ प्रशिक्षण गर्न नपाएको गुनासो एकातिर खेलाडीहरुले गर्दै आएका छन् । स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै खेलाडीहरुले प्रशिक्षण गर्दै ‘स्वास्थ्य रहौं कोरोना भगाउ’ँ भन्ने सन्देश समेत हुने विश्वास लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here