पोखरा(खेलाडी न्युज)-वर्षदिनअघि एशियाली खेलकुदमा समावेश भएर रजत पदक जितेको प्याराग्लाइडिङ पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको छ । समावेशसँगै पहिलो दिनको प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाका प्रतिस्पर्धी भने स्वर्ण पदकको लागि प्रतिस्पर्धा कडा देखिएको छ ।

नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार प्रतियोगितामा एक्युरेसी र क्रसकन्ट्रीका विधामा महिला र पुरुषतर्फका टिम र एकल प्रतिश्पर्धा गरिरहेका छन् । पहिलो दिन शनिबार पुरुषतर्फ टिम क्रसकन्ट्रीमा गण्डकी प्रदेशले अग्रता लिएको छ । ३२९९ अंकका साथ गण्डकी पहिलो, ३१५९ अंकका साथ प्रदेश–३ दोश्रो र २७१५ अंकका साथ आर्मी तेश्रो स्थानमा छ ।

टिम एक्यूरेसीतर्फ विभागीय टिम सेनाले अग्रता लिएको छ । सेनाले १०७ अंकका साथ पहिलो स्थानमा छ । १८५ अंकका साथ गण्डकी प्रदेश दोश्रो र २४० अंकका साथ प्रदेश–१ तेश्रो स्थानमा छन् । त्यस्तै व्यक्तिगत तर्फको क्रसकन्ट्रीतर्फ प्रदेश–३ कृष्णबहादुर सुनार ९७२ अंकका साथ अग्रतामा छन् । आर्मीका बिशाल थापा ९६७ अंकका साथ दोश्रोस्थानमा छन् । ९०६ अंकका साथ गण्डकी प्रदेशका शेरबहादुर गुरुङ तेश्रो स्थानमा रहेका छन् ।
त्यस्तै इन्डिभिजुअल एक्युरेसीतर्फ आर्मीका सागर नेपाली ८ अंक बटुल्दै पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै ११ अंकका साथ गण्डकी प्रदेशका अनिश भट्टराई दोश्रो स्थानमा छन् । १३ अंकका साथ आर्मीका सागर जलारी तेश्रो स्थानमा छन् ।

महिलातर्फ भने इन्डिभिजुअलमा मात्र प्रतिश्पर्धा छ । महिलातर्फ इन्डिभिजुअल एक्युरेसीमा गण्डकीकी कविता तामाङ २७४ अंकका साथ पहिलो स्थानमा छिन् । दोश्रो स्थानमा प्रदेश–३ बी बिबि स्याङतान ३७१ अंकका साथ दोश्रो र गण्डकीकी प्रतिभा बोगटी ५०१ अंकका साथ तेश्रोस्थानमा छिन् । महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्रिमा गण्डकीकी त्रिशा बमजन २३१ अंकका साथ पहिलो स्थानमा छिन् । आर्मीका स्वस्तिका गुरुङ २६ अंकका दोश्रो र प्रदेश–१ की सुस्मिता सुनुवार २४ अंकका साथ तेश्रो स्थानमा छिन् । प्रतिस्पर्धा भने सोमबार टुंगिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here