पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्माणाधिन पोखरा रंगशालाको फुटबल मैदान  नेचुरल बनाउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । ‘अन्तराष्ट्रिय खेल नेचुरल(प्राकृतिक) मैदानमा खेलाउनुपर्ने नियम फिफाको छ । त्यही अनुसार ग्राउण्ड नेचुरल नै बनाउनुपर्छ ।’ मन्त्री बिकको भनाई थियो ।

फुटबल मैदान  एवं प्यारापिटको काम गुणस्तरीय हुनुपर्ने भन्दै गुणस्तरीयता नभए पास नै नहुने ठेकेदार कम्पनीलाई आदेश दिएका छन् । ठेकेदार कम्पनी केवल कामको मात्रै नभई नागरिकको कर्तव्य समेत पुरा गर्नु जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री बिकले कामको गुणस्तरीयता प्रति औंला ठड्याउने बातावरण नबनाउन आग्रह गरे ।

‘पुर्वाधार दीर्घकालिन अवस्थालाई हेरेर बनाउनुपर्छ । भविष्यमा पछुतो नहुने गरी काम गर्नुपर्छ ।’ मन्त्री बिकले शनिबार पोखरा रंगशालाभित्रको निर्माणाधिन फुटबल मैदान एवं प्यारापिटको निरीक्षण गर्दै भने–‘निर्माण सकिएपछि प्राविधिक चाँजपास नगर्दासम्म कुनै सम्झौता हुदैन् ।’ काममा गुणस्तरीय नहुदाँ पास नहुने भन्दै गुणस्तरीयताप्रति सचेत बन्न ठेकेदार कम्पनीलाई उनले निर्देशन समेत दिए ।

‘असार मसान्तसम्म सक्ने गरी काम गर्नुपर्छ । शिलान्यास हुदाँसम्म केही समय ढिलो हुन पुग्यो । त्यो समयलाई पनि मेकअप गर्ने गरी काम गर्नोस ।’ उनले भने–‘फाउण्डेशन बनाउँदा दर्शक क्षमता बढाउन मिल्ने गरी पुर्वाधार बनाउनुपर्छ । त्यसै अनुसार काम गर्नुस ।’

मन्त्री बिकले केही महिना अघिमात्रै पठाइएको १ करोड ३५ लाख बजेट अनुसार खेलकुदका पुर्वाधार निर्माणको कामको बारेमा समेत जानकारी लिएका थिए । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बजेटमा उल्लेख भए अनुसार ठाँउहरुको स्थलगत अध्ययन गरी उपभोक्ता समिति मार्फत सम्झौता टुग्याई काम अघि बढाईएको जानकारी गराए ।

ठेकेदार कम्पनीका प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानले तोकिएकै समयमा काम पुरा गर्न दिन रात(डे–नाईट) सिफ्टमा काम गरेर टुग्याउने बताए । ‘ढिलो भएको समयलाई रिकभरी गर्नुपर्छ भन्ने हेतुले नै डे नाईट सिफ्ट अनुसार काम गर्दै छौं ।’ उनको भनाई थियो । उनले पहिलो चरणमा फुटबल मैदान सम्याएपछि चारैतिरको लेआउट गर्ने बताए । न्यौपानले पोखरा रंगशालाकै गुरुयोजना नभएकोले पनि अहिले रंगशालाको गुरुयोजना बनाउन प्राविधिक खटाई नापचाजँ गरिएको सुनाए ।

फुटबल मैदान एवं प्यारापिट निर्माण गर्ने जिम्मेवारी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरी जिम्मेवारी दिइएको हो । १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको फुटबल मैदान बन्ने छ । जुन नेपालकै ठूलो र आधुनिक रंगशाला हुने दावी कम्पनीले गरेको छ । प्यारापिटसहितको फुटबल मैदान निर्माणले पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here