पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल मैदान १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अगावै पुरा हुने संघारमा छ । साग महिला फुटबल प्रतियोगिता पोखरेली फुटबलप्रेमीले आधुनिक प्यारापिटमा बसेर हेर्ने अवसर पाउने निश्चित छ । तर सिट भने केही कम जडान गरेर फुटबल प्रतियोगिता सञ्चालन गरिने छ ।

मनभित्र शंका र उपशंका थियो । शिलान्यास देखि नै समयमै फुटबल मैदान बन्छ र भन्ने सर्वसाधारणमा जिज्ञासा थियो । मनभित्रको शंका र सर्वसाधारणको जिज्ञासालाई मंसिरको पहिलो साता अघि नै ठेकेदार कम्पनीले मेटाउने छ । त्यसको लागि कोलकत्ताबाट घाँस ट्रकमा लोड गरेर आउने क्रममा छ । अर्को साता आईपुग्ने छ । दर्शकको लागि आवश्यक प्यारापिटको सिट पनि फ्रान्सबाट दुई महिनाभित्र पोखरा आईपुग्ने छ । ‘सिट नोभेम्बर ७ देखिबढीमा १२ तारिखसम्म आईपुग्ने छ ।’ मैदान निर्माणकर्ता भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘दुई प्राविधिकसहितको टोली पोखरा आउने छ । उनीहरुले नै बढीमा दुईसाताभित्र सिट जडान गर्ने छन् । हामीले सहयोगको लागि जनशक्ति मात्रै उपलब्ध गराउने छौं ।’

प्यारापिट स्टिल मोडुलर सिष्टमको हो । सिट धमाधम फोल्डिङ सिष्टमको नटबोल्ड कस्ने प्रकृतिको हो । सम्झौता अनुसार दर्शक क्षमता १६ हजार ५ सय राख्ने निश्चित गरिएको थियो । पछि फेरी ३ हजार ५ सय थप गर्ने सहमतिसँगै दर्शक क्षमता २० हजार पुर्याइने छ । तर साग अघि ती सबै सिट भने जडान हुदैनन् । ‘साग अघि हामीले ८ हजारदेखि बढीमा १० हजार सिट जडान गर्छौ ।’ उनले भने–‘ सामान पछि त्यही अनुसार आउने छ ।’ सिटको सामान फ्रान्सबाट पोखराको लागि प्रस्थान गरिसकेको उनले बताए । उनका अनुसार नोभेम्बरको दोस्रो साताभित्रमा पोखरा आईपुग्ने सामान स्वंय फ्रान्सेली प्राविधिकले नै जडान गर्ने छन् ।

मैदान वरिपरीको ट्रयाक एण्ड फिल्डको सामान जर्मनबाट आईसकेको छ । सिन्थेटिक ट्रयाक राख्नुपूर्व कालोपत्रे पीच गरिने उनले बताए । झरीले केही दिन लम्बिएको छ । कालोपत्रे पीच गरेपछि सिन्थेटिक ट्रयाक राख्ने काम पुरा गर्ने योजना कम्पनीले बनाएको छ । ट्रयाक र फुटबल मैदानमा घाँसको चपरी विछ्याउने काम लगभग एकै समयमा हुने सम्भावना देखिएको छ । कोलकत्ताबाट ६ वटा ट्रकमा ९ हजार टुक्रा(१० बर्ग फिट) आउने छ ।

फुटबल मैदान निर्माणले सागसँगै पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सहज हुने छ । पोखरामा कास्की जिल्ला फुटबल संघ र सहारा क्लबले अन्तराष्ट्रिय क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् । फुटबल मैदानको निर्माणसँगै पोखरामा आयोजना हुने साग महिला फुटबलले पनि फुटबलको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । राष्ट्रिय खेलुकद परिषदले साग महिला फुटबलको लागि लामाचौरको गोस्ते खेल मैदान र हेमजाको गौरीशंकर खेल मैदानलाई प्रशिक्षणस्थलको रुपमा विकास गरिरहेको छ ।

मैदानमा भीआईपी प्यारापिट, चेन्जिङ रुम तथा शौचालय निर्माणको काम धमाधक अगाडि बढेको छ । सटफुट र लङजम्प र त्रिपल जम्पको लागि समेत पुर्वाधार तयार गरिने छ । त्यसैरी कम्पनीले नै फुटबल प्रतियोगिताको लागि आवश्यक प्रशिक्षणस्थल(टे«निङ ग्राउण्ड) समेत निर्माण गर्ने जनाएको छ । pic by google/Agency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here