पोखरा(खेलाडी न्युज) -१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारी तिब्र रहँदा दोस्रो आयोजनास्थलको रुपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन् । लामो समयदेखि प्रशिक्षण ह्याण्डबल टोलीसँगै आर्चरी र व्याडमिन्टनको टोलीसँगै पछिल्लो समय बक्सिङ टोली पोखरा आईपुगेको छ । सोमबार मध्यरातमा आईपुगेको टोलीलाई कास्की जिल्ला बक्सिङ संघले मंगलबार विहान स्वागत गर्दैै पोखरा रंगशालामा उपलब्ध पुर्वाधारसँगै प्रशिक्षण सामाग्रीको बारे जानकारी दियो ।

चार प्रशिक्षकसँगै १६ खेलाडी पोखरा आईपुगेका छन् । केही खेलाडी अझै आउन बाँकी नै छन् । आउन बाँकी खेलाडीहरु चीनमा छन् । दुई व्यवस्थापक छन् । खेलाडीहरुमा महिला तर्फ ४९ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५७ केजीमा चन्द्रकला थापा र ६० केजी तौलमा संगीता सुनार छन् । त्यसैगरी पुरुष खेलाडीमा ४९ केजीमा शुशिल थापा मगर, ५६केजीमा पुरन राई, ६० केजीमा अनिल शाही, ६४ केजीमा भुपेन्द्र थापा, ६९ केजीमा विकास लामा र ९१ केजीमा आर्जुनसिंह गुरुङ छन् ।

प्रशिक्षकहरुमा मुख्य प्रशिक्षकको रुपमा प्रकाश थापा मगर छन् । बरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षकमा डम्बरदत्त भट्ट र विदेशी प्रशिक्षक उज्वेकिस्तानका अली शेर रहेका छन् । व्यवस्थापक तर्फ प्रमिला राई र प्रमे पौंउजु रहेका छन् । चीनबाट आउने खेलाडीको सूचीमा महिला तर्फ मिनु गुरुङ(५४ केजी) र पुनम रावल(६४ केजी छन् । पुरुष तर्फ तेजबहादुर देउजा(५२ केजी), दिपक श्रेष्ठ(७५ केजी) मनोहर बस्नेत(८० केजी), आशिष दुवाडी(९१ केजीमाथि) रहेको मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए । उनका अनुसार खेलाडीको विहान र बेलुकी नियमित रुपमा एक महिना प्रशिक्षण पोखरामै हुने छ ।

खेलाडी तथा अफिसियललाई कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष बुद्ध गुभाजूले स्वागत गरेका थिए । स्वागतमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीको समेत उपस्थिति थियो । स्वागत गर्दै संघका अध्यक्ष गुभाजूले पुर्वाधार र खेलसामाग्रीको अभाव रहेपनि खेलाडीहरुमा आत्मविश्वास हुनुपर्नेमा जोड दिए । ‘आठौं साग गेम्स नेपालीमै आयोजना हुदाँ बनाएको गर्विलो इतिहास १३ औंमा पनि कायम हुनुपर्छ ।’ उनको भनाई थियो ।

प्रशिक्षणको लागि पोखरा रंगशालास्थित सेमी कभर्ड हलमा रहेको एकमात्र बक्सिङ रिङमा प्रशिक्षण गराईने छ । खेलाडीलाई अन्य खेल सामाग्रीको उपलब्धता भने छैन् । आवश्यक खेल सामाग्रीकै अभावमा पोखरामा बन्द प्रशिक्षणमा रहने छन् । अफिसियल टोलीले पोखरा रंगशालाको प्रशिक्षणस्थलको अध्ययन गरेर फर्किएको थियो । प्रशिक्षण बुधबार विहानदेखि शुरु हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here