भेरिफिकेशन नदिदाँ पोखरा क्रिकेट मैदानको स्तरोन्नतिको काम रोकियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २८ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-बैंकले ‘विड बोण्ड’ भेरिफिकेशन नदिदाँ पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नतिको काम अनिश्चित बनेको छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदान स्तरोन्नित गर्न तीन करोड रुपैयाँ बजेटसहित टेण्डर आह्वान गरेको थियो । कोभिड–१९ कै महामारीको शुरुवाती समयमै आह्वान गरिएको टेण्डर तीन पटक म्याद थप गरेको थियो । दुई कम्पनीले अन्तिम समयमा चासो दिएको थियो । तर बैंकले भेरिफिकेशन नदिदाँ कम्पनीसँग परिषदले सम्झौता गर्न नसकेपछि पोखरा रंगशालाको क्रिकेट मैदान स्तरोन्नति गर्ने काम अनिश्चित बनेको हो ।

यतिबेला राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव विहीन छ । सदस्य सचिव विहीनले समय सम्झौता गर्न ढिलाई भएको राष्ट्रिय खेलकुद परिषदले नै जनाएको छ । ‘बैंकले भेरिफिकेशन दिएको छैन् । त्यसले गर्दा सम्झौता हुन सकेन् । सम्झौता नहुदाँ नयाँ आर्थिक वर्ष लागेपछि मात्रै फेरी प्रक्रियागत रुपमा अगाडि बढ्ने सम्भावना छ ।’ राष्ट्रिय खेलकुद परिषद पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले भने–‘सदस्य सचिव नहुदाँ समेत सम्झौतामा ढिलाई भएको हो ।’ सम्झौता नहुदाँ क्रिकेट मैदानलाई छुट्टाइएको रकम खातामै थन्किएको छ ।’ सदस्य सचिव नहुदाँ दबाव पुग्न सकेको छैन् ।

जुन बैंकमा काम गर्नको लागि धरौटी राखेको हो त्यही बैंकले भेरिफिकेशन गर्नुपर्छ । बैंक ग्यारेन्टी नहुदाँसम्म सम्झौता हुदैन् । सम्झौता नै नभएपछि क्रिकेट मैदानको काम भने ठप्पै भएको छ । टेण्डर फाईनल गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै मैदानको स्तरोन्नति गर्ने चाहना परिषदले राखेको थियो । परिषदको चाहनालाई कार्यान्वयन गर्न स्थानीयस्तरबाट कास्की जिल्ला क्रिकेट संघले समेत आवश्यक पहलकदमीसँगै तदारुकता देखाएको थियो । मैदानको लागि परिषदले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आयोजना गर्दा झण्डै २८ लाख रुपैयाँ खर्च गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरि प्रनिस ताम्राकारका अनुसार प्राक्टिस पीच, साईट स्क्रीन र दुईवटा मोवाईल शौचालय लगायतलाई २८ लाख रुपैयाँ खर्च गरिएको इन्जिनियर ताम्राकारले बताए । आउट फिल्ड लेभलिङ गर्नुपर्ने छ ।

छुट्टाइएको तीन करोड रुपैयाँको बजेटबाट मैदान वरिपरी पानीको निकासको लागि नाली, मैदान संरक्षण गर्न आन्तरिक फेन्सिङ, पीच निर्माणलाई प्राथमिकता राखेको थियो । त्यसपछि मैदानको दक्षिण क्षेत्रमा खेलाडीको लागि चेन्जिङ रुम निर्माण गर्ने योजना थियो । कास्की जिल्ला क्रिकेट संघ भने बजेट नहुदाँ मर्मत सम्भार र स्टोरको अभावले सामान थन्क्याउन नसकिएको बताउँदै आएको छ । त्यही बजेटबाट स्टोर निर्माण गर्ने योजना समेत रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ । सागकै समयमा ग्रास कटर, पीच रोलर, पीच कभर लगायतका सामान आएको थियो । ती सामान थन्क्याउन पनि स्टोर बनाउनुपर्नेमा उनको जोड थियो । file pic