पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला भारोत्तोलन संघले राजन बडगामीलाई फेरी अध्यक्षमा चयन गर्दै अधिवेशन टुग्याएको छ । चार वर्षे कार्यकालको लागि बडगामीले पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसरलाई सर्वसम्मतले पारित गरेको थियो । बिहीबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा उमेश सि.के, द्धितीय उपाध्यक्ष्मा रामजी घजु, सचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा ई.उत्तम उदास र सहसचिवमा डिकबहादुर राई रहेका छन् । यसैगरी सदस्यहरुमा गौतम उदास, प्रेमलाल श्रेष्ठ, पूर्ण श्रेष्ठ, देउबहादुर नेपाली, धनबहादुर झाक्री, पुष्प उदास, योगिता गुरुङ, बनिबता गुरुङ र बसन्ती गुरुङ रहेका छन् ।

लामो समयपछि संघले पोखरा रंगशालाभित्र प्रशिक्षणस्थल पाएको छ । बहुउद्देश्यीय कभर्डहलमा संघले एक महिना अघि मात्रै प्रशिक्षण शुरु गरेको थियो । दुई वर्ष अघि पोखरामा राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता आयोजना गरिएको थियो । नेपाल भारोत्तोलन संघले आवश्यक प्रशिक्षण सामाग्री पोखरालाई उपलब्ध गराईदिएपछि पोखरा रंगशालामा प्रशिक्षणस्थलको रुपमा विकास गरिएको हो । खेलाडीलाई पनि पोखरा रंगशालाबाट प्रशिक्षण गरेर फर्किदाँ गर्विलो अनुभूति हुने गरेको भन्दै संघका अध्यक्ष बडगामीले अब युवापुस्तालाई प्रोत्साहित गर्दै प्रशिक्षण शुरु गरिने बताए ।

‘अब नयाँ सोंचसहित अगाडि बढेका छौं ।’ उनले भने–‘नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको लागि अहिले देखि नै युवा लक्षित प्रशिक्षण शुरु गरिने छ ।’ कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख एवं निर्देशक विद्या मर्सानी, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदार लगायतले नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here