भोलिदेखि पोखरामा व्याडमिन्टन शुरुहुदैं, बंगलादेश र पाकिस्तान बीच मेन्स टिम इभेण्टको उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरेली खेलकुद इतिहासमै पहिलो पटक दक्षिण एशियाली खेलकुद(साग) हर्ने अवसरको प्रतिक्षा आजबाट सकिएको छ । आज आईतबारदेखि पोखरामा आयोजना हुने सागका ८ खेल मध्ये व्याडमिन्टन प्रतियोगिता शुरु हुदैै छ । पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, भारोत्तोलन, ह्याण्डबल, बिच भलिबल र आर्चरीका खेलहरु आयोजना हुने छन् ।

पोखरा रंगशालामा पुर्वाधार निर्माणपछि पहिलो पटक सागका खेलहरु आयोजनाको जिम्मेवारी पाएको हो । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद आयोजनासँगै खेलकुद शहरको उपमाबाट उदाएको पोखरामा दक्षिण एशियाली खेलकुद प्रतियोगिताको १३ औं सस्करणका ८ खेल आयोजना गर्ने सौभाग्य पाएको हो । सौभाग्य त्यस मानेमा पनि हो, पोखरा रंगशाला व्याडमिन्टन हलमा सातै देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सागका अन्य खेलमा भने सातै देशको सहभागिता छैन् ।

७ स्वर्ण, ७ रजत र १४ कास्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला व्याडमिन्टन संघले जनाएको छ । झण्डै साढे दुईमहिनाको अथक प्रयासपछि संघले अन्तराष्ट्रियस्तरको प्रतियोगिताा आयोजना गर्ने सम्भावनालाई जिवितै राख्दै आज आईतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उदघाटन गर्ने कार्यक्रम छ । पूर्वाधार निर्माणमा बीचमा देखिएको अन्यौलताले कमजोर बन्दै गएको अवस्थालाई चिर्दै संघले रात दिनको खटाईपछि हल पूर्ण रुपमा तयार पारेको हो । तयार पारिएको हलमा तीन वटा कोर्टमा प्रतिस्पर्धा गरिने छ । एउटा कोर्टमा भने दर्शकदीर्घको लागि प्यारापिट राखिएको छ ।

नेपाल र भारतका(महिला र पुरुष)१०÷१० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षकसहितको उपस्थिति छ । पुरुष १०, महिला १० खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ नङसाल तामाङ, रसिला महर्जन, जेसिका गुरुङ, सीमा राजवंशी, अनुमाया राई, अमिता गिरी, सीता राई, निता लम्साल, पुजा श्रेष्ठ र शोभा गौचन रहेका छन् । त्यसैगरी पुरुष खेलाडीमा रन्जित तामाङ, दिपेश धामी, विकास श्रेष्ठ,नविन श्रेष्ठ, प्रिन्स दाहाल, विष्णु कटवाल,प्रफुल महर्जन, सुनिल जोशी, सजनकृष्ण ताम्राकार र जीवन आचार्यले प्रतिस्पर्धा गर्ने छन् ।

भारतले पनि ब्याडमिन्टनमा निर्धारित कोटा अनुसार नै खेलाडीलाई सहभागिता गराउने छ । भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता गराउने छ । पाकिस्तानले ५ पुरुष, ५ महिला खेलाडीलाई कोर्टमा उतार्ने छ । बंगलादेशबाट ६ पुरुष, ६ महिला खेलाडीको सहभागिता रहेको छ । श्रीलंकाबाट ७ पुरुष, ७ महिला खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । भुटानको तर्फबाट सबैभन्दा कम खेलाडीलाई कोर्टमा उतार्ने छ । ४ पुरुष, २ महिला खेलडीले पदकको लागि प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । माल्दिभस्बाट भने ६ पुरुष, ६ महिला खेलाडी पोखरा आईपुगेका छन् ।

पोखरामा हुने ब्याडमिन्टन आईतबार शुरु भई शुक्रबार(२० गते) सम्म चल्ने छ । टिम इभेन्ट तर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुने तालिका छ । व्यक्तिगत इभेन्ट तर्फ मंसिंर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल र डबल्स , मिक्स्ड तर्फको प्रारम्भिक खेल हुने छन । १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाईनल खेल हुने तालिका रहेको छ । १९ गते सबै इभेन्टकाा सेमिफाइनल खेल हुने छ भने २० गते फाइनल खेल आयोजना हुने कार्यतालिका तय भएको कास्की जिल्ला व्याडमिन्टन संघका प्रथम उपाध्यक्ष नरबहादुर गुरुङले जनाकारी दिए । विहान साढे आठ बजे उदघाटन समारोह हुने छ । १० बजे खेल शुरु गरिने छ । उदघाटन खेल बंगलादेश र पाकिस्तान बीच मेन्स टिम इभेण्टमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए । pic by sudarshan ranjit