पोख(खेलाडी न्युज)-पोखरा महानगरपालिकाले खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी आयोजना गर्ने स्पोर्टस अवार्डको लागि बजेट विनियोजन गरेको छ । पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले बुधबार सातौं नगरसभा मार्फत आर्थिक वर्ष २०७७÷७८ मा बजेट सार्वजनिक गर्दै स्पोर्टस अवार्डलाई बजेटको व्यवस्था मिलाइएको उदघोष गरिन् । ‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाएको छु ।’ उपमेयर गुरुङले भनिन् । खेलुकद पत्रकार मञ्च गण्डकीले यसै वर्षदेखि स्पोर्टस अवार्डलाई प्रदेशस्तरीय बनाएको थियो । महानगरपालिकाले स्पोर्टस अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको यो सम्भवत पहिलो हो । स्पोर्टस अवार्डको लागि दुईलाख रुपैयाँ छुट्टाइएको छ । यद्यपी त्यो सार्वजनिक गरिएको बजेट बक्तव्यमा भने उल्लेख गरिएको छैन् ।

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि ६ अर्ब १९ करोडको बजेट विनियोजन गर्दा खेलकुद पूर्वाधार एवं प्रतियोगिता लगायतका खेलकुद गतिविधिको लागि केवल १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले पोखरामा सञ्चालन हुने पोखरा म्याराथनको लागि भने १० लाख रुपैया छुट्टाइएको छ । पोखरा महानगरपालिका वडा नं २० मौजामा निर्माणाधिन फुटबल मैदानसहितको पूर्वाधार विकासको लागि ५० लाख रुपैयाँ परेको छ । पूर्वाधार विकासको लागि यो नै सबैभन्दा बढी रकम हो । मौजामा निर्माणाधिन फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण गर्न बनाइएको विस्तृत परियोजना प्रतिवेदन अनुसार १६ करोड रुपैयाँको अुनमान गरिएको छ । पोखराको यो नै सबैभन्दा उचाईको खेल मैदान हुने छ । जुन समुद्री सतहदेखि १७ सय मिटरको उचाईमा छ ।

पोखरा महानगरपालिकाले महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्ने उल्लेख गरेको छ । आफनो नीति तथा कार्यक्रममा समावेश गरिएपनि महानगरपालिकाले त्यसको लागि एकमुष्ठ बजेट रहेको जनाएको छ । प्रदेश सरकारले पनि गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ । महानगरपालिकाले पनि अब खेलाडीलाई हौसला प्रदान गर्न सम्मान एवं पुरस्कारको व्यवस्था गर्ने उल्लेख गरेको हो ।

खेलकुदको विकास गर्ने खेलकुद कानूनलाई समय सापेक्ष बनाउने जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७५ ल्याएपछि प्रदेश, जिल्ला र स्थानीय तह(नगरपालिका तथा महानगरपालिका)मा खेलकुद ऐन तर्जुमा गर्नुपर्ने देखिएको छ । महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उपमेयर गुरुङले सुनाईन् ।

ऐन तर्जुमा नहुदाँ प्रदेश एवं जिल्ला तथा महानगरीय खेलकुद विकास समिति गठन हुन सकेको छैन् । प्रदेश तथा जिल्ला एवं स्थानीय तहमा खेलकुद विकास समिति गठन झण्डै डेढवर्षदेखि हुन सकेको छैन् । आगामी फागुनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुदैं छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलकुदको एकमुष्ठ बजेटबाटै छुट्टाईने छ । महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गरेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन तथा सहजीकरण गरिने छ । महानगरपालिकाले पोखरा¬–२० भलाम मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माणको योजनासहित काम अघि बढाईसकेको छ

महानगरपालिकाले स्वास्थ्यका लागि व्यायाममा जोड दिदैं टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिदैं विभिन्न १० ठाँउमा व्यायाम सामाग्री जडानको लागि बजेटको व्यवस्था मिलाइएको उल्लेख छ । महानगरपालिकाले विभिन्न डेढ दर्जन पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गरिसकेको छ । एक वडा एक खेल मैदानको नीति समेत अख्तियार गरेको महानगरपालिकाले २३ वटा वडामा भलिबल तथा व्याडमिन्टन कोर्ट निर्माण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here