पोखरा(खेलाडी न्युज)-कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको छ । महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाईमा फुटबल मैदानसहित खेलकुदका अन्य पुर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । ५ वर्षभित्रमा पुरा गर्ने दीर्घकालिन योजनासहित खेलकुद पुर्वाधार बनाउने लक्ष्य राखिएको छ । योजनाको लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । ‘महानगरपालिकाले नै डिपिआर तयार गरेको होे’ –पोखरा महानगरपालिकाका ईन्जिनियर राजु रेग्मीले भने–‘फुटबल मैदानसहित अन्य खेलकुदका पुर्वाधारलाई डिपिआरमा समेटिएको छ ।’ उनका अनुसार योजना पुरा हुदाँ १६ करोड रुपैयाँ खर्च हुने छ ।

मौजा महानगरपालिकाको दुर्गम वडाको रुपमा चिनिन्छ । सडक सञ्जालले छोएपनि प्रभावकारी भने छैन् । बजार क्षेत्रदेखि केही टाढा रहेको मौजामा फुटबल मैदान बनाउन गत वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो । यद्यपी डिपिआर तयार नहुदाँ कामलाई थाँती राखियो । ‘फुटबल मैदानसहित प्यारापिट निर्माण हुन्छ ’ उनले भने–‘त्यसबाहेक बास्केटबल र भलिबल कोर्ट समेत बनाईने छ ।’ भिरालो जमिनकै कारण ल्याण्डस्केप गरी निर्माण गरिने ईन्जिनियर रेग्मीले बताए ।

विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ । कास्कीकै अग्लो स्थानको फुटबल मैदान पोखरा महानगरपालिका वडा नं २० मौजाका वडाध्यक्ष सीम गुरुङले बताए । उनका अनुसार दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन महानगरपालिकासँगै स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो । मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here