पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जित्दा विश्व किर्तिमान कायम गरेकी नेपाली बलर अन्जली चन्द उत्कृष्ठ खेलाडीको पुरस्कार थापिन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो ।

फाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडन सहित मात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।

४ इनिङ्गमा ११.१ ओभर बलिङ्ग गर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै ४ इनिङ्गमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समाराविकर्मा उत्कृष्ट ब्याट्स्उमन घोषित भइन् ।विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रि विकास लम्साल, विशेष अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्यानका केन्द्रिय सदस्य ऋषि गौतम, क्यान गण्डकी अध्यक्ष देवेन्द्र प्रजु, क्यान कास्की अध्यक्ष सञ्जयकान्त सिग्देल, टुर्नामेण्ट डाइरेक्टर उत्तम कर्माचार्य लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here