Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-दक्षिण एशियाली खेलकुद(साग)मा महिला क्रिकेटलाई पहिलो पटक समावेश गरिएको छ । पहिलो सहभागितालाई स्वर्णिम बनाउने ध्यान सहभागि चारै देशको छ । त्यसमा पनि अझ घरेलु मैदानमा स्वर्ण जित्ने लक्ष्य, अपेक्षा र विश्वास घरेलु टोलीको छ । त्यही अभियानमा प्रशिक्षक जगत टमटा फरक भूमिकामा छन् । १४ वर्षपछि प्रशिक्षक टमता पोखरा फर्किएका हुन् । कास्की जिल्ला क्रिकेट प्रशिक्षकको रुपमा रहेर क्रिकेटको जग बसालेका टमटा अहिले महिला क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारीमा छन् । लक्ष्य एउटै छ–पहिलो सभागितामै स्वर्ण पदक जित्ने ।

महिला क्रिकेटमा नेपाल, श्रीलंका, बंगालदेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । चारै देशको लागि पोखराको मैदान भने नयाँ हुने छ । यद्यपी त्यही मैदानमै २०६८ सालमा महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । राष्ट्रिय प्रतियोगिता आयोजना हुदाँ र अहिलेको अवस्थामा मैदानको खासै फरकपन भने छैन् । पिच मर्मत सम्भार गरिएको छ । बाउण्ड्री भने उस्तै छ ।

महिला क्रिकेटमा माल्दिभ्स नयाँ प्रतिस्पर्धी हो । पोखराको मैदानमा नेपाली टोलीले पहिलो म्याच खेल्दै छ । दक्षिण एशियाली खेलकुद(साग)को १३ औं सस्करणसम्म आईपुग्दा महिला क्रिकेट पहिलो समावेश खेल हो । यसअघि समावेश थिएन् । त्यसैले पनि नेपाली टोलीलाई माल्दिभ्स नौलो प्रतिस्पर्धी बन्ने छ । अन्य दुईटोली श्रीलंका र बंगलादेश भने परिचित टोली हुन् । टेष्ट राष्ट्रको चुनौति पन्छाउन महिला टोली सक्षम रहेको आत्मविश्वास प्रशिक्षकसँग छ ।

नेपाली खेलकुदकै इतिहासमा सबैभन्दा लामो प्रशिक्षणको सौभाग्य समेत क्रिकेट टोलीले पाएको छ । झण्डै चारमहिनादेखि निरन्तर प्रशिक्षणमा रहेकोले पनि खेलाडीमा आत्मविश्वास बढी रहेको प्रशिक्षक जगत टमटा बताउँछन् । ‘तयारी राम्रो छ । सबै क्षेत्र राम्रो छ । चार महिना निरन्तर क्लोप क्याम्पमा बसे’ उनी भन्छन–‘क्याम्पमा बसेको यो निकै लामो समय हो । त्यसैले लक्ष्य पनि च्याम्पियन बन्ने हो ।’ केही महिना अघि मात्रै महिला खेलाडीहरु फ्रेन्चाईज लिग खेले । प्रशिक्षक टमटाका अनुसार खेलाडीहरु नियमित रुपमा क्रिकेटसँग ‘टच’मै रहेकोले पनि अहिले निकै राम्रो तयारी गरिएको छ ।

हिजो नेपाली खेलाडीको बलिङ मात्रै उत्कृष्ठ थियो । अहिले बलिङसँगै व्याटिङ र फिल्डिङमा विशेष ध्यान दिइएको छ । ‘श्रीलंका र बंगलादेश टेष्ट राष्ट्र हुन् । हाम्रो लागि माल्दिभ्सको टोली नयाँ हुने छ’ उनी भन्छन–‘सबै पक्ष राम्रो हुदाँ च्याम्पियन बन्ने लक्ष्य हो ।’ नेपालले माल्दिभ्ससँग कुनैपनि प्रकृतिको क्रिकेट खेलेको छैन् । टी–२० वुमन्स क्रिकेटमा नेपाली टोलीले बंगालदेश र श्रीलंकासँग प्रतिस्पर्धा गरिसकेको छ । ‘हिजोको अवस्थामा बंगलादेश र श्रीलंकासँग प्रदर्शन उत्कृष्ठ थियो’– प्रशिक्षक टमटा सम्झन्छन–‘तर अहिलेको परिवेश फरक छ । सबै पक्षमा सुधार गरिएको छ ।’

प्रशिक्षक टमटाका अनुसार ‘होम क्रिकेट’ भन्दा पनि राम्रो क्रिकेट खेल्ने हो । नेपाल क्रिकेट संघ(क्यान)को प्रतिबन्धले पनि नेपाली महिला क्रिकेट खासै फष्टाउन सकेको थिएन् । क्यान निलम्बन फुकुवापछि केही सहज भएको अपेक्षा गरिएको छ । अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा नगर्दा स्तर माथि उठन सकेको छैन् । ‘अन्तराष्ट्रिय प्रतिस्पर्धा, घरेलु प्रतिस्पर्धा कम हुनुले पनि खेलाडीको स्तर माथि उठन नसकेको यथार्थ हो’ उनी भन्छन–‘जति धेरै खेल खेल्यो उति बलिङ र व्याटिङ राम्रो हुने हो । अहिले चार महिनाको क्याम्पमा त्यसैलाई सुधार गरेका छौं । आशा गरौं पदक जित्छौ ।’

नेपाली टोली तीन दिन अघि मात्रै पोखरा आईपुगेको हो । आईपुगेको टोलीले पहिलो दिन पोखरा रंगशालाभित्रैको मैदानमा प्राक्टिस गर्यो । तर मैदानको तयारीले गर्दा चारै देशको टोलीलाई समयानुसार पोखरा नदीपुरस्थित नगरप्रशिक्षक केन्द्रमा प्राक्टिसको लागि तालिका तय गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल सुनाउँछन् । ‘मैदान वरिपरी काम भईरहेको छ । पिच बनाउने काम चलिरहेको छ ।’ उनी भन्छन–‘त्यसैले सागको लागि आईपुगेको टोलीलाई नगरप्रशिक्षण केन्द्रको मैदानमा प्रशिक्षण समय छुट्टाइएको छ ।’ प्रतियोगिताको लागि बंगालदेशी टोली मात्रै आईपुगेको छ । अन्य दुई देश श्रीलंका र माल्दिभ्सको टोली आईतबारसम्ममा आईपुग्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here