Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-अन्तिम दिन मिक्स्ड ट्रायथोलनमा रजत पदक जित्दै पोखरामा आयोजित ट्रायथोलन प्रतियोगिता टुंग्याएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार अन्तिम दिन मिक्स्ड ट्रायथोलनमा नेपाली टोलीले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा पुार गर्दै रजतमा चित्त बुझायो । योसँगै नेपाली टोलीले ट्रायथोलनबाट २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्यो । मिक्स्ड तर्फको प्रतिस्पर्धामा भारतले १ घण्टा ३५ मिनेट २० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेको थियो । श्रीलंकाले भने १ घण्टा ४१ मिनेट २१ सेकेण्डको समय लगाउँदै कास्य पदकमा खुम्चियो ।

तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङले र दुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले स्वर्ण पदक नेपाललाई दिलाएका थिए ।

दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढामगरले नेपालको लागि रजत पदक जितेकी थिईन् । सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स्ड टिम रिले ट्रायथोलनमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथोलनमा बसन्त थारुले नेपालको लागि कास्य पदक जितेका हुन् । नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरी कुल ४ पदकमा चित्त बुझाएको छ । कुल ५ स्वर्ण सहित १५ पदकका लागि साग अन्तरगतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो ।

ट्रायथोलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् । व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार दिने घोषणा गरेका हुन् । त्यसैगरी गण्डकी प्रदेश सांसद दिपक कोईरालाले समेत पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन् । उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैया दिने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here