Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबलको उपाधिको लागि घरेलु क्लब आदर्श युवाक्लबले पाहुना टोली लमजुङको त्रिवेणी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आर्दशले भीमाद युथ क्लब तनहुलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा लमजुङको त्रिवेणीले स्याङजाको होराईजन क्लबको चुनौतिलाई पन्छाउँदै फाईनल यात्रा तय गरेका हुन् ।

आर्दश युवा क्लब घरेलु मैदानमा टाईब्रेकरमा जित आत्मसात गर्दै मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितको फाईनल प्रवेश गरेको छ । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढीक खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाईनलमा कास्कीको आदर्श युवा क्लबले तनहुको भीमाद युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै फाईनलको ढोका खोल्यो ।

निर्धारित समयमा गोल रहित टुंगियो । थपिएको समयमा पनि दुवै टोली गोल गर्नै सकेनन् । निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा भीमाद युथ क्लबका दिपक थापाको पेनाल्टीलाई बचाउ गरेपछि आर्दश क्लबको भाग्योदय हुन पुग्यो । आर्दशका नियमित पाँचै खेलाडीले हानेको पेनाल्टी गोलमा परिणत भएको थियो । बेलप्रसाद गुरुङ, अर्जुन गुरुङ, समीर कार्की, सुलेमान थापा मगर र अर्जुन मगरको प्रहार गोलमा परिणत भएको हो । दिपक थापाको प्रहार रोकिएपछि दबावमा रहेको भीमादका अन्य तीन खेलाडीको पेनाल्टी भने सदुपयोग हुन पुग्यो । राजन श्रेष्ठ, सुमिन थापा, विनोद घिमिरेको प्रहार गोल भएपनि पोखराको मैदानमा जितको सम्भावना निकै टाढा रह्यो । पेनाल्टी बचाउ गरेका आर्दशका गोल किपर विश्वास क्षत्री म्यान अफ दि म्याचको हकदार बने । पुरस्कार स्वरुप ट्रफी प्राप्त गरे ।

दोस्रो सेमिफाईनल प्रतिस्पर्धामा लमजुङको त्रिवेणी क्लबले स्याङजाको होराईजन क्लबलाई ३–१ गोलले पराजित गर्दै फाईनल पक्का बनायो । खेलको तेस्रो मिनेटमै पछि परेको स्याङजाले मध्यान्तरपछि गोल फर्काउँदै लय समात्ने गरेको प्रयास असफल बन्यो । सन्दीप रानाले गोल गर्दै लमजुङको त्रिवेणीलाई अग्रता दिलाए । आशिक गुरुङले १३ औं मिनेटमा अर्को गोल थप्दै त्रिवेणीलाई दोब्बर अग्रता बनाउँदै जित तर्फ उन्मुख बनाए । ७२ औं मिनेटमा नवराज गुरुङले गोल थपेपछि त्रिवेणीको जित सुनिश्चित बन्यो ।

७५ औं मिनेटमा स्याङजाको लागि सरोजकुमार क्षत्रीले गोल फर्काउँदै प्रतिस्पर्धात्मक बनाउने सम्भावना बनाएपनि हार टार्न सकेनन् । म्यान अफ दि म्याचको पुरस्कार त्रिवेण क्लबका सन्दीप राना म्यान अफ म्याच घोषित भए । प्रतियोगितामा विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here