पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बक्सिङ संघले प्रथम यु–१९ युथ बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुलाई शनिबार सम्मान गरेको छ । शुक्रबार पदकसहित मेन्स तर्फ च्याम्पिनयन बनेर फर्किएको कास्कीको टिमलाई संघले शनिबार पोखरा रंगशालामै आयोजित कार्यक्रममा खादा लगाई सम्मान गरेको हो । च्याम्पियनसिपमा कास्कीले तीन स्वर्ण, एक रजत र दुई कास्य पदक जितेर फर्किएको थियो ।

च्याम्पियनसिपमा जेनिश गुरुङले स्वर्ण पदक जितेका थिए । उनी प्रतियोगितामै उत्कृष्ठ युथ बक्सरबाट समेत पुरस्कृत हुन पुगे । त्यसैगरी सुरज गुरुङ र निरज थापामगरले स्वर्ण पदक जितेका हुन् । महिला तर्फ अस्मिता बस्नेतले रजत पदक जितिन् । महिला तर्फ कास्कीको लागि पदक विजेता उनी मात्रै थिईन् । सरोज विक र रामबहादुर गरन्जा मगरले कास्य पदक जितेका थिए । टिम प्रशिक्षक तर्फ सविन गुरुङ र व्यवस्थापकमा क्याप्टेन लोकबहादुर गुरुङ सहभागि थिए ।

टोलीलाई संघका अध्यक्ष बुद्ध गुभाजू, संघका भुपु अध्यक्ष्मा मोतीराम गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, संघका सल्लाहकार मदन केसी लगायतले खादा लगाई सम्मान व्यक्त गरेका थिए । भुपु अध्यक्ष गुरुङले उत्कृष्ठ बक्सरलाई नगद १ हजार तथा समग्रटिमलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । सल्लाहकार केसीले भने बक्सिङ खेलको लागि आवश्यक उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here