पोखरा(खेलाडी न्युज)-विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ‘राष्ट्रपति रनिङ शिल्ड’को स्वरुप फेरिएको छ । विगतमा जिल्ला खेलकुद विकास समिति मार्फत जिल्लाका विद्यालयहरु बीच हुने प्रतिस्पर्धा अहिले स्थानीय निकायस्तरीय आयोजना गर्ने प्रावधान छ । स्थानीय निकायबाट छनोट भएका विद्यालयहरु बीचको अन्तिम प्रतिस्पर्धा भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हुने छ । त्यसपछि मात्रै जिल्ला च्याम्पियन घोषणा गरिने छ ।

नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को तेस्रो संशोधन (२०७६) अनुसार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजकले स्थानीय निकायस्तरीय प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका विद्यालयलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराउनुपर्ने प्रावधान छ । पहिलो चरणमा स्थानीय निकायका विद्यालयहरु बीच प्रतिस्पर्धा गराई छनोट भएका विद्यालयहरुले जिल्लास्तरीय प्रतियोगितामा समावेश हुने नियम छ ।

निर्देशिका अनुसार कास्कीका चार गाउँपालिकामा र एक महानगरपालिका छुट्टाछुट्टै रुपमा राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ । दुई गाँउपालिकामा प्रतियोगिता टुंगिसकेको छ । कास्कीको मादी र रुपा गाँउपालिकाले प्रतियोगिता टुग्याईसकेका छन् । मादी गाँउपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ(श्याम)ले राष्ट्रपति रनिङ शिल्ड गत चैत २८ र २९ गते नै टुग्याएको बताए । उनले दुई दिने प्रतियोगितामा विशेष गरी भलिबललाई मात्रै समावेश गरिएको जानकारी दिए । ‘बजेट थोरै थियो । स्कुल टाढा छन् । खेलाडीलाई आवासीय व्यवस्था मिलाउनुपर्ने बाध्यता थियो त्यही भएर १० माविलाई सहभागिता गराई भलिबल प्रतियोगिता आयोजना गरेर टुग्यायौ ।’ उनले भने–‘ यो वर्ष एथलेटिक्स लगायतका अन्य खेल समावेश गरिएन् । अर्को वर्ष समावेश गर्ने छौं ।’ मादीमा ५० वटा विद्यालय छन् ।

रुपा गाँउपालिकाले पनि यही बैशाख १८ र १९ गते प्रतियोगिता टुग्याईएको जनाएको छ । रुपा गाँउपालिकामा ३२ विद्यालय छन् । २२ वटा आधारभूत विद्यालय हुन भने १० वटा मावि छन् । ‘१० माविको सहभागितामा भलिबल, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन गरेर राष्ट्रपति रनिङ शिल्ड टुग्याईसक्यौं ।’ रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले बताए । स्थानीय निकायमा आयोजना गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता टुग्याउन युवा तथा खेलकुद मन्त्रालयले सम्बन्धित स्थानीय निकायलाई १÷१ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । मादीका अध्यक्ष गुरुङका अनुसार एक लाख रुपैयाँले नपुगेर गाउँपालिकाले पनि केही रकम व्यवस्थापन गरी टुग्याइएको छ । अब कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउपालिकासँगै महानगरपालिका भित्रका विद्यालयहरुलाई समेट्दै प्रतियोगिता सञ्चालन गर्नुपर्ने छ ।

‘बजेट आईसकेको छ । आएको बजेटले कप किन्न पनि पुग्दैन् । कसरी आयोजना गर्ने ।’ माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले भने–‘विद्यालयलाई परिपत्र पनि गरिसकेका छैनौं ।’ उनले जेठ महिनाभित्र आयोजना गर्ने तयारी गरिएको बताए । ‘बजेटले पुगेन भने नगर्न पनि सक्छौं ।’ उनको भनाई थियो । उनले राष्ट्रपति रनिङ शिल्डको लागि एकलाख रुपैयाँले नपुग्ने स्पष्ट पारे । गाँउपालिकामा ४६ वटा विद्यालय छन् । ३ बोर्डिङ र ४३ सामुदायिक विद्यालय छन् । लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानलाई आयोजनास्थल तोकिने छ ।

यता अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले भने बजेट आएपनि गाँउपालिकाको बैठकले मात्रै प्रतियोगिता बारे टुंगो लाग्ने बताए । ‘खेलस्थल र कुन कुन खेल समावेश गर्ने विषयमा छलफलबाट मात्रै टुग्याउँछौ ।’ उनले भने–‘छलफलले टुग्याएपछि जेठ महिनाभित्रैमा प्रतियोगिता आयोजना गरिने छ ।’ अन्नपूर्ण गाँउपालिकामा भने ५४ वटा विद्यालय छन् । दुई गाँउपालिकासँगै महानगरपालिकाले पनि प्रतियोगिता आयोजना गर्ने मिति तय गरिसकेको छैन् । महानगरपालिकामा अझ बढी विद्यालय छन् । सामुदायिक र बोर्डिङस्कुलहरु सञ्चालित छन् ।

विद्यालयस्तर देखि नै खेलकुदको विकास र खेलाडीको पहिचान र प्रवद्र्ध गर्ने उद्देश्यले वर्षेनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिदैं आएको छ । प्रतियोगिता विशेष गरी १८ वर्ष मुनिका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले भलिबल, एथलेटिक्स लगायतका विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । चारै गाउँपालिकासँगै महानगरपालिकाले पनि प्रतियोगिता टुग्याएपछि मात्रै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने कास्की जिल्ला खेलुकद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

‘चारै गाँउपालिका र महानगरपालिकाबाट छनोट भएका विद्यालयहरु बीच जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने छौ’ उनले भने–‘स्थानीय निकायको प्रतियोगिता टुग्याएपछि मात्रै जिल्लास्तरीय गरिने छ । जिल्लास्तरीयमा प्रतियोगितामा गाँउपालिका र महानगरपालिकाबाट छनोट भएका १० वटा विद्यालयको सहभागिता हुने छ ।’ विगतमा पोखरा रंगशालामै आयोजना गरिने विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्डमा दुरदराजका गाँउका विद्यालयहरु समावेश हुने सम्भावना निर्क कम थियो । अहिले स्थानीय निकायले नै आयोजना गर्ने भएपछि बढी भन्दा बढी विद्यालयको सहभागिता हुने विश्वास गरिएको छ । file pic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here