पोखरा(खेलाडी न्युज)-पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषदले लकडाउनकै समयमा टेण्डर आह्वान गर्यो । पहिलो पटक आह्वान गरिएको समय म्याद गुज्रियो । दोस्रो पटक म्याद थप गरियो । दोस्रो पटकको म्याद एक हप्ता मात्रै बाँकी छ । अर्थात (मे ११)बैशाख अन्तिम सातासम्म छ ।

मैदान स्तारोन्नति गर्न तीन करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेटले मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने अभियानसँगै टेण्डर आह्वान गरिएको थियो । टेण्डर आह्वान गरिएपनि लकडाउनकै कारण कम्पनीहरुले खासै चासो दिएका छैनन् । यही बैशाख २५ पछि गण्डकी प्रदेश सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै विकास निर्माणका कामलाई निरन्तरता दिने अभिव्यक्ति दिएको छ ।

‘लकडाउनले टेण्डर दोस्रो पटक म्याद थपियो ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक प्रनिस ताम्राकारले सुनाए । उनका अनुसार थपिएको म्याद यही बैशाख अन्तिम सातासम्म छ । मैदानको पीच पूर्ननिर्माण गर्नेदेखि तारबार लगाउनेसम्मको काम गर्ने उल्लेख छ । मैदान संरक्षण गर्न तारजाली(फेन्सिङ) लगाउने, नाला निर्माण गर्ने, दक्षिणी भेगमा पभेलियन बनाउने लगायतका कामहरु गरिने छ ।

मैदान मापदण्ड अनुसार बनाई आवश्यक फेन्सिङ लगाएर संरक्षण गर्नुपर्ने देखिएको छ । फेन्सिङ नहुदाँ असम्बन्धित व्यक्तिहरुको प्रवेशले समस्या सृजना हुदै आएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । फेन्सिङ नहुदाँ १३ औं दक्षिण एशियाली खेलकुद शुरु हुन भन्दा केही दिन अघि क्रिकेट पीचमै मोटरसाईकल कुदाइएको थियो ।

मैदान अलपत्र

लकडाउनकै बीचमा किर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट मैदान मर्मत सम्भार गरियो । दशरथ रंगाशाला पनि मर्मत सम्भार गरी चिटिक्क पारियो । तर पोखराको क्रिकेट मैदान भने हेर्न योग्य नै छैन् । मर्मत सम्भार गर्नुपर्ने खाँचो छ । पोखरा रंगशालाभित्रको क्रिकेट मैदान अहिले संरक्षण विहीन छ । संरक्षणप्रति खासै अभिरुची कास्की जिल्ला क्रिकेट संघले देखाएको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना हुदाँ ल्याइएको सामान समेत अलपत्र परेका छन् । नियमित पानी परेको छ । पानीले सामानमा क्षति पुगेको छ । त्यस तर्फ पनि गम्भीर बन्न तयार कोही छैनन् । पीचको माटो पानीले बगाएको छ । पीच ढाकेर नराख्दा फेरी लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थामा पुगेको छ । साईटस्क्रिन हावाले ढलाईदिएको पनि महिना दिनभन्दा बढी भईसक्यो ।

कास्की जिल्ला क्रिकेट संघ भने बजेट नहुदाँ मर्मत सम्भार र स्टोरको अभावले सामान थन्क्याउन नसकिएको स्पष्ट पारेको छ । ‘साग गेम्सको बजेट नै आएको छैन् । बजेट नआउँदा समस्या थपिएको छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘स्टोर पनि छैन् । स्टोर नहुदाँ सामान थन्क्याउन सकिएको छैन् ।’ उनले सामान अलपत्र परेको स्वीकार्छन् । थप्छन्–‘स्टोर नै छैन् । स्टोर नहुदाँ कतिपय सामान हराईसकेको छ ।’ उनले मैदान संरक्षणसँगै सामानको रेखदेख गर्न गार्ड(कर्मचारी) खटाउनुपर्ने जिल्ला खेलकुद विकास समितिसँग आग्रह गर्दै आएको छ । ‘संघलाई क्रिकेटका सामान राख्ने स्टोरको व्यवस्था गरिदिनुपर्छ ।’ उनको भनाई थियो ।

सागकै समयमा ग्रास कटर, पीच रोलर, पीच कभर लगायतका सामान आएको थियो । केही विग्रिएर थन्किएका छन् । केही चौरमै लठापत्रै राखिएको छ । पीच घाँसले ढाकिएको छ । ‘स्टोर नै नहुदाँ सामान बाहिरै राख्नुको विकल्प छैन्’ उनले भने–‘जिल्ला खेलकुद विकास समितिसँग स्टोरको व्यवस्था गरिदिन आग्रह गरेपनि सुनुवाई भएन् ।’ संघले राष्ट्रिय खेलकुद परिषदबाट बजेट उपलब्ध भएको अवस्थामा आफैंले स्टोर निर्माण गर्ने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here