पोखरा(खेलाडी न्युज)-माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा हिजो बुधवारदेखि गण्डकी प्रदेश क्लवस्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ । उदघाटन खेलमा आयोजकले विजयी शुरुवात गरेको छ । माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लबले बाग्लुङ जिल्ला फुटवल संघलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै सुखद शुरुवात गर्यो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । आयोजक त्रिशक्ति युनाईटेड क्लबका विवेक सन्तोषी म्यान अफ दी म्याच बने । उनले निर्धारित समयमा गोल गरेका थिए । संघका निशान थापाले गोल गर्दै खेल प्रतिस्पर्धात्मक बन्न पुग्यो ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ । १२ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले ७७ हजार सात सय ७७ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उदघाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए । मन्त्री विश्वकर्माले मन्त्रालयले सबै स्थानीय तहमा एक खेलमैदान बनाउने तयारी गरेको स्पष्ट पार्दै सोही अनुसार लाहाचोक खेलमैदानको स्तरोन्नती गरिने बताए । उनले मैदानको स्तरोन्नतिको लागि यसै महिनाभित्रमा ५० लाख विनियोजन गर्ने प्रतिबद्धता गरे ।

प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा खेल व्यवसायको रुपमा विकास हुँदै जानु पछिल्लो समयको सकारात्मक पक्ष भएको औँल्याइन् ।गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले खेललाई राष्ट्रिय स्तरमा मात्रै ध्यान नदिई स्थानीय स्तरमा पनि ध्यान दिनुपर्ने जनाए । प्रतियोगिताको मुख्य प्रायोजक भिजन लुम्बिनी प्रालिका अध्यक्ष जगतबहादुर पोखरेलले प्रालि युवालाई लगानीमा जोडी आर्थिक समृद्घिको बाटोमा लम्केको भनाई राखे।अखिल नेपाल फुटवल संघका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले मैदानको स्तरोन्नसतमा जोड दिर्दै भिडावारीमा एन्फा एकेडेमीको चाँडै शिलान्यास हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here