पोखरा(खेलाडी न्युज)-पहिलो पटक पोखराको फेवाताल किनारमा आयोजित अन्तराष्ट्रिय विच भलिबल प्रतियोगितामा नेपाली महिला दुवै टोलीले सेमिफाईनल सुरक्षित गर्दा पुरुषका दुवै टोली क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । महिला टोलीले दुवै खेल श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छन् ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला विच भलिबलमा विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले माल्दिभ्सका बी समूहका अमिनाथ रसिदा र इब्राहिम साफ्नाको जोडीलाई २१–५, २१–६ को सोझो सेटले पराजित गर्दै सेमिफाईनल तय गरेका हुन् । त्यसैगरी कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले माल्दिभ्सको समूह एलाई २१–१२, २१–१२ कै सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेका हुन् ।

नेपाली महिला टोलीको समूह बीले कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले सेमिफाईनलमा श्रीलंकन समूह बीका गेदेरा दिपिका र मादुसिनी वारेसिंगेको जोडीसँग खेल्ने छन् । त्यसैगरी विनिता बुढाथोकी र नेविका चौधरीले श्रीलंकन समूह ए अन्तर्गत थारुका लाकासिनी र दिनेशा प्रशादानीको जोडीसँग खेल्ने छन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा नेपाली टोली समूह बीका राजु विक र सन्जु शाहको जोडी क्वार्टरफाईनलमा श्रीलंकन समूह बीका इन्दिका थिरोन र जयन सानुजाको जोडीसँग २१–१५, २१–१० को सेटमा पराजित भएका थिए । नेपालको समूह एका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पाकिस्तानी समूह बी का रज्जाक मोहम्मद र वासिन मोहम्मदको जोडीसँगै २१–१५, १५–२१ र १५–१० को सेटमा पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here