धन बस्नेत, पोखरा- मेहनत र लगनशिलताले मात्रै खेलाडीले आफनो गन्तव्य बनाउँछ । पदकको आशा गर्छ । अनि अन्तिममा प्रशिक्षण गर्ने लक्ष्य कोर्छ । विना मेहनत खेलाडीले आफनो अस्थित्व जोगाउन सक्दैन् । पलायनको अवस्थामा पुग्छ । निरन्तरताको लगानीले मात्रै प्रतिफल पाईन्छ । त्यसको उदाहरण हो दिपकबहादुर गोदार ।

स्कुले जीवनबाट मार्शल आर्ट तर्फ आर्कषित गोदार उमेर ढल्कदैं गएपछि प्रशिक्षणमा व्यस्त छन् । यद्यपी जोश र जाँगर भने खेलाडीको भन्दा बढी नै चाहिन्छ । जुन प्रशिक्षणको दौरानमा प्रष्ट देखिन्छ । १४ वर्षकै उमेरबाट उनी खेलकुद क्षेत्रमा होमिएका हुन् । त्यसमा पनि बक्सिङ । टिभीमा बक्सिङ खेलको प्रत्यक्ष प्रशारण जस्तै गरी हेर्न पाईएपछि उनको मन पनि बक्सिङमै ढल्कियो । प्रेरणाको स्रोत बने सुरेश मल्ल र गणेशबहादुर भट्टराई । दुवै बक्सिङका साफ मेडलिष्ट समेत हुन् । उनीहरुकै सिको गर्दै बक्सिङ खेल्न थालेका गोदारले कालान्तरमा आईपुग्दा मुवाथाईलाई आफनो खेलकुद धान्ने साधन बनाईरहेका छन् ।

कलिलै उमेरमा खासै सोच्न भ्याईसक्ने अवस्था पनि थिएन् । अरुले खेलेको देखेर बक्सिङमा छिरेको गोदार तीन वर्षपछि कराँतेमा रुमलिए । ‘खेल्दा रगत आउँथ्यो । घरपरिवारको गाली खाईन्थ्यो । तर पनि खेलप्रतिको अभिरुचिले तगारो भने हालेन् ।’ उनीले विगतलाई सम्झिए–‘स्कुलै हापेर भएपनि खेल्न गइन्थ्यो ।’ २०५२ सालमा कराँते त्यसमा पनि फुल कन्ट्याक्टमा झोसिए । कमाई थिएन् । परिवारको साथ थिएन् । त्यसैबेला काम लाग्यो साथीभाइ ।

झिसमिसेमा पोखरा रंगशाला छिर्यो । सबै ठाँउ खुल्ला थियो । पुरानो भवनको बरण्डामा कराँते प्रशिक्षण हुन्थ्यो । त्यही गएर जोईन भए । कराँतेमा निशुल्क प्रशिक्षण थिएन् । शुल्क तिर्नुपर्ने अनि पोशाक पनि किन्नु पर्ने । पैसा नहुदाँ उनलाई कराँते खेल्न जोस्सयाए हिमाल खड्काले । उनै खड्काले कराँतेको फि(शुल्क) तिरिदिए । त्यतिबेला लाग्यो सबैभन्दा ठूलो गुन नै उनले लगाए । ‘फि तिर्ने पैसा थिएन् । हिमाल खड्काले पैसा तिरिदिएपछि खेल्न थालियो ।’ उनी कराँते खेलको पुराना स्मरणलाई मानसपटलमा सम्झिए ।

समय एकैनास पक्कै हुदैन् । उनमा पनि लागु भयो । हिजो खेल्दा रगत आउने, हात खुट्ट सुन्निने हुदाँ परिवारले खेल्न रोक लगाउँथे । समय वित्दै गएपछि घरभित्र पदक र ट्रफी छिर्न थालेपछि परिवारको पनि सहयोग हुदैं गयो । परिवारको सहयोग हुन थालेपछि उनले आफनो भित्रैदेखिको खेलकुदप्रतिको चाहनालाई चंगासरी आकाशमा उडाउने अवसरको रुपमा अनुसरण गरे । त्यसपछि उनको खेलकुद रफ्ता निकै अगाडि बढ्यो ।

एकपछि अर्को पदक घरभित्र छिर्यो । परिवारको साथ । लुरे, बाँसजस्तो सिठ्ठा ज्यान । २०५६ सालमा आईपुग्दा उनले बल्ल जिल्लास्तरीय कराँतेमा आफुलाई एरिनामा उभ्याए । पहिलो सहभागितामै स्वर्ण पदक जितेपछि मन फुरुङ्ग बन्यो । जोश जाँगर र हौसला एकैसाथ शीरमाथि आईपुग्यो । धरानमा आयोजित कराँते फष्ट च्याम्पियनसिपमा समेत उनकै नाममा स्वर्ण लेखियो । अल नेपाल हेभिवेट कराँते च्याम्पियनसिपमा दोस्रो पदकमै चिक्त बुझाए । उमेरमा उनले ५१ वटा जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेले । जसमा ३२ पदक जिते । ५४ केजी तौल समूहको ठिटोले १०५ केजी तौलको हेभिवेटसँग समेत भिड्न उनलाई खासै डर भने लागेन् । आँट र दृढ विश्वासले उनलाई आफनो प्रतिस्पर्धीलाई अब्बल देख्दैन्थे ।

बक्सिङको पृष्ठभूमि र कराँतेको बर्तमान सिकाई र भोगाईले उनलाई मुवाथाई पनि अग्रसरता देखायो । २०६१ मुवाथाई तर्फ केन्द्रीत भए । त्यसको एकवर्षपछि राष्ट्रिय खेलकुद परिषदले दिएको एनएस टे«निङमा कराँतेबाट लिए । त्यस लगत्तै उनी मुवाथाईको प्रशिक्षक बन्ने अभिलाषामा थाईल्याण्ड हिडे । थाईल्याण्डमा ४५ दिने तालिमपछि मुवाथाई किक बक्सिङको सी लाईसेन्स प्राप्त प्रशिक्षकको रुपमा दरिए । उनी नेपालकै पहिलो मध्येका मुवाथाई प्रशिक्षक समेत हुन् । थाईल्याण्डमा मात्रै उनले दोस्रो पटक १५ र तेस्रो पटक १० दिन प्रशिक्षण लिएर फर्किएका थिए ।

थाईल्याण्डको प्रशिक्षणपछि केहीसमय आफैंपनि प्रतिस्पर्धी बन्दै एरिनामा उभ्भिए । भारतको बंैगलोरमा खेल्न पुगे । एशियन मुवाथाई च्याम्पियनसिप खेल्न थाईल्याण्ड हानिए । अघिल्लो दुई सहभागितामा सीमित भएका गोदारले दिल्लीमा भने विश्व किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेपछि खेल जीवनको उत्तरार्थ तर्फ लम्किदै गईसकेको थियो । त्यसपछि उनी निरन्तर मुवाथाईको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आईरहेका छन् ।

उनैले प्रशिक्षण गरेको खेलाडी कुमार थापा कोरियामा आयोजित किकबक्सिङ च्याम्पियनसिपमा दोस्रो पटक जित्दै नेपालको गरिमालाई उच्च बनाए । टर्कीबाट मुवाथाई किक बक्सिङको बी लाईसेन्स लिएर फर्किएपछि पूर्ण रुपमा प्रशिक्षणकै भूमिकामा रहदै आएका छन् ।
…………………..
पुरुषको सफलतामा नारीको हात हुन्छ । यस्तै भनिन्छ । सायद उनीमा पनि यो लागु हुन्छ । श्रीमतीको साथ र सहयोगले अहिले घरपरिवार भन्दा पनि खेलकुदलाई बढी ध्यान दिन्छन् । परिवार श्रीमतीले सम्हाल्दिने र आफु भने विभिन्न ठाँउमा प्रशिक्षण गर्दै हिड्ने गरेका छन् ।

सिक्दा र सिकाउँदा धेरै अन्तर छ । हिजो बक्सिङ, कराँते सिक्दा झरी बादल ओत लाग्ने भन्ने नै थिएन् । ध्यान केवल सिक्नै थियो । आवश्यक खेल सामाग्रीकै अभाव भएपछि प्रशिक्षण गर्नुपर्छ भन्ने भावना मात्रै थियो । ‘हिजो सिक्ने बेलामा खेलकुदको सामाग्री पर्याप्त थिएन् ।’ उनी भन्छन्–‘अहिले साथीभाइले सहयोग गर्दै आएका छन् । सामानको अभावले प्रशिक्षण रोक्ने अवस्था छैन् ।’ झाडीमा शौच गर्नुपर्ने, घरबाटै पानीको व्यवस्थापन गर्नुपर्ने थियो । तर अहिले खेलाडीलाई त्यस्तो कठिन परिस्थिति भने छैन् ।

खेलाडी हुदाँको पीडाको अनुभव उनीसँग छ । अहिले कास्की जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दाको अनुभव पनि छ । ‘तर फरक मात्रै के हो भने हिजो खेलाडीले अभावै अभावमा खेल्नुपर्ने बाध्यता थियो । त्यो अहिलेको अवस्थामा भने छैन् ।’ प्रशिक्षणको लागि पर्याप्त पुर्वाधार त अहिले पनि छैन तरपनि भएको हललाई सबैले आलोपालो गर्दै प्रशिक्षण गराउँदै आएको सुनाउँछन् । आन्तरिक स्रोत थिएन् । अहिले आन्तरिक स्रोत भएकै कारण खेलाडीलाई खेल्न जाँदा डाईटको व्यवस्था, टिकटको व्यवस्था समेत गर्दै आएको छ ।

जिम्मेवारी पदमा आएपछि खेलाडीको मर्कालाई आफनै ठान्दै आएका छन् । खेलाडीको मर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनालाई कार्यालय प्रमुख प्रकाश बरालले समेत सहयोग गर्दै आएको सुनाउन पछि पर्दैनन् । उनको खेलमा सहयोगी हात आफनै भिनाजुको पनि छ । भिनाजु विष्णु कार्कीले काठमाडौं हुने प्रतिस्पर्धामा उत्रिनुपर्ने अवस्थामा आर्थिक सहयोग जुटाई बस चढाउँदै आएका थिए । त्यो गुन पनि खेल जीवनमा निकै प्रेरणाकै रुपमा रह्यो ।

आर्थिक अभावकै कारण विदेशमा खेल्न जान नपाएको पीडा उनको अझै ताजै छ । पाकिस्तानको कराँतीमा एशियन क्योकुशिन कराँते च्याम्पियनमा खेल्न पाउनु नै ठूलो कुरो थियो । तर पैसाको अभावले उनी रोकिए । त्यस्तो पीडा भने अहिले खेलाडीसँग छैन् । सबैले सहयोग जुटाउँछन् । जिल्ला खेलकुद विकास समितिले पनि आफनो दायित्व बोध गर्दै खेलाडीलाई सहयोग ् । जुटाईदिदै आएको छ । महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ । मिलन फाउण्डेशन र आफनै चेला विवेक कार्कीले पहिलो पटक मुवाथाईको खेल सामाग्री सहयोग गरेका थिए ।

मनभरी पीडा र चोट भएपनि प्रशिक्षकको एउटै लक्ष्य हुन्छ खेलाडी उत्पादन गर्ने । कराँतेको प्रशिक्षणको दौरानमा कराँते खेलाडी झरना गुरुङलाई उत्कृष्ठ खेलाडको रुपमा उदय गराए । त्यसको जस उनै गोदारलाई नै जान्छ । यद्यपी झरना पछिल्लो एक दशक यता उसु खेल्दै देशको लागि पदक समेत जितिसकेकी छिन् । गुरुङ अहिले उसुको सहायक प्रशिक्षक समेत हुन् । नवराज गुरुङ उनको मुवाथाई किक बक्सिङका राम्रा र अनुशासिशत चेला हुन् । जसले तुर्किमिस्तानमा समेत सहभागिता जनाई फर्किएका थिए । हुन त उनका अन्य चेला नभएका पनि होईनन् ।

नियमित प्रशिक्षणमा व्यस्त छन् । स्वेदशी मात्रै नभई विदेशी खेलाडी पनि मुवाथाई सिक्न विदेशबाट उनको नामै लिएर पोखरा रंगशाला आउने गरेका छन् । खेलकुदकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उनको ध्येय छ । आँट र आफुभित्रको दृढ विश्वासले उनलाई अहिलेको अवस्थासम्म पुर्याएको हो । भन्छन–‘आफुसँगै खेलेका साथीभाइ सिंगापुरे र ब्रिटिस आर्मीमा भर्ती हुदैं लाहुरे भए । उर्जासिल समय खेलकुदमै लागेर विताए । त्यही प्रशिक्षण नै आम्दानीको स्रोत बन्न पुग्यो । जसले समर्पित गर्न सिकायो । खेलकुदकै माध्यमबाट नेपाललाई चिनाउँदै खेलाडी उत्पादनमा अहोरात्र खटिने र खेलकुदमै जीवन आहुती दिने छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here