पोखरा(खेलाडी न्युज)-फुटबलको कुम्भ मेला रसियामा एकदिनपछि शुरु हुदैै छ । जेठ ३१ गतेदेखि एकमहिना फुटबलको ज्वरोले सबैलाई छुन्छ । फुटबलको ज्वरोले मात्रै नभई पछिल्लो समय ठूला प्रतियोगिता आयोजना हुदाँ सट्टेबाजी हुने गरेको छ । फुटबल र क्रिकेटमा बढी मात्रामा सट्टेबाजीको चलखेल हुने गरेको छ ।

विश्वकपकै समयमा हुने सट्टेबाजीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेध गरेको छ । सट्टेबाजी गरेको पाईए आवश्यक कानूनी कारवाही समेत गर्ने प्रशासनले जनाउँदै सार्वजनिक सूचना जारी गरेको छ । मंगलबार सार्वजनिक सूचना गर्दै प्रशासनले विगतको वर्षहरुमा झैं प्रोजेक्टरमा फुटबल प्रतियोगिताका खेलहरु देखाई आर्थिक कारोबार गर्न समेत रोक लगाएको छ ।

निश्चित आफनो परिधिभित्र मात्रै खेल प्रदर्शन गर्न र गराउन प्रशासनको निर्देशन छ । सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीद्वारा हस्ताक्षरित सूचना अनुसार खेल प्रदर्शनस्थल भित्र प्रवेश शुल्क लिइएको अवस्थामा समेत कानूनी भागिदारी हुने छन् । सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा भने मादक पदार्थ खरीद तथा विक्री, ओसारपोसार तथा सेवन गर्न नपाइने सूचीत गरिएको छ ।

प्रदर्शनी स्थालमा कुनैपनि माल सामानको व्यापार व्यवसाय र खरीद विक्री सम्बन्धी कुनैपनि व्यवस्था गर्न नपाईने सूचनामा उल्लेख छ । निजी प्रतिष्ठानको हकमा खेलको विषयलाई समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न अवाश्यक जनशक्ति र सिसीटिभी निगरानी व्यवस्था गरिएको हुनुपर्ने जनाइएको छ ।

प्रतिस्पर्धी देशहरु बीचको खेलमा सट्टेबाजी हुने गर्छ । त्यसलाई ध्यानमा राख्दै प्रशासनले हरेक क्षेत्रलाई सुरक्षाको निगरानीमा राख्नुपर्ने खाँचौ समेत औंल्याएको छ । सडकमै प्रोजेक्टरमा फुटबलको महा भिडन्तहरु देखाउने प्रचलन समेत उत्तिकै छ । त्यसले गर्दा ट्राफिक व्यवस्थामा समस्या हुने जनाउँदै प्रशासनले सर्वाजनिक स्थलमा हुने प्रदर्शनले अव्यवस्थित रुपमा पार्किङ गरी हुने सक्ने ट्राफिक एवं सार्वजनिक आवागमनलाई अवरोध गर्न नपाईने उल्लेख छ ।

दर्शकले आफनो देशको समर्थनमा होहल्ला र जितको खुशीयाली मनाउँदा ध्वनि प्रदुषण हुने सम्भावना हुन्छ । रातको समयमा हुने फुटबलले होहल्लाको स्थिति निम्त्याउने भन्दै प्रशासनले टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पर्न नपाइने सूचित गरेको छ । प्रदर्शनस्थलमा भएको कुनै गतविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पतिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवार आयोजक आफैं हुनुपर्ने प्रशासनको सूचनामा लेखिएको छ । कुनैपनि खेलपुर्व प्रदर्शन गर्नुपरेमा आयोजकले शान्ति सुरक्षाको लागि स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्रै प्रदर्शनको व्यवस्था मिलाउनुपर्ने प्रशासनले परिपत्र गरेको छ । प्रदर्शनीस्थालको फोहोर व्यवस्थाप आयोजक स्वयंले गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here