Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-सहारा क्लबले एकेडेमी शुरु गरेको १७ वर्ष वित्यो । १७ वर्षमा फुटबलमा धेरे उतार चढाव भए । आफैंले गोल्डकप सञ्चालन गरेर १६ औं सस्करण टुग्यायो । १२ वर्षमा खोला पनि फर्कन्छ भन्ने नेपाली उखानलाई समेत यथार्थमा परिणत गर्यो । १२ औं सस्करणको आहा रारा गोल्डकपको उपाधि समेत सहारा क्लबले घरेलु भूमीमै चुम्यो । एकेडेमीलाई व्यवस्थित बनाउन फुटबल मैदान तथा एकेडेमी भवन(आवास÷होस्टेल) समेत निर्माण गर्यो । अक्षयकोष स्थापित गर्दै लक्ष्यमा पुग्ने आशा, विश्वास र भरासो गरिरहेको छ । तर फुटबलको डेढदशक एकेडेमी सञ्चालन गरेको सहारा क्लबले भने फुटबल खेलाडी उत्पादनमा लिएको लक्ष्यमा पुग्न अझै सकेको छैन् ।

डेढदशकको एकेडेमीको यात्रामा सहाराले औंलामा गन्ने बाहेक अन्य खेलाडीलाई नेपाली फुटबलको राष्ट्रिय जर्सीमा सूचीकृत गर्न सकेको छैन् । ए डिभिजनको क्लबमा पनि खासै प्रभावशाली रुपमा एकेडेमीका खेलाडी छिर्न सकेका छैनन् । २०५८ सालमा आवासिय एकेडेमी नहुदाँ सहाराले शुरु गरेको एकेडेमी(प्रशिक्षण)बाट उत्पादित अनिल गुरुङको नाम अगाडि आउँछ । तर उनीपछिको पुस्ताले भने फुटबलमा राष्ट्रिय जर्सी लगाउनै सकेको अवस्था छैन् । क्लबले सामाजिक उत्तर दायित्व बहन गर्दै जिम्मेवारी पुरा गरेको छ तर फुटबलमा जुन लक्ष्य हासिल गर्नुपर्ने थियो हासिल नभएको स्वयं सहारा क्लबका निर्वमान अध्यक्ष बीरभद्र आचार्यले नै स्वीकार्छन् ।

‘सहाराले सामाजिक उत्तरदायित्वको बहन पूर्ण रुपमा गरेको छ । तर फुटबलमा जुन लक्ष्य हासिल गर्नुपर्ने थियो । त्यो सफलता हासिल गरिसकेको अवस्था यथार्थमा छैन् ।’ निर्वतमान अध्यक्ष आर्चायले भने–‘फुटबलको लक्ष्य समेत हासिल गर्ने अभियानमा छौंं । त्यसको लागि अखिल नेपाल फुटबल संघको कार्ययोजना कस्तो आउँछ । त्यो पर्खिराखेका छौं ।’ उनले अखिल नेपाल फुटबल संघले बनाउने कार्ययोजना अनुसार मोसफलका फुटबल क्लबले लिग खेल्ने अवसर, लिग खेल्नको लागि आवश्यक आयस्रोतको बास्तविक अवस्था, खेलाडी राख्ने सक्ने क्षमता, पुर्वाधार लगायतका विषयमा निर्णय गरे सहाराले त्यो लक्ष्य पुरा गर्ने छ ।

खेलाडीले लिग खेल्ने अवसर नै नपाउँदा मोफसलमा हुने नकाउट फुटबलले मात्रै खेलाडीलाई राख्न नसकिने प्रष्ट पारे । ‘लिगमा खेल्ने अवसर सृजना भयो र क्लबले खेल्न थालेको अवस्थामा खेलाडी उत्पादनमा हामीले लिएको लक्ष्य बल्ल पुरा हुन्छ ।’ उनका े भनाई थियो । अहिले तेस्रो चरणको एकेडेमी पनि एक दशक पुग्नै आँट्यो । २८ जना विभिन्न जिल्लाका अनाथ बालकहरु एकेडेमीमा आश्रित छन् । उनीहरुको दैनिकी फुटबल खेल्ने र पढाई पुरा गर्ने मात्रै छ । नियमित प्रशिक्षणले पनि खेलाडी उत्पादन हुनै सकेको अवस्था भने छैन् ।

भविष्यमा लिगको बातावरण बनेको अवस्थामा क्लबले सामाजिक उत्तरदायित्व बहन गर्न अनाथ बालकलाई छुट्टै र खेलाडी उत्पादनको लागि छनोट गरेर छुट्टै राखी प्रशिक्षण शुरु गरिने योजना समेत रहेको अध्यक्ष आचार्य बताउँछन् । हुन त यतिबेला सहारा क्लबसँग आफनै एकेडेमीलाई प्रशिक्षण गराउने फुटबल प्रशिक्षक समेत छैन् । सहारा क्लबका मानार्थ सदस्य समेत रहेका कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले पनि क्लबले फुटबलमा गरेको लगानी अनुसार खेलाडी उत्पादन नभएको बताउँछन् ।

‘क्लबले फुटबलमा गरेको लगानी अनुसार खेलाडी उत्पादन भएको छैन् । भविष्यमा लक्ष्य हासिल हुन्छ आशा गरौं ।’ फुटबल संघका पुर्व अध्यक्ष गुरुङले भने–‘लक्ष्य हासिलको लागि निस्वार्थ भावनाले काम गरिरहनुभएको छ । अहिले नै लगानी अनुसार उत्पादन भने भएको छैन् ।’ मन बचन र कर्मले सामाजिक सेवा गरौं भन्ने नारा सहाराले लिएको छ । त्यही अनुसार अनाथ बालकलाई राखेर फुटबल बनाउने लक्ष्यलाई साकार रुप दिने खोजिरहेको छ । वर्षेनी आयोजित गोल्डकपबाट बचत रकम, देउसी भैलो कार्यक्रमबाट संकलित रकम तथा विभिन्न संघसस्थाले गरेको सहयोगबाट एकेडेमी सञ्चालन गरिरहेको छ । तस्बिर फाईल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here