सागको पुर्वाधार अन्तिम चरणमा–मन्त्री विक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुर्वाधार निर्माण अन्तिम चरणमा रहेकोले साग हुदैन भनेर टिका टिप्पणी गर्न नहुने जिकिर गरेका छन् । पोखरा रंगशालाभित्र निर्माणाधिन पुर्वाधार निरिक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुईसाताभित्रमा तयार भईसक्ने दावी गरे । ‘निर्माण कम्पनीले दुईसाताभित्रमा मैदान तयार हुने प्रतिबद्धता गरेका छन् ।’ उनले भने–‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ । ढुक्क हुनुहोस ।’ भौतिक पुवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाई थियो ।

उनले पुर्वाधारले रोकिने सम्भावना नरहेको दोहोर्याउँदै निर्धारित खेल तालिका अनुसार नै प्रतियोगिता शुरु हुने दावी गरे । ‘पुर्वाधारले रोकिदैन् । एकसाताभित्र सबै काम टुग्याउने प्रतिबद्धता अनुसार काम भईरहेको छ ।’ उनले भने–‘नेपालको साख जोगिने तयारी गरिएको छ ।’ मन्त्री विकले विगतमा नेपालले घरेलुमा भूमिमा उपलब्ध साखलाई जोगाउने तर्फ बढी ध्यान केन्द्रीत भएको बताए । ‘पदकको अपेक्षासहित विगतको साख जोगाउने तयारी भईरहेको छ ।’ उनको भनाई थियो । मन्त्री विकले बजेटले गर्दा काम रोकिने अवस्था सृजना हुने स्पष्ट पारे । उनले काम गर्दै जाने र बजेट निकासा हुदैं जाने प्रष्टयाए ।

मन्त्री विकले साग देशकै प्रतिष्ठाको विषय भएको उल्लेख गरिरहँदा पोखरा रंगशालास्थित फुटबल मैदानको अवस्था भने चिन्ताजनक छ । दुबोकै समस्याले मैदानले अझै पूर्णता पाउन सकेको छैन् । अझै २५ हजार स्क्वायर फिट दुबो आउँदै छ । दुबो उम्रिन समय लाग्दा महिला फुटबल हुने सम्भावना क्षीण देखिएको छ । निर्माण कम्पनीले पनि महिला फुटबलको लागि मैदान तयारीको लागि रातदिन खटिरहेको छ । ‘दुबो भन्सारमा आईपुगेको छ । आईतबार या सोमबार पोखरा आईपुग्छ ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले भने–‘मरेको ठाँउमा रिप्लेस गर्नको लागि मगाइएको हो ।’

ह्याण्डबलको लागि आवश्यक म्याट पनि आईपुगेको छैन् । विच भलिबलको तयारी पनि उस्तै गतिमा छ । व्याडमिन्टनको लागि आवश्यक म्याट आईपुगेको छैन् । क्रिकेट मैदानको आउट फिल्ड उबडखाबड छ । त्यो पनि तयारी गर्नुपर्ने खाँचो छ । आर्चरीको खेल मैदान पनि माटो भरेर सम्याउने काम मात्रै भएको छ । प्रशिक्षणको लागि बैकल्पिक मैदान तयार भईसकेको छैन् । धुलो उड्ने सम्भावना औल्याईसकिएको छ । त्यसतर्फ पनि गम्भीर बन्नैपर्ने छ ।

पुर्वाधार अझै अन्धाधुन्ध छ । ठ्याक्कै तयारी अवस्थामा कुनैपनि खेलस्थल बनिसकेको छैन् । ट्रायथोलनको लागि चेन्जिङ रुम र शौचालय कहाँनेर बनाउने भन्ने ठम्याई भईसकेको छैन् । महिला फुटबलको लागि भिआईपीको लागि चेन्जिङ रुम नै बनेको छैन् ।