पोखरा(खेलाडी न्युज)—नेपालले आज विश्वकप छनोट क्रिकेट अन्तर्गत हङकङसँग अन्तिम खेल खेल्दै छ । अन्तिम खेलले नेपाली क्रिकेटको भविष्य तय गर्ने छ । फराकिलो जितले सुपरसिक्सको सम्भावनालाई कायमै राख्छ । एकदिवसीय मान्यता समेत पाउँछ । पराजित भएको अवस्थामा सातौंको लागि खेल्दै जित निकाल्न सकेको अवस्थामा पनि एकदिवसीय खेलको मान्यता आत्मसात गर्दै नेपाल स्वदेश फर्किने छ ।

आज विश्वकप छनोट पूर्वको खेलमा क्यानडालाई पराजित गर्दाको अवस्था दोहोरिनेमा धेरैले आशा गरेका छन् । हङकङलाई न्युनतम रनमा रोक्दै राम्रो रनरेट बनाई जित्ने रणनीति आज बुन्न जरुरी छ । क्यानडा विरुद्धको खेलमा अन्तिम बलसम्मको धैर्यताले विश्वकप छनोटको यात्रा तय गरेको थियो । तर आज नेपालले क्यानडालाई झै गरी जितेको अवस्थामा केवल जित मात्रै हुने छ । त्यसको प्रत्यक्ष फाईदा अफगानिस्तानलाई पुग्ने छ । नेपाल भन्दा अफगानिस्तान राम्रो रनरेटमा छ । नेपाल जिम्बावेसँग पहिलो खेलमा ११६ रनले पराजित हुनुले नै खराब रनरेटमा झारिदियो । त्यसपछिका खेलमा पनि ४ र ६ विकेटले पराजित भएपछि दबाव झन बढ्यो ।

नेपाल हङकङसँग पराजित भएको अवस्थामा सुपरसिक्सको सम्भावना टुंगिन्छ । हङकङ सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता पाउने छ । नेपालसँगै अफगानिस्तानले समूह बीबाट सातौंको लागि प्ले अफ खेल्नुपर्छ । प्लेअफको लागि समूह एको खेल पनि कुर्नुपर्ने हुन्छ । नेदरल्याण्ड, युएई र पपुवा न्युगिनीमध्ये एक सुपरसिक्समा पुग्ने छ । बाँकी दुई टीमले पनि सातौंको लागि खेल्ने छन् । सातौं स्थानको लागि प्लेअफमा समूह एको टोलीले समूह बीको पाँचौसँग खेल्ने छ । समूह बीको चौथोले समूह एको पाँचौसँग प्रतिस्पर्धा गर्ने । विजेता टिमले सातौंस्थानको लागि प्रतिस्पर्धा गर्दा पराजित दुई टिमले भने नवौं र दशौं स्थानको लागि खेल्ने छन् । सातौंस्थानमा रहने टोलीले पनि एकदिवसीय मान्यता पाउने छ ।

नेपाल गणितीय आधारमा मात्रै सुपरसिक्सको सम्भावना भित्र छिर्छ । एकसयरन भन्दा बढी वा १५ ओभर बाँकी रहँदा जित निकाल्नुपर्ने गणितीय आधार छ । त्यही अनुसार नेपालले आज हङकङसँग प्रतिस्पर्धाको रणनीति बनाउनुपर्ने खाँचो छ । नेपाल र हङकङबीच क्रिकेट इतिहासमा १२ पटक प्रतिस्पर्धा गरिसकेका छन् । ६ पटक नेपालले जित हासिल गरेको छ भने पाँच पटक हङकङले जितेको छ । एकखेल भने पानीले रद्द हुन पुगेको छ । हङकङको लागि पनि आज नेपालसँगको खेल गर या मरको स्थितिमा रहेको छ । पराजित भए अफगानिस्तान सुपरसिक्समा पुग्ने छ । अफगानिस्ताको भाग्य आज नेपालकै भरमा छ । सामान्य जितले अफगानिस्तानलाई फाईदा पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here