पोखरा(खेलाडी न्युज)-पोखरामा आयोजित राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले जितेको छ । बुधबार भएको फाईनल खेलमा अधिकारी र बस्नेतको जोडीले काठमाण्डौँका प्रदीप र सुरज महर्जनको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित गरी उपाधि जितेका हुन् । विजेताले उपाधि सहित रु ५० हजार पुरस्कार प्राप्त गरे भने उपविजेताले रु ३० हजार पुरस्कार पाए ।

४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की र नेपाल राष्ट्रिय बाणिज्य सङ्घको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगितामा कास्कीका विशाल खड्का र भुगोल गुरुङ तथा बुटवलका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडीले तृतीय स्थान हासिल गरी रु १०÷१० हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी गण्डकी प्रदेश खुलातर्फ म्याग्दीका सुरेन्द्र हमाल र रोमन बानियाको जोडीले कास्कीका इशान खड्का र ओम थापाको जोडीलाई २१–१५, २१–१३ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाए । त्यसैगरी कास्कीकै विशाल हिराचन र विरेन्द्र कुँबरको जोडीले तेस्रो स्थान हासिल गरे । प्रथम, द्धितीय र तृतीयले क्रमशः रु ३०, २० र १० हजार पुरस्कार प्राप्त गरे ।

कास्की जिल्लास्तरीय खुलातर्फ आशिस श्रेष्ठ र भिम छन्त्यालको जोडीले बसन्त लालचन र सुरज राम्जालीको जोडीलाई २१–१२, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जिते । अनिल सुनार र प्रदिप मल्ल र लक्ष्मण न्यौपाने र अर्जुन गिरीको जोडी तृतीय बन्न सफल भई क्रमशः रु २० हजार, १५ हजार तथा १० हजार पुरस्कार प्राप्त गरे ।

५५ वर्षमाथिको भेट्रान्स तर्फ कास्कीका जयराम हमाल र रामजी बास्तोलाले काठमाण्डौँका पुष्प ताम्राकार र राजु भुजेलको जोडीलाई १८–२१, २१–१५, २१–१७ को सेटमा पराजित गरेका थिए । धादिङका विष्णुलाल श्रेष्ठ र डोरनाथ सेढाई र पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीले तेस्रो स्थान हासिल गरी क्रमश ः रु २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरेको राष्ट्रिय वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।

त्यसैगरी ४५ वर्ष माथिको भेट्रान्समा कास्कीका राजेन्द्र गुरुङ र भुमी गुरुङको जोडी प्रथम बन्न सफल भई रु ३० हजार पुरस्कार प्राप्त गरे । उनीहरुले काठमाण्डौँका सुरेश बम र राजु भुजेलको जोडीलाई २१–१५, २१– १५ सेटमा पराजित गरेका थिए । रुद्र तामाङ र मुना केसी तथा जनक प्रधान र दीपक मुल्मीको जोडी तृतीय बनेर क्रमशः रु २० हजार तथा १० हजार पुरस्कार पाए ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिँह गुरुङ, जिल्ला समन्वय प्रमुख बैनबहादुर क्षेत्री तथा सङ्घका अध्यक्ष सन्जीबबहादुर कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here